• ८ साउन २०८१, मङ्गलबार

‘एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैँ लाग्यो’

blog

काठमाडौं, माघ २ गते । राजधानीले काली–कर्णालीलाई अशिक्षित, हलिया प्रथा, छाउपडी प्रथा भएको, विकास नपुगेको यस्तै अनकन्टार क्षेत्रको रूपमा चिन्छ । मैले बुझेको काली–कर्णाली भौगोलिक रूपमा विकट, आर्थिक रूपमा विपन्न छ । तर सांस्कृतिक रूपमा भाषा, लोकसाहित्यमा काली–कर्णाली जति धनी नेपालमा अरू कुनै क्षेत्र छैन । 

‘काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति’ का लेखक एवम् ग्रन्थकार यज्ञराज उपाध्यायले भन्नुभयो, “लोकसाहित्य, संस्कृति, भाषा, परम्परा, चालचलनको अत्यन्त संवृद्ध, विराट, विधागत विषय भएको समुद्रजस्तै विशाल क्षेत्र हो यो ।”

लोकसाहित्य, संस्कृति, भाषा, परम्परा, चालचलनको अत्यन्त संवृद्ध, विराट, विधागत विषय भएको समुद्रजस्तै विशाल क्षेत्र हो यो ।

तत्कालीन अवस्थामा खस राजाहरूको राजधानी जुम्लाको सिन्जा थियो । जसलाई खसान क्षेत्र पनि भनिन्थ्यो । सो खसान क्षेत्र नेपाली भाषाको उद्गमस्थलको रूपमा रहेको उहाँले उल्लेख गर्नुभयो । 

उहाँले भन्नुभयो, “त्यो क्षेत्रबाट नेपाली भाषाको बिउँ उत्पत्ति भएकाले नेपाली भाषालाई खस भाषाको रूपमा पनि मानिन्छ । सिन्जा क्षेत्रबाट उत्पत्ति भएकाले सिन्जाली भाषा पनि भन्ने गर्दछन् । त्यहीबाट उत्पत्ति भएको नेपाली भाषा, अहिलेको परिष्कृत भाषा हो ।” 

त्यहीबाट सर्दै गोरखा पुग्यो र गोरखाली भाषाको नामले यसले परिचय बनायो । परिष्कृत रूपमा अहिलेको संवृद्ध नेपाली भाषा बन्यो, उद्गमस्थल काली–कर्णाली क्षेत्र  । भानुभक्तले रामायण यही भाषामा लेखेको प्रसङ्ग उहाँले जोड्नुभयो । उहाँको जन्म २०२३ सालमा अछामको साँफेबगर–२ गोयलापानीमा भएको हो । 

सानै उमेरदेखि लोकगायनमा अभिरुचि राख्नुहुन्थ्यो । दिनभरि खेती किसानी गरेर बेलुका सार्वजनिक ठाउँमा भेला भई ठाडो भाका हाल्ने परम्परा थियो । यसका लागि कुनै चाडपर्व, मेलापर्व नै कुर्नुपर्ने अवस्था थिएन । यस खालको परिवेशले नै साहित्य र संस्कृतिका मूर्त, अमूर्त सम्पदा सङ्कलन गर्न अभिप्रेरित गरेको उहाँ बताउनुहुन्छ । 

२०३४ सालतिर झकाले गाउँमा सिँचाइका लागि कुलो आयो । त्रिपुरासुन्दरी प्राथमिक विद्यालयमा चार कक्षामा पढ्ने गरेका उपाध्यायले सोही कुलोको विषयमा ‘बर्खा लाग्यो पहाडतिर आया अहिरापैरा...’ भन्ने गीत गाउनुभयो । गाउँका एक समाजसेवी खड्कसिंह कुँवरले सो गीत मन पराएर एक रुपियाँ पुरस्कार दिनुभयो ।

निरन्तर रुपमा गीत गाइरहनुपर्छ भनेर प्रोत्साहित गर्नुभयो । संसारै जितेजस्तो अनुभूति मेरो बालसुलभ हृदयलाई भयो ।

त्यो बेला एक रुपियाँ पुरस्कार पाउँदा संसार जितेझैं लागेको अनुभव उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “त्यतिबेला दश पैसाको स्कुल फिस तिथ्र्यौं । म त यस्तो अचम्मित भएँ, पुरस्कार पाइन्छ भन्ने पनि थाहा थिएन । उहाँले मलाई अंगालो मार्नुभयो, बधाई दिनुभयो । निरन्तर रुपमा गीत गाइरहनुपर्छ भनेर प्रोत्साहित गर्नुभयो । संसारै जितेजस्तो अनुभूति मेरो बालसुलभ हृदयलाई भयो ।” 

यस पुस्तकका सम्पादक एवम् समीक्षक सुभाषचन्द्र भण्डारीले लेख्नु भएजस्तै ‘लोकसंस्कृतिको समुन्नत भूमिमा लोकसाहित्यको सौगात छर्दै यति धेरै अभिलुप्त लोकविधाहरुको सिंहावलोकनसहित सम्पादन गरिएको सम्भवतः यो पहिलो ग्रन्थ हुनुपर्छ’ भन्ने जिज्ञासामा उहाँले विभिन्न कृतिहरु प्रकाशन भए पनि सायद यसअघि प्रकाशन भएका कृतिभन्दा गहन रुपमा सम्पादन भएको पहिलो वा यस्तै ग्रन्थ विगतमा नभेटाउनुभएको पनि हुन सक्ने अर्थमा त्यसो लेखिएको हुनसक्ने धारणा राख्नुभयो । 

उहाँले यी सामग्री २०५५ सालदेखि सङ्कलन गर्न सुरु गरिएको र पछिल्लो तीन वर्षमा लेखन कार्य समापन भएको बताउनुभयो । ग्रन्थमा काली–कर्णाली क्षेत्रका सबै विधा, लोककथा, उक्ति, उखानटुक्का, सगुन, मागल, माडी, होरी, हड्केली, पुतला, चाँचरी, भुओ, भोलाउलो, ताल, भाका, लोकगीत, चाडपर्व, लोकबाजाको सचित्र वर्णन, थारु समुदायको लोकसंस्कृति, लोकनृत्य, दार्चुलाका सौका समुदायको लोकगीत, तन्त्रमन्त्र, १३ औँ तथा १४ औँ शताब्दीदेखि लोकगायन परम्पराका विकास क्रम ग्रन्थमा समेटिएको उहाँको भनाइ छ ।

उहाँले श्रुति तथा मौखिक परम्पराबाट एक पुस्ताबाट अर्को पुस्तामा पुस्तान्तरण हुने भन्नुहुँदै लोकसाहित्य तथा संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्न जोड दिनुभयो ।   

उहाँले भन्नुभयो, “बाजे, बज्यै, आमाबुवा, हाम्रा पुर्खाको मृत्यु भएसँगै ती साहित्य संस्कृति समाप्त भए । बचेखुचेको कुरा सङ्कलन गरेर सङ्ग्रहित गरेको छु । बाँकी रहेको कुरा नेपालका तीनै तहका सरकारले तदारुकताका साथ अनुसन्धानकर्ता लगाएर समयमै संरक्षण, संवर्द्धन गर्नुपर्छ । नभए, भोलि पछुताउनुबाहेक केही विकल्प रहँदैन ।”

भिडियो : मनोजरत्न शाही र केशव गुरुङ

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।