• १६ भदौ २०८१, आइतबार

भारतीय काङ्ग्रेसको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन इम्फाल वेस्टबाट सुरु

blog

नयाँदिल्ली, माघ १ गते । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट सुरु गरिएको छ । काङ्ग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो ।

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गर्नुभएको थियो ।

गत वर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौँ घरबारविहीन भएका थिए ।

गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गर्नुभएको हो । उहाँले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गर्नुभयो ।

उहाँले भन्नुभयो, “लाखौँ मानिसले क्षति बेहोर्नुपर्‍यो, तर प्रधानमन्त्री यहाँ आँसु पुछ्न, हात समात्न वा अँगालो हाल्न आउनुभएको छैन ।”  “तपाईँको पीडा उनीहरूको पीडा होइन,’ गान्धीले प्रधानमन्त्री र उहाँको दलका नेतातर्फ सङ्केत गर्दै भन्नुभयो ।

उहाँले भन्नुभयो, “मणिपुरका जनताले भोगेको पीडा हामीले बुझेका छौँ । हामी चोट, दुःख बुझ्छौँ । हामी जसको लागि यो राज्य परिचित थियो उनीहरूबिच सद्भाव, शान्ति र स्नेह फिर्ता ल्याउनेछौँ ।”

पलयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ ।  मार्च २० मा भारतको आर्थिक राजधानी मुम्बईमा यसको समापन हुनेछ ।

सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाउनुभएको थियो । जनवरी २०२३ मा समाप्त भएको पहिलो पदयात्राले काङ्ग्रेसजनबिच सकारात्मक प्रतिक्रिया पाएको थियो । पदयात्राले देशभरिका दलका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई काङ्ग्रेसको भूमिकाप्रति आशावादी बनाएको थियो । रासस/सिन्ह्वा