विश्व स्वास्थ्य सङ्गठनले ओमिक्राेनको नयाँ सबभेरियन्ट र बिदाको समयमा भएको जमघटले गत डिसेम्बर महिनामा १० हजार कोभिडका बिरामीको मृत्यु भएको जनाएको छ । सङ्क्रमणको फैलावट भएका ५० देशमध्ये अमेरिका र युरोपमा बढी देखिएको छ । नेपालमा समेत विभिन्न अस्पताल, सीमा नाका, स्थान र उमेर समूहबाट पुस २२ गते गरिएको पछिल्लो जिनोम सिक्वेन्सिडमा १६ नमुनामध्ये सातमा ‘जे एन वन’ पुष्टि भइसकेको छ । तथापि हालसम्म सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने जस्ता लक्षण मात्र देखिएका छन् । सर्ने माध्यम खोक्दा, हाच्छ्युँ गर्दा निस्केका छिटाबाट नै एक व्यक्तिबाट अर्काे व्यक्तिमा सर्ने गर्दछ । यो सबभेरियन्ट भाइरस छिटो फैलिए पनि मानव स्वास्थ्यमा हानि पुर्याएको पुष्टि भएका छैनन् । विशेषतः वृद्धवृद्धा, गर्भवती, दीर्घरोगी, बालबालिका र खोप नलगाएका बढी प्रभावित हुने देखिएको छ । जोखिममा रहेकाहरूले विशेष सावधानी र ध्यान दिन जरुरी छ । सीमानाकामा शङ्कास्पद सबैको स्वास्थ्य तथा कोरोना परीक्षण, होम तथा संस्थागत क्वारेन्टाइन, आइसोलेसनको व्यवस्था र निगरानी, स्वास्थ्य संस्था तथा जनशक्तिलाई तयारीको अवस्थामा राखिएको स्वास्थ्य मन्त्रालय र तीनै तहका सरकारले जनाएका छन् । तथापि नागरिक सचेत नहुँदासम्म नियन्त्रण गर्न सकिँदैन भन्ने विगतले देखाएको छ ।
सन् २०२३ को अगस्तमा पहिलो पटक अमेरिकामा पत्ता लागेको ‘जे एन वन’ ओमिक्राेनको अठारौँ सबभेरियन्ट हो । हालसम्म विश्वका ५० बढी देशमा फैलिसकेको छ । ‘जे एन वन’ को सङ्क्रमण ४४ औँ हप्तामा रहेको ३.३ प्रतिशत, ४८ औँ हप्तामा, २७.१ प्रतिशत पुगेको छ भने मूल वंश ओमिक्राेनको सङ्क्रमण ४.४ प्रतिशतबाट ५.९ प्रतिशत छ । विशेषत क्यानडा, फ्रान्स, सिङ्गापुर, स्विडेन, बेलायत, अमेरिका आदि देशमा प्रमुख रूपमा फैलिएको छ । कुल श्वासप्रश्वासजन्य ओमिक्राेनको २७ प्रतिशत ‘जे एन वन’ को कारणले भएको छ । हालसम्म उपलब्ध तथ्याङ्कका आधारमा विश्व स्वास्थ्य सङ्गठनले ‘जे एन वन’ ले निम्त्याउने विश्वव्यापी जनस्वास्थ्य जोखिम न्यून रहेको जनाएको छ । हालैको हप्तामा भएको तीव्र वृद्धिका कारण १८ डिसेम्बर २०२३ मा यसलाई भेरियन्ट–भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा राखेको छ । हाल उपलब्ध भएका कोभिडविरुद्धका खोप सार्स कोभ–२ का अन्य भेरियन्ट र ‘जे एन वन’ विरुद्ध सुरक्षा प्रदान गर्न प्रभावकारी रहेको र गम्भीर रोग तथा मृत्युबाट जोगाउन सक्ने बताइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले २८ मार्च २०२३ मा बुस्टर मात्रा लिएको १२ महिना पुगेका उच्च जोखिम समूहले थप मात्रा लिनका लागि सिफारिस गरेको छ । नयाँ चरणमा प्रवेश गर्दै जाँदा लक्षण सुरु भएपछि भाइरस एन्टिजेन जाँचमा देखिन लाग्ने समय झन् ढिलो हुँदै छ । लक्षणबिनाको ओमिक्राेनको हिस्सा पनि बढ्दै छ । हरेक फैलने कोरोना बढी ओमिक्राेनको बन्दै प्रायः श्वासप्रश्वासजन्य रोग यिनैले विस्थापन गर्दै छन् । जटिल नदेखिएला भन्ने अनुमान गरे पनि लक्षण सुरु भएको आठदेखि दस दिनसम्म पल्स अक्सिमिटरले रगतमा अक्सिजनको मात्राको निगरानी गर्नु पर्छ । जोखिम समूहमा सङ्क्रमण देखिए विज्ञसँग परामर्श लिनु पर्छ ।
