गोरखापत्र अनलाइन
काठमाडौं, पुस २२ गते । नेकपा (एमाले) को जारी केन्द्रीय कमिटी बैठक लम्बिएको छ । अध्यक्ष ओलीले मंगलबार बैठकमा उठेको जिज्ञासालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
प्रमुख गौतमले बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी रहेको बताउनुभयो । आज साँझसम्म ९८ जना केन्द्रिय सदस्यहरुले आफ्नो धारणा राखेको उहाँले बताउनुभयो । उहाँले अधिकांश केन्द्रिय सदस्यहरुले सरकारको प्रभावकारिता र पार्टी निर्माणमा देखिएका समस्याको समाधानमा जोड दिनुभएको बताउनुभयो ।
उहाँका अनुसार पार्टीभित्रका कुनै पनि गुटबन्दीहरु पार्टीले सहन नहुने र त्यस्ता आशयका गतिविधिहरु भएको खण्डमा पार्टीले निगरानीमा राख्नुपर्नेमा केन्द्रिय सदस्यहरुले जोड दिएको बताउनुभयो । उहाँले पार्टीलाई सवलिकरण गर्न तथा पार्टी र जनताको सम्बन्धलाई सुदृढ बनाउन लागि वडा केन्द्रित संगठन अभियान सञ्चालन गर्न प्रस्तुत भएको कार्ययोजनालाई कार्यान्वयनका लागि केही समस्याहरु देखिएको उल्लेख गर्दै यसका लागि सबैले मिलेर अगाडि बढ्नुपर्नेमा नेताहरुको जोड रहेको बताउनुभयो ।