ललित बसेल
सुर्खेत, असार २७ गते । विसं २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णालीले अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले सुधार गरेको छ । २०८० सालको एसइईमा कर्णालीमा उत्तीर्ण प्रतिशत ४२ भएकोमा यस पटक १४ प्रतिशतले सुधार गरी ५६.७८ प्रतिशत भएको हो ।
कर्णालीले एसइईमा सुधार गरे पनि राष्ट्रिय उत्तीर्ण प्रतिशत भने भेट्टाउन सकेन । मुलुकभर कुल ६१.८१ प्रतिशत उत्तीर्ण भएका छन् । राष्ट्रिय उत्तीर्ण प्रतिशतभन्दा कर्णाली अझै पाँच प्रतिशतले तल छ ।
यस वर्ष कर्णाली प्रदेशका १० जिल्लाबाट ३१ हजार ७७३ जना परीक्षार्थीले एसइई दिएका थिए । जसमध्ये १८ हजार ४२ जना उत्तीर्ण भएको शिक्षा विकास निर्देशनालय सुर्खेतले जनाएको छ । १२ हजार ६३१ जना ग्रेड वृद्धिमा परेका छन् । निर्देशनालयका अनुसार कर्णालीमा जिपिए ए प्लस ल्याउने एक हजार ५१ जना, ए ल्याउने चार हजार ६४४ जना, बी प्लस ल्याउने सात हजार ७८५ जना, बी ल्याउने चार हजार २६० जना छन् । ३०२ जनाले सी ल्याएका छन् भने ‘ननग्रेडेड’ हुनेमा १३ हजार ७३१ जना रहेका छन् ।
सुगमभन्दा दुर्गममा सुधार
यस वर्षको एसइईमा कर्णालीमा सुगमभन्दा दुर्गमका विद्यालयले सुधार गरेको देखिएको छ । जाजरकोट, रुकुमपश्चिम, मुगु, सल्यान, कालीकोट, जुम्ला जस्ता दुर्गम जिल्लाको उत्तीर्ण प्रतिशत सुधार भएको छ भने सुगम मानिएका सुर्खेत, दैलेख पछाडि परेका छन् । १० जिल्लामध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत जाजरकोट जिल्लाको छ । जाजरकोटमा ८२.११ प्रतिशत विद्यार्थी उत्तीर्ण भई प्रदेशकै पहिलो बढी विद्यार्थी उत्तीर्ण गराउने जिल्ला भएको छ ।
जाजरकोटपछि दोस्रोमा जुम्लाको ७५.८५ प्रतिशत र तेस्रोमा रुकुमपश्चिमको ७४.९४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यसै गरी चौथोमा मुगुको ७९.०९ प्रतिशत, पाँचौँमा सल्यानको ६५.८९ प्रतिशत, छैटौँमा कालीकोटको ५७.०८ प्रतिशत, सातौँमा हुम्लाको ५१.६ प्रतिशत, आठौँमा सुर्खेतको ४५.१३ प्रतिशत, नवौँमा डोल्पाको ३३.१ प्रतिशत र सबैभन्दा कम दैलेखको २२.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
सबैको मेहनतले सुधार
शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालले अघिल्ला वर्षको तुलनामा यस पटक विद्यालय, विद्यार्थी, शिक्षक, अभिभावकलगायत सरोकारवाला पक्षको योगदान देखिएको जनाउनुभयो । परीक्षा र शिक्षण सिकाइ विधिमा पनि सुधार आउनु, स्थानीय तह, प्रदेश तथा सङ्घीय सरकारको अनुगमन, सुपरिवेक्षण प्रभावकारी देखिनु, पूर्वाधार र सूचना प्रविधिको प्रयोगमा वृद्धि हुनुले एसइईमा सुधार आउने मुख्य कारण रहेको उहाँको भनाइ छ । यसका साथै कतिपय विद्यालयले आफ्ना कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्नु, विद्यालय व्यवस्थापन समितिले पनि नतिजा सुधारका लागि विभिन्न क्रियाकलाप गरी महत्वपूर्ण योगदान दिएको निर्देशक हमालले बताउनुभयो ।
सुधारिएको प्रश्नपत्र
वीरेन्द्रनगर–१० स्थित जनसेवा मावि घुस्राका प्रधानाध्यापक भक्तबहादुर शाहीले विगतको तुलनामा कर्णालीको एसइईमा सुधार आउनुले थप हौसला मिलेको बताउनुभयो । उहाँले यस पटक प्रश्नपत्र पनि सुधारिएर आएकाले विद्यार्थीलाई सहज भएको जनाउनुभयो । यसका साथै धेरै जसो विद्यालयको भौतिक सुधार पनि भएको छ । पूर्वाधारमा वृद्धि, विद्यार्थीलाई आवश्यक पर्ने प्रयोगशालाले विद्यार्थीको व्यावहारिक ज्ञान बढ्दा उनीहरूको परीक्षा राम्रो भएको उहाँको भनाइ छ ।
टार्गेट कार्ड
सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका कर्णाली प्रदेश अध्यक्ष एवं वीरेन्द्रनगरस्थित जननमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालाले विव्यस, शिक्षक, विद्यार्थी, अभिभावकको चिन्ता र मेहनतले कर्णालीको नतिजामा सुधार आएको बताउनुभयो । शिक्षक र विद्यार्थीलाई ‘टार्गेट कार्ड’ दिने, विद्यार्थीलाई उत्तर लेख्ने शैली सिकाउने, परीक्षा प्रणाली मर्यादित बनाउने, कुनै दिन खेर जान नदिई शिक्षण गर्ने काम हुन सके नतिजा अझै सुध्रने उहाँको भनाइ छ ।
बजेट वृद्धि
यता कर्णाली प्रदेश सरकारले कर्णालीको नतिजालाई आगामी वर्षको एसइईमा राष्ट्रिय उत्तीर्ण प्रतिशत भेट्टाउने गरी लाग्ने जनाएको छ । कर्णालीको शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालयले यस वर्ष शिक्षामा सुधार गर्न आफ्नो बजेटमा शिक्षामा २७ प्रतिशत वृद्धि गरेको छ । यस्तै यसै वर्षदेखि एसइई तयारी कार्यक्रममार्फत १० करोड रुपियाँ छुट्याएर काम गर्ने लक्ष्य रहेको सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले बताउनुभयो ।
आगामी वर्ष राष्ट्रिय प्रतिशत भेट्टाउँछौँ
सामाजिक विकासमन्त्री घनश्याम भण्डारी
अघिल्लो वर्षको तुलनामा यस वर्ष कर्णालीको एसइईमा निकै सुधार आएको छ । यद्यपि राष्ट्रिय लक्ष्य भेट्टाउन अझै सकेका छैनौँ । यस वर्ष शिक्षामा पनि बजेट वृद्धि गरिएको छ । एसइई तयारी कार्यक्रमका लागि १० करोड रुपियाँ छुट्याइएको छ । भौतिक संरचनामा व्यापक सुधार गरिएको छ । परीक्षा प्रणालीलाई पनि सुधार गर्दै लगिएको छ । यी कारणले गर्दा आगामी वर्षको एसइईमा कर्णालीले राष्ट्रिय उत्तीर्ण प्रतिशत भेट्ने गरी काम गरिने छ ।