• १६ भदौ २०८१, आइतबार

लोकदोहोरीमा रमाउँदै गायिका परियार

blog

लोकदोहोरी गायिका सीता परियार ।

राधाकृष्ण डुम्रे

वालिङ, माघ ५ गते । लोकदोहोरी गायिका सीता परियार पछिल्लो समय चर्चासँगै सफलतातर्फ अगाडी बढिरहनुभएको छ । लोकदोहाेरी क्षेत्रका अग्रजहरुले ‘बाग्लुङे कोइली’ को उपनाम दिएपछि उहाँको चर्चा झनै चुलिएको हो । 

चर्चित गायक प्रकाश सपूतको जोडी गायिका बनेर साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएकी परियार अहिले दिनमा ६-७ वटा दोहोरी गीतको छायाङ्कन गर्न भ्याउनुहुन्छ । बागलुङको गल्कोटमा जन्मिनुभएकी परियार आजभोलि मेला महोत्सव व्यस्त हुनुहुन्छ । उहाँले स्टार म्युजिक एन्ड फिल्म अवार्ड २०८० मा सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्डसहित दर्जनौँ पुरस्कार हात पारिसक्नुभएको छ । ‘बलेवामा घर छ पन्चेबाजा’ गीतमार्फत सीताले सो अवार्ड प्राप्त गर्नुभएको हो । सरगम घतानको शब्द रवि कार्कीको लयमा सृजना भएको उक्त गीतमा सीता परियार रवि कार्की र सुनिल बिसीको स्वर रहेको गीत अहिले पनि चर्चित छ । 

नेपाली गीत सङ्गीतको व्यापार डिजिटल प्लेटफर्मसँगै विश्वबजारमा समेत पुगेको छ । पछिल्लो समय प्रत्यक्ष नेपाली लोक दोहोरीले आम दर्शकको मन जितिरहेको छ । 

यस्तै, परियार १६ वर्षदेखि दोहोरी क्षेत्रमै समर्पित हुनुहुन्छ । करिब १०–१२ वर्ष अगाडि नेपालका सयौं दोहोरी प्रतियोगीतामा राज गर्नुभएकी गायिका परियारले २०७० मा काठमाडौंमा भएको राष्ट्रिय हाइलाइटस नेपाल लोकदोहोरी अवार्डमा प्रातियोगी दोहोरी गायिका विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड पाउनुभएको छ । दुई वर्षअघि कल्याण शेरचरन स्मृति प्रतिष्ठानले पोखरामा गरेको नेपालकै ठूलो राशी भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा परियारले उत्कृष्ट दोहोरी गायिका विधामा रु. ५० हजार जित्नुभएको थियो । प्रतियोगितामा ४८ समूहले प्रतिस्पर्धा गरेका थिए । 

यसैगरी, पोखरामा भएको राष्ट्रिय गण्डकी म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिका विधामा अवार्ड जित्नुभएको हो । गायिका परियार प्रत्यक्ष दोहोरी कार्यक्रममा अतिथि कलाकारका रुपमा विदेश समेत पुग्नुभएको छ । उहाँ गल्कोट समाज जापानको तीज धमाका २०८० मा आफ्नो साङ्गीतिक प्रस्तुति दिन विदेश पुग्नुभएको हो । 

मोफसलमा बसेर पनि परियार नयाँ र पुराना दोहोरी गायकगायिकमा लोकप्रिय बन्नुभएको छ । प्रत्यक्ष लोकदोहोरी गायन हेर्दा र सुन्दा रमाइलो र सजिलो जस्तो देखिए पनि यो एक अद्भुत क्षमताभित्र पर्ने जानकारहरु बताउँछन् । शब्द, सङ्गीत र स्वरलाई तत्कालै केही सेकेन्डभित्रै आम दर्शक श्रोताको मन जित्ने गरि सवाल जवाफ गर्नुलाई असामान्य ज्ञान सीप र क्षमताको सम्मिश्रण भन्न नसकिने उहाँहरुको तर्क छ ।