• ९ मंसिर २०८१, आइतबार

ढुवानी सस्तो भएपछि जडीबुटी निकासी पैदल मार्गबाट

blog

पैदलमार्गबाट जडीबुटी ढुवानी गरिँदै । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, पुस २७ गते । जडीबुटी व्यापारीहरुले यस वर्ष पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका छन् । हवाई मार्गभन्दा पैदल मार्गबाट ढुवानी दर सस्तो हुने भएपछि व्यापारीहरुले पैदल मार्गबाट जडीबुटी निकासी सुरु गरेका हुन् ।

जडीबुटी व्यापारी पेमाआङ्जु लामाले यस वर्षबाट आफ्नो जडीबुटी पैदल मार्गबाट ढुवानी गरेको जानकारी दिनुभयो । उहाँले माथिल्लो हुम्लाबाट सर्केगार्ड गाउँपालिका–६ को स्याल्तडीसम्म प्रतिकेजी ३५ रुपियाँका दरले खच्चडमा ढुवानी गर्नुभएको र त्यहाँबाट सुर्खेतसम्म प्रतिकेजी १२ रुपियाँ ढुवानी लाग्ने गरेको बताउनुभयो ।

जब कि सिमकोट विमानस्थलबाट हवाईमार्ग हुँदै जडिबुटी ढुवानी गरे सुर्खेतका लागि प्रतिकेजी ६० रुपियाँ पर्ने गर्छ ।

उहाँले ४७ रुपियाँमा जडीबुटी सम्बन्धित ठाउँमा पुग्ने भएपछि सबै व्यापारीले स्थलमार्गबाटै जडीबुटी ढुवानी गर्ने गरेको बताउनुभयो । उहाँले प्रतिकेजी १३ रुपियाँ ढुवानी सस्तो पर्ने भएपछि व्यापारी पैदलमार्गबाट जडीबुटी ढुवानी गर्ने कार्यमा लागेको जानकारी दिनुभयो ।

उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामबहादुर भण्डारीले उडान कम भएका बेला जडीबुटी व्यापारीलाई हवाईमार्गबाट ढुवानी गर्न निक्कै सकस हुने गरेको सम्झनुहुँदै यस वर्षबाट त्यो समस्याबाट मुक्ति मिलेको बताउनुभयो ।

पैदलमार्गबाट ढुवानी कार्य सुरु भएपछि जडीबुटी व्यापारी आर्थिक फाइदा मात्र नभएर समयमै सम्बन्धित स्थानमा पुर्‍याएर बिक्री गर्न समेत सहज भएको छ । यस वर्ष हुम्लाबाट पाँच सय क्विन्टल जटामसीको सङ्कलन पुर्जी डिभिजन वन कार्यालयबाट जारी भएको छ । सो जडीबुटी ५० भन्दा बढी व्यापारीले निकासी सुरु गरेका हुन् । हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालसँग नजिकिएसँगै धेरै कुरा सस्तो भएको छ ।