• १३ साउन २०८१, आइतबार

स्वास्थ्य क्षेत्रमा नयाँ प्रयास

दुर्गममा चिकित्सकलाई प्रोत्साहन भत्ता

blog

राममणि दाहाल 

हेटौँडा, माघ १ गते । बागमती प्रदेश सरकारले स्वास्थ्य सेवामाथि नागरिकको पहुँच वृद्धिसँगै विशिष्टीकृत सेवा सहज रूपमा प्रदान गर्न नयाँ कार्यक्रमसहित प्रयास सुरु गरेको छ ।

प्रदेशका नागरिकलाई प्रादेशिक अस्पतालहरूबाट गुणस्तरीय र विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्न विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता प्रदान गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । 

प्रादेशिक अस्पतालमा गएर काम गर्न प्रोत्साहित गर्न, मनोबल बढाउन, प्रादेशिक अस्पतालको सेवा स्थायित्व कायम राख्न र स्वास्थ्य सेवा प्रवाहमा थप जिम्मेवार बनाउन विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन आवश्यक भएको भन्दै बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम ल्याएको जनाएको छ ।

कार्यक्रम बागमती प्रदेशको काठमाडौँ उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरबाहेकका १० जिल्लामा सञ्चालन गरिने भएको छ ।

बागमती प्रदेशका स्वास्थ्यमन्त्री उत्तम जोशीले चिकित्सक दुर्गम क्षेत्रमा जानै नमान्ने र गए पनि लामो समय नबस्दा नागरिकले सामान्य स्वास्थ्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेकाले पहिलो पटक विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम ल्याएको जानकारी दिनुभयो । उहाँले प्रादेशिक अस्पतालबाट गुणस्तरीय र विशेषज्ञ सेवा नागरिकलाई सहज रूपमा दिन कार्यव्रmम ल्याइएको बताउँदै प्रादेशिक अस्पतालमा नै विशेषज्ञ सेवा पाएपछि सङ्घीय राजधानी र महँगा अस्पतालमा सामान्य नागरिक जानुपर्ने अवस्थाको अन्त्य हुने बताउनुभयो ।

दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन कार्यक्रम लागु भएका प्रदेशका अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधाबापत भत्ता प्रदान गरिने छ । प्रदेश सरकारले चालु आवका लागि कार्यक्रम कार्यान्वयन गर्न पाँच करोड रुपियाँ विनियोजन गरेको छ ।

विशेषज्ञ चिकित्सकले प्रदेशका अस्पतालबाट सेवा प्रदान गरेको आधार दाबी आएपछि भत्ताबापतको रकम निकासा हुने छ । विशेषज्ञ चिकित्सक प्रोत्साहन सुविधाको दर भौगोलिक स्थान र न्यूनतम सेवा मापदण्डको अङ्कका आधारमा फरक रहेको छ । रसुवा, दोलखा र रामेछाप, यस्तै नुवाकोट, सिन्धुली, धादिङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक तथा चितवन र मकवानपुरको अर्को गरी तीन वर्गमा जिल्लालाई प्रोत्साहन सुविधा दिन जिल्लामा विभाजन गरिएको छ ।

महिनाको २६ कार्यदिन रुजु हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई शतप्रतिशत सुविधा उपलब्ध गराउनुपर्ने र २६ कार्यदिनभन्दा कम कार्यदिन हाजिर भई कामकाज गरेकोमा प्रतिदिन ३.५ प्रतिशतका दरले कट्टा गरेर बाँकी रकम विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन सुविधा प्रदान गर्नुपर्ने व्यवस्था गरिएको छ ।

यसै गरी १५ कार्यदिनभन्दा कम कार्यदिनको रुजु हाजिर भई कामकाज गरेका विशेषज्ञ चिकित्सकलाई दुर्गम क्षेत्र विशेषज्ञ चिकित्सक प्रोत्साहन तथा विस्तारित अस्पताल सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०८० मा प्रोत्साहन सुविधा उपलब्ध नगराउने गरी व्यवस्था गरिएको छ ।

मन्त्री जोशीले दुर्गममा चिकित्सक नजाने समस्या रहेको बताउँदै चिकित्सकलाई प्रोत्साहित गर्न सरकार जिम्मेवार हुनु पर्छ भन्ने मान्यतासहित नयाँ प्रयासको सुरुवात गरिएको बताउनुभयो । 

मन्त्री जोशीले भन्नुभयोे, “विज्ञापन गर्दा पनि चिकित्सक नआउने समस्या छ, यसमा सरकार पनि जिम्मेवार भएर जानु पर्छ र सुविधाले चिकित्सक दुर्गम पठाउन सजिलो हुन्छ, सुधार नीतिगत तहमा गर्नु पर्छ भन्ने हाम्रो मान्यता हो ।” विशेषज्ञ चिकित्सकलाई दोहोरो सुविधा नपर्ने गरी भुक्तानी दिनुपर्ने कार्यविधिमा भनिएको छ ।

विशेषज्ञ चिकित्सक कार्यरत प्रदेश अस्पतालबाट नै भुक्तानी गर्ने गरी बजेटको व्यवस्था गरिएको, विशेषज्ञ चिकित्सकले नेपाल सरकार तथा प्रदेश सरकारले तोकेबमोजिमको सार्वजनिक बिदा पाउने र सट्टा बिदा पाउने व्यवस्था गरिएको छ । साथै विशेषज्ञ चिकित्सकले प्रदान गरेको सेवाको मासिक प्रतिवेदनमा महिना दिनमा रोगको निदान गरेका मुख्य मुख्य समस्या वा रोगहरू, उपचार गरेको सङ्ख्या र ओपिडी, इमर्जेन्सी वा अन्तरङ्ग विभागमा निदान भएकामध्ये उक्त महिनामा भर्ना भएका, अन्यत्र प्रेषण गरिएका, डिस्चार्ज भएका, मृत्यु भएका वा अन्य कारणका बारेमा उल्लेख गर्नुपर्ने गरी कार्यविधि बनाइएको छ ।