• ९ मंसिर २०८१, आइतबार

विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउँदै जनचेतना आधारभूत विद्यालय

blog

आधारभूत विद्यालय । फाइल तस्बिर

कञ्चनपुर, पुस २६ गते । पढाइका कक्षा सुरु हुनुअगावै लालझाडी गाउँपालिका-४ जाइजालामा रहेको जनचेतना आधारभूत विद्यालयमा ‘म्युजिकल स्र्टुमेन्ट’ बज्न थाल्छ । विद्यार्थी आफ्ना पुस्तकले भरिएका झोला कक्षाकोठामा रहेका डेस्कमा राख्दै विद्यालयको प्राङ्गणमा जम्मा हुन थाल्छन् ।

कक्षाअनुसार लाइनमा लामबद्ध भएर लाग्छन् । राष्ट्रिय गानको कार्यक्रम सकिएपछि शारीरिक अभ्यासको कार्य गरिन्छ । योक्रम शनिबार छाडेर प्रत्येक दिन निरन्तररुपमा जारी हुन्छ । विद्यार्थीलाई शारीरिक स्फूर्ति कायम गराउनका लागि विद्यालयले पिटी शिक्षकको व्यवस्था गरी शारीरिक अभ्यास गराउँदै आएको छ । विद्यार्थीको पढाइप्रतिको अभिरुचि कायम गराउनका लागि शारीरिक अभ्यास गराइँदै आएको विद्यालयका प्रधानाध्यापक मङ्गलप्रसाद चौधरीले बताउनुभयो । “शरीरमा स्फूर्ति आएपछि विद्यार्थीले पढाइमा मन लगाएर पढ्छन्” उहाँले भन्नुभयो, “त्यै भएर यस कार्यलाई पढाइका कक्षा सुरु हुनुअगावै सुरु गर्छौ ।”

पढाइलाई बाधा नपुग्ने गरी १० बज्नुअघि नै शारीरिक अभ्यास गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । योसँगै प्रत्येक महिनाको २२ र २३ गते पोषणको अवस्था पत्ता लगाउन विद्यार्थीको तौल र उचाइ लिइन्छ । यसको अभिलेख प्रत्येक विद्यार्थीको व्यक्तिगत फाइलमा राख्ने गरिन्छ । “पोषणको अवस्था सन्तोषजनक भए ठीक नभए अभिभावकलाई बोलाएर जानकारी दिन्छौँ”, प्रधानाध्यापक चौधरीले भन्नुभयो, “विद्यार्थीको स्वास्थ्यावस्था सन्तोषजनक भए पो पढाइमा मन लगाएर पढ्ने हुन्, स्वास्थ्य नै ठीक छैन भने, पढाइमा कसरी मन लाग्छ ? ।”

प्रधानाध्यापक चौधरीका अनुसार प्रत्येक विद्यार्थीको व्यक्तिगत फायल खडा गरेर त्यसमा स्वास्थ्यसम्बन्धी र पढाइसम्बन्धीका विषयवस्तु राख्ने गरिएको छ । व्यक्तिगत फाइलमा स्वास्थ्य प्रतिवेदनसँगै प्रत्येक इकाई परीक्षाको नतिजा, मूल्याङ्कन प्रतिवेदन समावेश गरेर राखिन्छ । यसबाट विद्यार्थीको सिकाइ उपलब्धि बढ्ने, कमी कमजोरी पत्ता लाग्ने र समयमै सिकाइ सहजीकरण गर्न सकिने हुन्छ । 

शिक्षकले बिदा बस्नु एक दिनअघि नै प्रधानाध्यापकलाई जानकारी दिनुपर्ने हुन्छ । बिदा बस्ने शिक्षकको विकल्पमा अर्को शिक्षकको व्यवस्था गरी कक्षा सञ्चालनको चाँजोपाँजो मिलाइने गरेको छ । विद्यार्थीलाई जीवनोपयोगी सीप सिकाउन विद्यालयमै करेसाबारी तयार गरी सागसब्जीका बेर्ना तयार गर्ने, रोगको रोकथाम, सिँचाइ, मल राख्ने, उत्पादन भित्र्याउने र बजारमा लगेर बिक्री गर्नेलगायत काम सिकाइने गरिएको विद्यालयका शिक्षक हेमलाल चौधरीले बताउनुभयो । 

“कक्षा ५ मा पढ्ने विद्यार्थीलाई प्रत्यक्षरुपमा संलग्न गराई करेसाबारी तयार गर्छौ”, उहाँले भन्नुभयो, “व्यावसायिक तरकारीखेती गर्ने किसानले अपनाउने तौरतरिकाबारे पूर्णरुपमा जानकारी दिन्छौँ, यस कार्यले विद्यार्थीले घरमा गएर अभिभावकलाई यसबारे सिकाउँछन्, आर्थिकोपार्जनमा सघाउ पुग्छ ।”

जीवन जिउने कलाप्रति जागरूक गराउनका लागि यस कार्यलाई विद्यालयमै गराइँदै आएको उहाँको भनाइ छ । विद्यालयमा तयार गरिने करेसाबारीबाट उत्पादित तरकारी बिक्री गरी विद्यालयले प्रतिवर्ष १५ हजारदेखि २७ हजारसम्म आम्दानी गरिँदै आएको छ । आम्दानीको रकम विद्यार्थीको सिकाइ उपलब्धिका लागि विद्यालयले खर्च गर्दै आएको छ ।

केही रकम अनाथ विद्यार्थीको पोसाक, कापी, कलम खरिद गरी वितरणको कार्य गर्दै आएको शिक्षक रामकिसन रानाले बताउनुभयो । “आमाबुवा गुमाएका १७ जना बालबालिका विद्यालयमा अध्ययनरत रहेका छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा पाँच जना अभिभावकले मिलेर ३६ हजारको अक्षयकोष स्थापना गरिदिएका छन्, जसबाट आउने व्याजबापतको रकम जेहेन्दार, विपन्न विद्यार्थीलाई छावृत्तिमार्फत उपलब्ध गराइँदै आएको छ ।”

विद्यालयका कक्षाकोठामा १० वटा र विद्यालय भवन बाहिर पाँच वटा गरी १५ वटा सिसिटिभी क्यामेरा जडान गरिएका छन् । सिसिटिभी क्यामेरा जडान गरिएपछि विद्यार्थी कक्षाकोठामा अनुशासित भएर बसे÷नबसेको र शिक्षकले सन्तोषजनकरुपले पढाए न पढाएकाबारे सजिलै जानकारी लिन सकिने  प्रधानाध्यापक चौधरीले बताउनुभयो ।

बालविकास कक्षाका विद्यार्थीलाई चित्र देखाएर, भिडियो देखाएर, अडियो सुनाएर पढाउने व्यवस्था गरिएको छ । त्यसका लागि प्रोजेक्टरको व्यवस्था गरिएको छ । कक्षा पाँचसम्म पढाइ हुने विद्यालयमा तीन सय चार जना विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा आठ जना शिक्षक कार्यरत रहेका छन् । रासस