चारैतिर लमतन्न सुतेको सेता हिमाल । छर्लङ्ग खुलेको आकाश । मनमोहक भूगोल । ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैया । पुरातात्त्विक संरचना, स्थानीय मौलिकता र ऐतिहासिक गुफा । पठारको प्राकृतिक सुन्दरता, तिब्बती संस्कृति, वास्तविक हिमाली जीवन र सांस्कृतिक सम्पदाको आकर्षण । मुस्ताङ पुग्ने जो कोहीलाई मोहनी लगाउँछ । विदेशी र आन्तरिक दुवै खाले पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु रहेको छ, मुस्ताङ ।
धौलागिरि र नीलगिरि हिमाल पार गरेर आउनुपर्ने भएकाले ‘हिमालपारिको जिल्ला’ भनेर मुस्ताङलाई चिनिन्छ । नेपालको मरुभूमि भनिने मुस्ताङमा जताततै देखिने बालुवाको थुप्रो, ढुङ्गामाटो, कम देखिने कलात्मक बुट्टा र अग्ला हिमशृङ्खलाले मुस्ताङलाई धर्तीको स्वर्ग बनाएको छ । लाग्छ, स्वर्ग भनेको यही नै हो । प्राचीन सभ्यताका अवशेषका कारण विशेष महìवको मानिएको हो ।
मुस्ताङ पुग्ने दुई वटा विकल्प छन् । एक हवाई मार्ग र अर्को सडक मार्गको प्रयोग । हवाई मार्गको प्रयोग चाहिँ पोखराबाट जोमसोमसम्म गर्न सकिन्छ । सडक मार्गको प्रयोग गर्दा पोखराबाट जोमसोम गाडीबाट सिधै पुग्न सकिन्छ । पदयात्रामा रुचि हुनेहरू मनाङ हुँदै पनि मुस्ताङ पुग्न सक्छन् । जोमसोमबाट लोमान्थाङ (उपल्लो मुस्ताङ) पुग्न पदमार्ग र सडकमार्ग दुवैको प्रयोग गर्न सकिन्छ ।
पोखराबाट पर्वतको कुश्मा, बागलुङको बागलुङ बजार र म्याग्दीको बेनी बजार हुँदै मुस्ताङ पुग्न सकिन्छ । म्याग्दीको भुरुङ तातोपानीबाट कालीगण्डकीको किनारै किनार उकालो लागेपछि मुस्ताङतिरको यात्रा अघि बढ्छ । लाग्छ, नजिकै देखिने पहाडहरू नाकमै ठोक्किन आइरहेका छन् । दाना, काभ्रेभिर, घाँसा, लेते, छाक्ताङ, टुकुचे, मार्फा र स्याङ हुँदै जोमसोम पुगिन्छ । म्याग्दीको दानास्थित रूपसे झर्ना बाटैमा पर्छ । झर्नाको अवलोकन गर्न पाउँदा मन कम आनन्दित हुँदैन । झर्नाकै मुन्तिर कालीगण्डकीको गहिरो गल्छी रहेको छ ।
कालीगण्डकी तर्दै पहाड चढेर बगर झर्दै जाँदा बाटोमा देखिने हरिया डाँडा र ती डाँडामाथिबाट बग्ने झरनाको मनमोहक दृश्यले यात्रालाई अविस्मरणीय बनाउँछ । मुस्ताङको सिमाना प्रारम्भ भएपछि यात्रा झन् रोमाञ्चक बन्दै जान्छ र बाटो पनि सहज छ । संसारको सबैभन्दा गहिरो गल्छी बनाएर बग्ने कालीगण्डकी मुस्ताङको सिमाना प्रारम्भ भएदेखि केही माथिबाट तराई जसरी ठुलो फाँटमा बालुवा र मसिना ढुङ्गाबिच हराएर कलकल गर्दै बगिरहेको देखिन्छ ।
मुस्ताङ जिल्लाको करिब करिब बिच भाग भएर कालीगण्डकी बग्छ । बस्ती जति धेरै जसो यही नदीको किनारमा अवस्थित छन् । कालीगण्डकीले बनाएको विशाल फाँट अत्यन्त सुन्दर लाग्छ । वरिपरि बालुवा, ढुङ्गा र माटोका विशाल पहाड बुट्टा भरे झैँ कलात्मक देखिन्छन् । चारैतिर हिमाल र डाँडाले घेरिएको सानो समथर भूभाग उपत्यका जस्तो रहेछ, जोमसोम । यहाँ आउनेहरूको स्वागतमा मुस्कुराइरहेको हुन्छ, नीलगिरि हिमाल ।
बाह्र बजेपछि चल्ने हावा मुस्ताङको विशेषता हो ।
पुस–माघमा चिसोले बस्न नसकेर उपल्लो मुस्ताङका बासिन्दा तल, गाउँ र बेँसी झर्ने गर्छन् । तीन÷चार महिना पर्यटन र व्यापार व्यवसाय सबै हिउँसरि ठप्प हुँदो रहेछ । हरेक वैशाख र साउनमा यो जिल्लामा चौँरीको आलो रगत खाने मेला लाग्छ, जसमा मानिसको भिड लाग्ने गर्छ ।
