• १३ साउन २०८१, आइतबार

त्रवेणीधाममा आजबाट एक महिने मेला सुरु

१०८ गौमुखी धारामा स्नान गर्नेको भिड

blog

हेटौँडा उपमहानगरपालिकास्थित त्रिवेणीधाम माघी स्नान र पूजाआजाका लागि लागेको भक्तजनको भिड । तस्बिर : राममणि दाहाल

राममणि दाहाल
हेटौँडा, माघ १ गते । 
हेटौँडा उपमहानगरपालिका-९ स्थित त्रिवेणी धाममा हरेक वर्ष माघ महिनामा लाग्दै आएको माघे मेला यो वर्ष पनि आज (सोमबार) बाट सुरु भएको छ ।

उत्तरवाहिनीसहित त्रिवेणी तथा १०८ गौमुखी धारामा स्नानका साथै पितृ उद्धार कार्य हुने त्रिवेणी धाममा मकर सङ्क्रान्तिबाट एक महिनासम्म मेला चल्ने छ ।


मेलाको पहिलो दिन त्रिवेणीधाममा माघी स्नान र पूजाआजाका लागि भक्तजनको बिहानैबाट भीड लागेको छ ।  रत्ना, कर्णा र कौशवाही नदीको सङ्गम त्रिवेणी धाममा एक महिने माघी स्नान चल्ने  कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति, हेटौँडाले जनाएको छ ।

समितिका उपाध्यक्ष कुमार पौडेलले हेटौँडा नगरीकै धार्मिक एवम् ऐतिहासिक महत्वको त्रिवेणीधाममा विगतका वर्षहरू झैँ यस वर्ष पनि माघी स्नानका साथै श्रीमदभागवद् अनुष्ठान र महायज्ञ हुने जानकारी दिनुभयो ।

उहाँले माघ १ गतेबाट १०८ गौमुखी धारा तथा उत्तरबाहिनी त्रिवेणी स्नानसँगै दैनिक  बिहान ६ बजेबाट नित्य पूजा हवन, तर्पण, श्रीमद्भागवत, वेद, रुद्री गीता पाठपारायण, सङ्गीतमय प्रवचन, आरती पुष्पाञ्जली, माहात्मा र राति १० बजेसम्म भजनकीर्तन लगायतका धार्मिक अनुष्ठान हुने बताउनुभयो ।


माघ २६ गते औँसीको दिन गङ्गाआरती, माघ २८ गते लक्षवर्ती दीप प्रज्वलन र २९ गते पूर्णाहुति, तिलाचन, प्रसादी वितरण गरिने भएको । साथै प्रत्येक दिन भूमिदान सङ्कल्प गर्ने गरी व्यवस्था गरिएको उपाध्यक्ष पौडेलले बताउनुभयो ।

माघे मेलाका अवसरमा विशेष दिनहरूमा पण्डित डा. माधवप्रसाद भट्टराई, पण्डित कुवेर सुवेदी र पण्डित गोपालप्रसाद चालिसेबाट प्रवचन गर्नु हुनेभएको छ ।

त्रिवेणी धाममा मेलाको अघिल्लो दिन अर्थात् पुस मसान्तको दिन आइतबार पूर्वाङ्ग गरिएको कुष्माण्ड सरोवर त्रिवेणीधाम विकास समिति, हेटौँडाले जनाएको छ ।