• १२ साउन २०८१, शनिबार

प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार घिमिरे र श्रेष्ठलाई वितरण

blog

काठमाडौं, माघ १ गते । नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित एक समारोहबिच प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार वितरण गरिएको छ ।

वरिष्ठ साहित्यिक पत्रकार तथा रचना द्वैमासिकका प्रधान सम्पादक रोचक घिमिरेलाई “प्रज्ञा नेपालीभाषा साहित्यिक पत्रकारिता पुरस्कार’’ र अर्का वरिष्ठ साहित्यिक पत्रकार तथा नेपालभाषाको साहित्यिक पत्रिका “थौंकन्हे’’का सम्पादक रुक्मिणी श्रेष्ठलाई ‘प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार’–२०८० वितरण गरिएको हो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति तथा सभाध्यक्ष भूपाल राईले उक्त पुरस्कार वितरण गर्नुभएको थियो ।

उक्त जनही ५० हजार राशि रहेको साहित्यिक पत्रकारिता विधाको पुरस्कारलाई समावेशी रूपमा नेपाल प्रज्ञा–प्रतिष्ठानले पहिलोपटक ६५ वर्षपछि २०७९ चैत्रमा स्थापना गरेको थियो ।

यसैगरी, घिमिरेको प्रधान सम्पादकत्व तथा प्रकाशकत्वमा वि.स २०१८ साल, ज्येष्ठ महिनादेखि “रचना“साहित्यिक द्वैमासिक पत्रिका प्रकाशित हुँदै आएको पाइन्छ ।

यसैगरी, श्रेष्ठ वि.स २००८ वैशाखमा प्रकाशित नेपालभाषाको साहित्यिक मासिक “थौंकन्हे“ मा २०४५ सालमा आबद्ध हुनुभएको थियो।साथै श्रेष्ठको सम्पादकत्व तथा प्रकाशकत्वमा २०६२मा जिप्रका काठमाडौँमा दर्ता भएयता “थौंकन्हे“को प्रकाशन हुँदै आएको पाइन्छ ।

यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकारितामा विशिष्ट योगदान पुर्‍याउँदै आउनुभएका वरिष्ठ साहित्यिक पत्रकारद्वय घिमिरे र श्रेष्ठलाई पहिलोपटक “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ वितरण गर्न पाउँदा आफूलाई गौरव महसुस हुनु स्वाभाविक हो ।

मूलतः साहित्यिक पत्रकारिता स्रष्टा उत्पादनशाला र प्राज्ञिक खुराक हो । जसले नेपालको भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा विचार र चिन्तनको उत्पादन गर्न सक्षम साहित्यिक पत्रकारितामा जीवन जिइएका व्यक्तित्वको योगदानलाई चम्काउन “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’’ को स्थापना गरेको बताउनुभएको थियो । यसै क्रममा कुलपति राईले साहित्यिक पत्रकार स्वयम्मा अविच्छिन्न चेतनाका उत्तराधिकारी भए पनि यथास्थितिविरुद्धको विच्छिन्न चेतनाबोध गरेर अघि बढ्नुपर्नेमा थप जोड दिनुभएको थियो ।


यस समारोहमा पुरस्कृत व्यक्तित्व रोचक घिमिरेले प्रज्ञा–प्रतिष्ठानले प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार स्थापना गरी आफूलाई पहिलोपटक प्रदान गरेकोमा आभार व्यक्त गर्दै कतिपय राम्रा र रचनात्मक कार्यमा वर्तमान नेतृत्व अघि बढेको छ ,त्यसमा सधैँ साथ रहिरहने बताउनुभएको थियो ।

यसै क्रममा समारोहका विशिष्ट अतिथि तथा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष मोहन दुवालले साहित्यिक पत्रकारिता क्षेत्रमा प्रज्ञा–प्रतिष्ठानले स्थापनाको ६५ वर्षपछि प्रज्ञा–साहित्यिक पत्रकारिता पुरस्कारको सुरुवात गरेको छ । यसको श्रेय कुलपति भूपाल राई नेतृत्वको वर्तमान टिमलाई जाने बताउँदै साहित्यिक पत्रकारितालाई सरकारले उपेक्षा गरेको बताउनुभएको थियो ।

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ “विमल निभा’’ले धन्यवाद ज्ञापनका क्रममा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले “रचना“ साहित्यिक द्वैमासिकमार्फत् साहित्य र साहित्यिक पत्रकारिताको कालखण्डमा महत्त्वपूर्ण योगदान पुर्‍याएकाले नै ’प्रज्ञा नेपाली भाषा साहित्यिक पत्रकारिता पुरस्कार’उहाँले प्राप्त गर्नु स्वाभाविक रहेको बताउनुभएको थियो ।यसै क्रममा उपकुलपति श्रेष्ठले नेपालभाषाको “थौंकन्हे“साहित्यिक पत्रिकामार्फत उल्लेखनीय योगदान गरेकाले नै रुक्मिनी श्रेष्ठलाई “प्रज्ञा नेपाली मातृभाषा साहित्यिक पत्रकारिता पुरस्कार दिइएको बताउनुभएको थियो ।

यसैगरी, प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा साहित्य र साहित्यिक पत्रकारिता क्षेत्रका विशिष्ट साधकलाई पहिलोपटक प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कारबाट पुरस्कृत गर्न पाउँदा आफू गौरवान्वित भएको बताउनुभएको थियो ।

यसैगरी, प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य बाबा बस्नेतले पुरस्कृत प्रतिभाबारे परिचयात्मक मन्तव्य दिँदै अग्रज र विशिष्ट साहित्यिक पत्रकारलाई “प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार“ले सम्मानित गर्नु भनेको उहाँहरूले पुर्‍याएको योगदान नै मुख्य हो भन्नु भएको थियो ।

यसैगरी, अतिथिद्वय एवम् भाषा आयोगका सदस्य मातृकाप्रसाद पोखरेल र मधेशी आयोगका सदस्य आभासेतु सिंहले आआफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

यस समारोहका उद्घोषक प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले पुरस्कृत व्यक्तित्व रुक्मिनी श्रेष्ठको लिखित मन्तव्य पढेर सुनाउनु भएको थियो । पुरस्कृत एवम् ज्येष्ठ साहित्यिक पत्रकारद्वय रोचक घिमिरे र रुक्मिनी श्रेष्ठ दुवैजना केही समय अघिदेखि स्वास्थ्य उपचारार्थ रहनुभएको थियो ।