• १६ भदौ २०८१, आइतबार

विपन्न परिवारका सदस्यलाई कम्बल सहयोग

blog

बाँकेको नरैनापुरमा विपन्न समुदायका व्यक्तिलाई कम्बल सहयोग गरिँदै । तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, माघ ५ गते । जिल्ला विपद ब्यवस्थापन समिति बाँकेले अत्यधिक चिसोबाट सबैभन्दा बढी प्रभावित विपन्न समुदायको पहिचान गरी उनीहरुलाई न्यानो कम्बल वितरण सुरु गरेको छ ।  

बाँकेका प्रमुख जिल्ला अधिकारी एवम विपद व्यवस्थापन समितिका अध्यक्ष श्रवणकुमार पोखरेलले  सुरक्षा निकायलगायत विभिन्न स्रोतहरुबाट विपन्न वस्ती र समुदायको पहिचान गरी उनीहरुलाई सहयोग दिन थालिएको बताउनुभयो । 

नेपालगञ्ज केन्द्रित गरेर अस्पताल, वृद्धाश्रम र बाल सुधार केन्द्रमा सहयोग गरिएकोमा बिहीबार नरैनापुर गाउँपालिकामा सिमान्तकृत दलित बस्ती पहिचान गरी उनीहरुलाई कम्बल वितरण गरिएको छ । 

प्रमुख जिल्ला अधिकारी पोखरेलले भन्नुभयो, ‘आन्तरिक रुपमा विपन्न व्यक्ति र समुदायको पहिचान गरी सहयोग सामग्री जुटाएर हस्तान्तरण गर्ने गरेका छौं ।’ नरैनापुरमा १२३ परिवारलाई कम्बल वितरण गरिएको हो । यसैगरी विभिन्न स्थानमा दाउराको पनि व्यवस्था गरिएको छ ।

सहयोग बारेमा पूर्व जानकारी भएमा ब्यवस्थापनमा समस्या हुन सक्ने भएकाले प्रशासनले आन्तरिक रुपमा नाम सङ्कलन गरी उनीहरुलाई जानकारी नदिइ घरमै पुगेर सहयोग हस्तान्तरण गर्नेगरेको छ । 

नरैनापुरका विपन्न समुदायलाई कम्बल सहयोग भएपछि अरु विपन्न बस्तीमा सहयोग उपलब्ध गराउन आन्तरिक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । केही दिनयता बाँकेमा चिसो अत्यधिक बढेको छ । 

चिसोका कारण यहाँको जनजीवन प्रभावित भएको छ । चिसोबाट बालबालिका, ज्येष्ठ नागरिक र विपन्न समुदायका व्यक्तिहरु बढी प्रभावित छन् ।