• १२ साउन २०८१, शनिबार

सीप प्रदर्शन गर्दै सूर्योदयका ज्येष्ठ नागरिक

blog

सूर्योदय-९ का ज्येष्ठ नागरिकले निर्माण गरी प्रदर्शनीमा राखेका विभिन्न सामग्री । तस्बिर : प्रेम अधिकारी

प्रेम अधिकारी

पशुपतिनगर(इलाम), माघ १ गते । सूर्योदय नगरपालिकाका-९ का पदम लक्ष्मी राई उमेरले ८८ वर्ष लाग्नुभयो । राईका हातपाउ ८८ वर्षमा पनि सीप विकासमै लागेका छन् । परालको पिरा, नाम्लो, डालो, थुन्से बनाएर उहाँले ज्येष्ठ नागरिक सिप प्रदर्शनी कार्यक्रममा राख्नुभएको हो । 

"नगरले सीप प्रदर्शनीको अवसर जुटाईदियो, हातमा भएका सीप देखाउन पाइयो," राईले भन्नुभयो । उहाँले घरमा फुर्सदमा बस्नु भन्दा सक्ने काम गर्दा केही रकम हात समेत पर्ने बताउनुभयो । 

इलामको सूर्योदय नगरपालिका-९ ले नगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको सहयोगमा स्थानीय स्तरमा उत्पादन गरिने सीप प्रदर्शनी कार्यक्रममा १८० जना वृद्धवृद्धाले आफूले जानेको सीपबाट विभिन्न बस्तुको निर्माण गरी प्रदर्शनीका लागि राखिएको हो । 

वृद्धवृद्धाले चोयाबाट निर्माण गरेका सामग्री डोको, डालो, थुन्से, नाङ्लो, पिरा, लागयत टोपी, पन्जा आदि जस्ता सामग्री निर्माण गरी राखिएको हो । नगरको महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखाका कर्मचारी सरला तामाङले १५ दिनको समय दिएर बनाउन लगाएको बताउनुभयो । उहाँले वृद्धवृद्धाले घरमै बसेर सामग्री निर्माण गरी प्रदर्शनीमा ल्याएको बताउनुभयो । सोही अवसरमा लोपोन्मुख लाप्चा महिला समूहले मासुको अचार निर्माण गरी प्रदर्शनीमा राखेको थियो । नगरले दिएको तालिमपछि लाप्चा समुदायका महिलाले मासुको अचार बनाउँदै आएका छन् । 

सूर्योदय-९ कै ८० वर्षीय पूर्णभक्त दाहालले नगरले सीप प्रदर्शनी कार्यक्रम गरेर ज्येष्ठ नागरिकलाई हौसला दिएको बताउनुभयो । उहाँले भन्नुभयो, "घरमा एक्लो भएर बस्नु पर्ने बाध्यता केही समयका लागि भए पनि हटेको छ ।" उहाँले नगरले प्रदर्शनी मात्र गराउने भन्दा पनि ज्येष्ठ नागरिकले बनाएका सामग्री बिक्री हुने वातावरण बनाउनु पर्ने बताउनुभयो । 

महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तारा शेर्पाले वडा नं. ९ र शाखाको आर्थिक लगानीमा प्रदर्शनी सम्पन्न भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, "ज्येष्ठ नागरिक राष्ट्रका सम्पत्ति हुन हामी सबै भएर जर्गेना गर्नुपर्छ ।" उहाँले युवा पुस्ताले ज्येष्ठ नागरिकलाई भुल्दै गएको बताउँदै युवा पनि ज्येष्ठ नागरिक हुने दिन आउने स्मरण गराउनुभयो । शाखा प्रमुख शेर्पाका अनुसार नगरका १४ वटै वडामा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गराइएको छ । शाखाले नगरका चार हजार ज्येष्ठ नागरिकलाई ज्येष्ठ नागरिक परिचय पत्र समेत वितरण गरिसकेको छ । 

नगर प्रमुख रण बहादुर राईले ज्येष्ठ नागरिकले निर्माण गरेका धेरै जसो सामग्री बासका देखिएकाले आगामी दिनमा बासको चोया काड्ने मेसिन खरिद गर्ने बताउनुभयो । नगर प्रमुख राईले ज्येष्ठ नागरिकले निर्माण गरेका सामग्री महिला बालबालिका शाखामार्फत बिक्रीका लागि राखिने बताउनुभयो । नगर प्रमुख राईले भन्नुभयो, "वृद्धवृद्धामा भएको सीप पुस्तान्तरण हुनुपर्छ, पुस्तान्तरण भएन भने सिप हराएर जान्छ ।"

वडा नं. ९ का अध्यक्ष देवेन्द्र शर्माका अनुसार प्रदर्शनीको अवसरमा २ सय बढी ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण तथा उपचार गरेको जानकारी दिनुभयो । कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडाले टोपी र बर्को ओढाएर सम्मान गरेको थियो । "ज्येष्ठ नागरिक पनि त्यतिकै बस्दैनन्, केही गर्छन् भन्ने उदाहरण यो कार्यक्रमले दिएको छ," वडाध्यक्ष शर्माले भन्नुभयो।