नेपालमा आकलझुकल हुँदै लामो समयदेखि शून्यमा देखिएको सङ्क्रमितको सङ्ख्या गत हप्तादेखि अङ्कमा देखिँदै छ । नेपालमा हालसम्म साडे ११ लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि तथा १.२ प्रतिशत अर्थात् १२ हजार २० जनाको निधन भएको पुष्टि भएको छ । सीमानाकामा नेपाल भित्रिनेमा समेत कोभिड सङ्क्रमण देखिन थालेको छ । हालको ओमिक्राेनको सबभेरियन्ट ‘जे एन वन’ सङ्क्रमण पहिले जस्तो अस्पताल भर्ना, कडा र बढी मृत्यु नभए पनि सर्ने दर उच्च छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हरेक रुघा, हरेक खोकी र हरेक ज्वरो अन्य प्रमाणित नभएसम्म कोभिड–१९ हुन सक्ने भएकाले लक्षण देखिनासाथ क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । अस्तिको पानीमा भिजेको, हिजो चिसो खाएको र आज धुलोमा गएको भन्दै बहना नगर्न तथा लक्षण देखिनेबित्तिकै क्वारेन्टाइन र परीक्षणपश्चात् पोजेटिभ आए आइसोलेसनमा बस्न आमनागरिकलाई भनेको छ । रुघा, खोकी र ज्वरो पुष्टि नभएसम्म कोभिडको लक्षण मानी बेवास्ता नगर्न जरुरी छ
फेरि मास्कको आवश्यकता
सन् २०१९ को डिसेम्बरमा सुरु भएको कोभिड सङ्क्रमण २०२४ चलिरहँदा पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । कोरोनाको नयाँ नयाँ भेरियन्टले आक्रान्त पार्दै छ, मानव समाजका हरेक पाटोमा असर गरेको थियो र छ । सङ्क्रमणबाट बच्ने सबैभन्दा सजिलो उपाय मास्कको नियमित र उचित प्रयोग नै हो । तपाईंको मास्क खोइ ? अभियान विगतमा ट्राफिक प्रहरीले कोभिड–१९ को जोखिमलाई ध्यानमा राखी उपत्यकाका विभिन्न स्थानमा प्ले कार्ड र सचेतनासहित अभियान सुरु गरेको इतिहास छ, पुनः हामी सबैले मास्क लगाउने अभियान सुरु गर्न जरुरी छ ।
खोपले सङ्क्रमणबाट होइन, जटिलता र मृत्युबाट जोगाउँछ
हालसम्म कुल जनसङ्ख्याको ८४ प्रतिशतले पूर्ण र ९६ प्रतिशतले एक मात्रा खोप लिएका छन् भने पहिलो बुस्टर मात्रा लगाउने एक करोड ९६ हजार र दोस्रो बुस्टर लगाउने १३ लाख १७ हजार छन् । खोप नेपाल सरकार सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग साडे सात लाख भण्डारणमा रहेको र २५ लाख ल्याइँदै छ । अमेरिकाको येल विश्वविद्यालयको खोजमा कोभिड–१९ विरुद्ध खोप विकास नभएको भए पछिल्लो दुई वर्षमा मात्रै अमेरिकामा एक करोड ८५ लाख मानिस अस्पताल भर्ना हुने र थप ३२ लाखको मृत्यु तथा खोपले १.१५ ट्रिलियन डलर जोगाएको बताएको छ । खोप नहुँदो हो त अमेरिकामा सङ्क्रमण दर डेढ गुणा, अस्पताल भर्ना हुने ३.८ गुणा तथा मृत्यु हुनेको सङ्ख्या ४.१ गुणा बढी हुने थियो । बेलायतको एनएचएसले खोपको गम्भीर साइड इफेक्ट निकै दुर्लभ रहेको र सामान्य समस्यामा सुई लगाएको ठाउँमा दुखाइ, थकान, टाउको दुख्नु, शरीर दुख्नु, ज्वरो, अस्वस्थ महसुस वा बिरामी हुनु रहेको बताएको छ । यी धेरै मन्द किसिमका र एक हप्ताभन्दा कम समयमै निको हुन्छन् । ७५ प्रतिशतभन्दा बढी मृत्यु भएका खोप नलगाएका छन् । खोप नलगाएकामा जटिलता र मृत्युको जोखिम १० गुणा हुन्छ । बुस्टर मात्राले ८५ प्रतिशत सुरक्षा प्रदान गर्छ । नेपालको खोजमा दुई मात्रा खोप लगाएकामा दुई हप्तापछि सङ्क्रमण नभएको र भए पनि अस्पताल भर्ना हुन परेको थिएन भने मृत्युको त कुरै आएन । पहिलो मात्रा मात्रैले पनि अस्पताल भर्ना र मृत्यु हुन नदिएको दोस्रो लहरमा ज्येष्ठ नागरिकमा देखिएको छ ।
जनस्वास्थ्य मापदण्डको पालना
घरमै बस्ने ज्येष्ठ नागरिकलाई कामको सिलसिलामा बाहिर जाने परिवारका सदस्यले सार्ने माध्यम नबन्नाका लागि जनस्वास्थ्यका मापदण्ड पालनामा जोड दिनु पर्छ । कोरोनाविरुद्ध खोप लगाएका व्यक्तिलाई ओमिक्राेनको नयाँ सबभेरियन्ट ‘जे एन वन’ ले खासै प्रभाव नपार्ने बताइएको छ । तथापि जोखिम वर्गहरूमा सङ्क्रमण भई घातक हुने सम्भावना भएकाले जनस्वास्थ्य मापदण्ड पालना, भिडभाडमा नजाने, भौतिक दूरी कायम, मास्क प्रयोग र साबुनपानी वा स्यानिटाइजरले हात धुने कार्यमा सबै लाग्नु पर्छ । लापरबाहीले सङ्क्रमण उकालो लाग्न सक्छ । लापरवाह, बिनामास्क हिँडडुल र जमघट गर्नेको सङ्ख्या दिनानुदिन सबै क्षेत्रमा बढ्दा सङ्व्रmमणको फैलावट बढी जोखिम सबै वर्ग र समूहका लागि घातक बन्न सक्छ ।