• १३ साउन २०८१, आइतबार

स्याङ्जामा कोदो उत्पादन वृद्धि

blog

वालिङ नगरपालिका–८ मा लगाइएको कोदो खेती । तस्बिर : राधाकृष्ण डुम्रे

राधाकृष्ण डुम्रे
वालिङ, माघ १ गते । 
माग बढेसँगै स्याङ्जामा कोदो उत्पादनमा सामान्य वृद्धि भएको छ । यस वर्ष १४ हजार सात सय ६६ हेक्टर क्षेत्रफलमा कोदो खेती गरिएकोमा १६ हजार २४२ मेट्रिकटन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्ला कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यो वर्ष १० मेट्रिकटनले उत्पादनमा वृद्धि भएको हो । गत वर्ष १६ हजार २३२ मेट्रिकटन कोदो उत्पादन भएको थियो ।

जिल्लाका विभिन्न ठाउँमा गरिएको कोदो बालीको ‘क्रप कटिङ’ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरिएको उहाँले बताउनु भयो ।

अनुकूल मौसम, कीराको प्रकोप नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा कोदो उत्पादन बढेको केन्द्रका प्रमुख हमालको भनाइ छ ।

भीरकोट नगरपालिका–५ की विष्णुकुमारी रानाले यो वर्ष पाँच मुरी कोदो भित्र्याउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष खेती कमजोर थियो यो वर्ष भने राम्रै उत्पादन भएको छ ।” आफूले १५ मुरीसम्म कोदो भित्र्याएको अनुभव सुनाउँदै रानाले केही वर्षको तुलनामा यो वर्ष राम्रो उत्पादन भएको बताउनुभयो ।

पुतलीबजार नगरपालिका–११ का राजन लामिछानेले पनि अहिले ३ मुरीसम्म कोदो फलेको बताउनु भयो । समय आफूहरूले बाँझो रहेको जमिनमा कोदो लगाउन सुरु गरेको उहाँको भनाइ छ  ।

माग बढेसँगै कोदोको मूल्य पनि राम्रो पाउने गरेको वालिङ नगरपालिका २ अमृता हिताङले बताउनु भयो । उहाँले भन्नुभयो, “अहिले कोदोको पाथीको २५० मा सजिलै बिक्री हुने गरेको छ, माग पूरा गर्न सकिएको छैन ।”

वन्यजन्तुबाट कम क्षति हुने र बजार पनि सहजै पाउन सकिने भएकाले यस प्रति आकर्षण बढ्दै जान थालेको ज्ञान केन्द्रको भनाइ छ ।

जिल्लामा प्राय धेरै स्थानहरूमा लगाइने कोदो खेती प्रवर्द्धनका लागि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम गर्दै आएको जनाएको छ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन कार्यक्रममार्फत जिल्लाका धेरै कोदो हुने स्थानहरूमा यस्ता खालका कार्यक्रम हुने गरेको प्रमुख हमालले बताउनुभयो ।  स्याङ्जामा सिँचाइ सुविधा नभएका स्थानमा कोदो खेती गरिँदै आएको छ ।

पछिल्लो समय कोदोको माग सहरी क्षेत्रमा बढ्दै जान थालेको कृषकहरूको भनाइ छ । केही समय अगाडिसम्म बाँझो रहेका जमिनमा पनि कोदो खेती सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कोदोको परिकार प्रति सहरिया मानिस र पर्यटकको आकर्षण बढ्न थालेपछि किसान कोदो खेतीमा आकर्षित भएका हुन् । गाउँगाउँमा सञ्चालित होमस्टे (घरवास) मा पनि कोदोको परिकारलाई प्राथमिकतामा राख्ने गरेको पाइएको छ । चिकित्सा विज्ञानले खाद्यान्नका रूपमा  खालका मानिस र बिरामीका लागि कोदो राम्रो मानिने चिकित्सकको भनाइ छ । उत्पादित कोदो बिक्री गर्नाका साथै घरेलु मदिरा उत्पादन गर्ने, ढिँडो र रोटी बनाएर खान बजारमा माग बढिरहेको हो ।