मुस्ताङ जिल्लामा रहेका प्राचीन गुफा र बस्तीको पुराताìिवक अन्वेषणले यस जिल्लाको इतिहास करिब तीन हजार वर्ष पुरानो भएको पुष्टि हुन्छ । यस जिल्लाको कुल क्षेत्रफल ३५६.२१ वर्ग किलोमिटर रहेको छ । समुद्र सतहदेखि दुई हजार १० मिटर (घाँसा) देखि आठ हजार १६७ मिटर (धौलागिरि) उचाइमा रहेको मुस्ताङ जिल्लाको हावापानी सुक्खा ठण्डा रहेको छ । जिल्लाको तल्लो भागमा तुलनात्मक रूपमा बढी वर्षा भएता पनि माथिल्लो भागमा अत्यन्त कम वर्षा हुन्छ । औसत वार्षिक वर्षा तल्लो भागमा दुई सय मिमी र माथिल्लो भागमा हिमपात हुन्छ । गर्मी महिनाको अधिकतम तापव्रmम २६ डिग्री सेल्सियस र हिउँद महिनामा न्यूनतम –९ डिग्री सेल्सियससम्म झर्दछ । हिमालको नजिक काँडेदार वनस्पति र माथिल्लो भागमा होचा काँडेदार वनस्पति पाइन्छ । जैविक विविधतामा धनी छ, मुस्ताङ ।
मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, कागबेनी, कोरला नाका, टिटीताल, नीलगिरि हिमाल, धौलागिरि हिमाल, ठिनी घरपझोङ गढी, कैसाङ क्याम्प (खम्पा क्याम्पु), ढुम्बा ताल, तिलिचो बेसक्याम्प, थारुघाङ भ्युटावर, रक क्लाइम्बिङ, फुक्केलिङ पुरानो गाउँ, लोमान्थाङको ऐतिहासिक दरबार, लोमान्थाङको सिटी वाल, मार्फा, तेताङ आदि मुस्ताङ जिल्लामा रहेका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल एवं ताल तलैया हुन् ।
हिन्दु र बौद्ध तीर्थयात्रीको पावन भूमि, पवित्र कृष्णगण्डकी प्रवाहित हुने प्रकृतिको अनुपम दृश्य भएको, पर्यटकका लागि मनमोहक एवं सुन्दर रहेको छ, मुस्ताङ । मुख्य गरी गुरुङ र थकाली समुदायको बसोबास रहेको यस जिल्लाका अधिकांश मानिस बौद्ध धर्मप्रति आस्थावान् छन् । परापूर्वकालमा नेपाल र तिब्बतबिचको व्यापारिक मुख्य नाकाका रूपमा यो क्षेत्र रहेको थियो । तिब्बती संस्कृतिबाट प्रभावित यस क्षेत्रको उत्तरी भेक पर्यटक र अनुसन्धानकर्ताका लागि अति नै महìवपूर्ण तथा आकर्षणको केन्द्र रहेको छ ।
उच्च पहाडी दुर्गम हिमाली जिल्ला भएको हुनाले यहाँको जनजीवन भिन्नै प्रकारको छ । स्थानीय बासिन्दाले प्रयोगमा ल्याउने वेशभूषा र पहिरन यहाँको परम्परा, मौसम तथा हावापानी अनुरूप रहेको पाइन्छ । जिल्लाको जातिगत विविधताका कारण सामाजिक रीतिरिवाज र प्रचलन फरक रहेको छ । उत्तरी भेक तिब्बती संस्कृतिबाट प्रभावित छ भने दक्षिणी भेकमा छिमेकी जिल्लाको पनि केही प्रभाव परेको छ ।
थकाली समुदायमा सबभन्दा ठुलो चाडका रूपमा फागुपूर्णिमालाई लिइन्छ । तीनदेखि सात दिनसम्म मनाइने यो पर्व मुख्य पितृदेवलाई पूजाआजा गरी पितृदेवको आशीर्वादले परिवारलाई रोगव्याधि नहुने, घरमा धनधान्यले भरिपूर्ण हुन्छ भन्ने विश्वास गरिन्छ । उपल्लो मुस्ताङमा बसोबास गर्ने गुरुङ, विष्टहरूको मुख्य पर्व तिजी पर्व हो । सामान्यतया अन्य पर्वमा जस्तै यस पर्वमा पनि मानिस आफ्नो आर्थिक हैसियत अनुसार खानपान गर्ने, नयाँ लुगा, गहना लगाउने, गुम्बा, छोर्तेनमा सामूहिक पूजा र नाचगान गर्ने गर्दछन् ।
