• १६ भदौ २०८१, आइतबार

सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुन्छ : मन्त्री ज्वाला

blog

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला । । फाइल तस्बिर

काठमाडौं, माघ ४ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सरकार अब उत्तर–दक्षिण राजमार्गको काममा केन्द्रित हुने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारस्थित सङ्घीय संसद् राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्नुहुँदै उहाँले पूर्व–पश्चिम राजमार्गको काम पर्याप्त भइसकेको दाबी गर्दै अब सरकारको काम उत्तर–दक्षिण राजमार्गमा केन्द्रित हुने बताउनुभएको हो ।

‘‘पूर्व–पश्चिम सडक चाहिँ अलि पर्याप्त भइसके भन्ने लाग्छ । कम्पिलिट गर्नुपर्ने त छ नै । पूर्व–पश्चिम राजमार्ग छँदैछ । त्यसलाई हामीले स्तरोन्नतिको काम गरिरहेका छौँ । कुनै सेक्टरमा वर्ल्ड बैङ्कले सहयोग गरेको छ । कुनैमा एडिबीले सहयोग गरेको छ । यसलाई पनि हामीले चार लेन र ६ लेनमा स्तरोन्नति गर्ने । अब भित्री मधेशलाई लक्षित गरेर बनाइएको सडक हो मदन भण्डारी राजमार्ग । त्यो पनि पूर्व–पश्चिम नै थ्रु आउट हुने हो । त्योभन्दा माथि पुष्पलाल मध्यपहाडी लोकमार्ग पनि छँदैछ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘त्यो पूर्वपश्चिम खुलिसक्यो । त्यसको बाँकी ठाउँमा स्तरोन्नति गर्नुछ । अनि चार वटा ठुल्ठुला सडकहरू बनिसकेका छन् । तयारी भएका छन् भने पछि पूर्व–पश्चिम यातायातको सन्दर्भमा धेरै ठुलो समस्या अब हुन्छ जस्तो लाग्दैन ।’’

मन्त्री ज्वालाले सो राजमार्ग व्यापारिक र त्रिदेशीय सम्बन्ध पनि जोड्ने भएकाले यसलाई उच्च प्राथमिकता दिएर सरकारले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग जनतालाई सास्ती पनि नहुने र विकास निर्माणको काम पनि अघि बढ्ने हिसाबले अघि बढाउने आश्वासन दिनुभयो ।

‘‘१६ औँ योजनामा आयोजनाहरूको तय गर्छौँ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा पनि उत्तर–दक्षिण सडकहरूलाई बढी प्राथमिकता दिन्छौँ । यो चाहिँ तीन वटा कोरिडोरहरू त छँदै छन् अत्यन्तै महत्त्वपूर्ण । त्यसबाहेक पनि जस्तो महाकाली कोरिडोरको कुरा छ । त्यस्तै सेती राजमार्गको कुरा छ । कर्णाली राजमार्ग छ । राप्ती राजमार्ग छ । यो घुर्मी–कटारी–सोलु राजमार्ग छ ।,’’ मन्त्री ज्वालाले भन्नुभयो, ‘‘यही अरनिको राजमार्गको अवस्था के छ ? त्यसकारण उत्तर–दक्षिण राजमार्गहरूलाई हामीले उच्च प्राथमिकता दिएर जानुपर्छ भन्ने कुरामा म पनि सहमत छु । अब हामी त्यतातिर कामलाई केन्द्रित गर्छौँ ।’’

बैठकमा बोल्नुहुँदै समितिका सदस्यहरूले जनतामा आशा जगाउने खालका पूर्वाधार विकासमा जोड दिन सरकारलाई सचेत गराएका थिए । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद रामचन्द्र राईले विदेश पलायन हुने क्रम रोक्ने गरी विकास, निर्माणको कामलाई अघि बढाउन सरकारलाई सुझाव दिनुभयो । उहाँले मुलुकप्रतिको विश्वास जगाउने गरी सरकारले सडकलगायतका पूर्वाधार विकासको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

सांसद राईले भन्नुभयो, ‘‘अहिले मान्छेले मुलुकप्रतिको आशा र विश्वास बिस्तारै हराउँदै गएको छ । र, विकास, निर्माणको काम सोचे अनुसार नै हुने हो भने साँच्चै मान्छेहरू आशावादी हुन्छन् । मुलुकप्रति विश्वास गर्छन् । मुलुक छोडने क्रम पनि न्यूनीकरण हुन्छ । त्यसैले यी कामहरूमा जोड दिनुपर्दछ ।’’

सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद  गोपीबहादुर सार्की (आछामी) ले  देश र जनतालाई छिटो प्रतिफल दिने विकास आयोजनाको काममा केन्द्रित हुन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पूर्व–पश्चिम विद्युतीय रेलमार्ग अघि बढाउनेबारे निर्णय लिन ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद अछामीले भन्नुभयो, ‘‘धेरै र छिटो प्रतिफल दिने आयोजनाहरूको काममा बजेट, स्रोत, साधन र जनशक्ति केन्द्रित गरेर यसलाई समयमै सम्पन्न गर्नका लागि पनि ध्यान दिनुपर्छ भन्ने मेरो सरकारलाई सुझाव छ । अब यो रेलको विषय चाहिँ यो पूर्वपश्चिम विद्युतीय रेल बनाउने कुरा पनि छिटो निर्क्योलमा पुग्नुपर्दछ । यसमा ढिलाइ गर्नहुन्न ।’’

सांसद अछामीले जनतालाई सास्ती हुने र मुलुकमा आर्थिक भार मात्रै पर्ने आयोजनालाई सरकारले अहिले तत्काल अघि बढाउन नहुने पनि बताउनुभयो ।