• १२ साउन २०८१, शनिबार

नरहरि मनाइँदै: कागलाई सेल रोटी, मानिसलाई कन्दमूल

blog

गोकर्ण दयाल 

बैतडी, माघ १ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेल रोटी र मानिसले कन्दमूल खाएर मनाइने मौलिक पर्व नरहरि ( माघे सङ्क्रान्ति) पर्वको रौनक सुरु भएको छ ।

नरहरिमा घर परिवारका सदस्यले तरुल, सखरखण्ड जस्ता कन्दमूल उसिनेर खाने परम्परा छ भने कागलाई सेल रोटी दिने परम्परा रहेको छ । नरहरिका दिन परम्परागत कोलमा उखु पेलेर गुड         (सखर) मा तिल मिसाएर ओखलमा कुटेर खाने चलनसमेत रहेको छ । गुड र तिलले शरीर न्यानो पार्ने भएकाले कन्दमूलसँगै यसको सेवन गर्ने चलन रहेको छ । 

माघ १ गते बिहानै उठेर नदी, तलाउ र परम्परागत धारा-कुवाँमा स्नाथ गरेर बालबालिकाले कागलाई सेल रोटी दिने चलन रहेको छ । घरको धुरीमा सेल रोटी राखेर “का...कौवा का... का... मेरो सेल रोटी खा... ” भन्दै बालबालिकाले कागलाई बोलाउने चलन रहेको छ । 

कागले सेल रोटी खाएर अघाएपछि रोटी लुकाउने गर्दछ । बैतडीमा कागले लुकाएको रोटी खोजेर गाईलाई दिने चलनसमेत रहेको छ । कागले लुकाएको रोटी गाईलाई खुवाएमा माले बाच्छो जन्मिन्छ भने जनविश्वास रहेको छ ।     

कागले शुभ-अशुभ सबै खालका समाचार ल्याउने भएकोले माघे सङ्क्रान्तिका दिन कागलाई सेल रोटी दिने चलन रहेको संस्कृत विद् चन्द्र मोहन तिवारीले बताउनुभयो । माघ महिनालाई माहात्म्य महिनाका रूपमा लिइने भएकाले यो महिनाभरि शुद्ध शाकाहारी भोजनमा कन्दमूल ग्रहण गर्ने, तीर्थाटन गर्ने र दान दिने चलन रहेको तिवारीले बताउनुभयो । 

ज्योतिष शास्त्रअनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर सङ्क्रान्ति (माघे सङ्क्रान्ति) र सुदूर पहाडमा नरहरि पर्वका रूपमा मनाउने चलन रहेको उहाँले बताउनुभयो । 

सूर्यको उदय विन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता रहेको छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने जन विश्वास रहेको छ । 

माघ १ गते नरहरि पर्वको पवित्र दिन विवाह गर्ने चलनसमेत रहेको छ । माघ महिनामा पराई घर गएका छोरी चेलीलाई माइती घर बोलाएर वा छोरीकै घरमा गएर बटुक, माणा र तरुल दिने परम्परा रहेको छ ।