मुस्ताङको गाउँ र गाउँलाई घेरेका सेताम्मे हिउँहरू यति धेरै हेर्नलायक रहेछन् कि शब्दमा वर्णन गरेर नै सकिन्न । मुस्ताङको प्रसिद्ध धार्मिक स्थलका रूपमा रहेको कागबेनीमा पितृ तर्पण गरे दिवङ्गत आफन्तले सुख र मुक्ति पाउने जनविश्वास छ । स्नान र पूजापाठका लागि वर्षको दुई पटक हिन्दु धर्मावलम्बीको घुइँचो लाग्ने गर्छ । विजया दशमीको सोह्रश्राद्ध र चैते दसैँको अवधिमा यहाँ ७७ वटै जिल्लाबाट ठुलो सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेका छन् ।
पितृ उद्धार नै धार्मिक पर्यटकको मुख्य उद्देश्य हो । कागखोला र कालीगण्डकीको दोभान हो, कागबेनी । कागबेनीधाम मुक्तिनाथ क्षेत्र र दामोदरकुण्ड धार्मिक स्थलबाट बहने कालीगण्डकी नदीको सङ्गम स्थल हो । कागबेनीको थप विशेषता कालीगण्डकीको किनारमा अवस्थित हुनु पनि हो र कालीगण्डकीको विशेषता धार्मिक महìवको शालिग्राम पाइनु ।
मुक्तिनाथ हिन्दु तथा बौद्धमार्गीका लागि महìवपूर्ण तीर्थस्थल हो । यो समुद्री सतहदेखि तीन हजार ७१० मिटरको उचाइमा रहेको छ । मुक्तिनाथ ५१ शक्तिपीठमध्ये एक पीठका रूपमा पूजाआजा, स्नान र दर्शन गरिन्छ । बौद्ध धर्म अनुसार यसलाई च्यूभीग ग्यातुसा भनिन्छ । जसको अर्थ तिब्बती भाषा अनुसार १०८ पानी हो । मुक्तिनाथ धार्मिकस्थलमा १०८ धारा छन् । मुक्तिनाथ मन्दिरमा भगवान् विष्णुलगायत देवी लक्ष्मी र गरुड भगवान्को मूर्ति राखिएको छ ।
जोमसोम कटेर माथितिर लागेपछि विचित्रको भूगोलमा पुगिन्छ । जोमसोमको तल्लो भेगमा डाँडापाखाभरि देखिने बोटबिरुवा र जङ्गल उपल्लो मुस्ताङमा देखिँदैन । नेपालको मरुभूमिका रूपमा परिचित मुस्ताङको जोमसोम र मुक्तिनाथसम्म मात्र पुगेर फर्किनेहरूले मरुभूमिको अनुभूति गर्न पाउँदैनन् । त्यसका लागि कागबेनी हुँदै उपल्लो मुस्ताङ अर्थात् लोमान्थाङ पुग्नैपर्ने हुन्छ । कागबेनी हुँदै गाडीमा माथितिर लागेपछि छुसाङ, समर, स्याङबोचे, घमी, गिलिङ, चराङ हुँदै लोमान्थाङ पुगिन्छ । पदयात्रामा रुचि हुनेहरू जोमसोमबाटै यो बाटोमा हिँडछन् ।
मुस्ताङ गेट चैलेदेखि उपल्लो मुस्ताङ सुरु हुन्छ । समथर नाङ्गा र फुस्रा पहाडी शृङ्खलाले यात्रालाई रोमाञ्चक बनाउँछ । वरिपरि पहाड कुनै कलाकारका सुन्दर कालिगढी रचना जस्ता देखिन्छ । बाटैभरि ठाउँठाउँमा ध्वजापताकासहित बौद्ध छोर्तेनहरूले उस्तै आत्मिक स्वागत गरिरहेका हुन्छन् । यस्तै बाटोमा रोकिँदै फोटो खिच्दै जाँदा करिब छ घण्टाको यात्रापछि लोमान्थाङ पुगिन्छ । त्यहाँ पुग्दा लोमान्थाङको रमणीय भव्यताले निकै लोभ्याउँछ ।
मनोरम दृश्यले हरेक मानिसलाई उपल्लो मुस्ताङले आकर्षित गर्ने गरेको छ । एक पटक हरेक नेपाली उपल्लो मुस्ताङको मनोरम दृश्यको अवलोकन गर्न जानैपर्ने ठाउँ हो, लोमान्थाङ । लोमान्थाङ विश्वभरिका पर्यटकका लागि आकर्षणको केन्द्र रहेको छ । लोमान्थाङ विशाल मैदानको बिच भागमा बाक्लो पर्खालले घेरिएको बस्ती हो । विशाल ढोकाबाट बिस्तारै बस्तीभित्र छिरिन्छ । मौरीका चाका झैँ गुजुमुज्ज घर आदिकालको गढी र किल्ला झल्किन्छ । विश्वमा नै माटोको सहरका नामले चिनिएको छ यो ठाउँ । लोमान्थाङ जहाँ प्राचीन शैलीका हिमाली बजार र संस्कृति पाइन्छ । यहाँ मुस्ताङी राजाको ऐतिहासिक दरबार, केही ऐतिहासिक गुम्बा, सांस्कृतिक सङ्ग्रहालयलगायत छन् ।