गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्र सुधार्न सरकारलाई दबाब दिने उद्देश्यले काठमाडौंको माइतीघरमा ८ दिनदेखि उभिँदै आउनु भएका नेत्र चापागाईलाई भेटेर माग पूरा गर्ने प्रतिवद्दता जनाएपछि आन्दोलनकर्मी नेत्र चापागाईले आन्दोलन स्थगित गर्नुभएको छ ।
उक्त समयमा मन्त्री भट्टराइले शिक्षा क्षेत्र सुधारका लागि प्रक्रियामा प्रवेश गरिसकेकाले शंका नगर्न अनुरोध गर्नुभएको थियो । बजेट तर्जुमा गर्दा अहिलेको सरकार नरहेका कारण सबै विषय सम्वोधन गर्न कठिन रहेको छ, तथापि अहिले विपद्बाट क्षति भएका विद्यालयको पुनर्निर्माण गर्न आवश्यक रकम व्यवस्थापनका लागि अर्थ मन्त्रालय पेश भइसकेको बताउनुभयो ।
संस्थागत विद्यालयमा सरकारले तोके बमोजिम छात्रवृति दिनका लागि अनिवार्य गराइएको, स्थानीय तहहरूलाई शिक्षा कोष स्थापना गर्न उत्प्रेरित गराईने, शिक्षकको उपचारमा छुटको लागि स्वास्थ्य मन्त्रालयमा अनुरोध गरिसकिएको पनि उक्त समयमा मन्त्री भट्टराईले बताउनुभएको थियो । शिक्षामा अहिले देखिएका समस्याहरूको सुधार र यसबाट परिणाम आउन दिनका लागि सबैको साथ सहयोग आवश्यक रहेको कुरामा शिक्षा मन्त्रीले जोड दिनु भएको थियो ।
सो समयमा प्रतिनिधि सभाको शिक्षा, समितिका सभापति अमरबहादुर थापाले नेपालको शिक्षाको मोडेल सुधारका लागि समितिमा छलफलमा राखेको, अबको शिक्षाको मोडेल नेपालमै बसेर केही गर्न सक्ने खालको हुनुपर्ने भएकाले सोहिअनुसार शिक्षा ऐन ल्याउन नागरिकको धारणा समेत लिन खोजेको कुरा बताउनुभयो ।
शैक्षिक क्षेत्र सुधारको मागसहित आन्दोलन सुरु गरेका चापागाई सातै प्रदेशमा दुई–दुई घण्टा उभिएर काठमाडौं आउनुभएको थियो । काठमाडौंमा उभिन थालेको सोमबार आठौं दिन हो । खुट्टा सुन्निएपछि उहाँ बैशाखीको सहारामा उभिएर आन्दोलनलाई निरन्तरता दिनुभएको थियो ।