• १३ साउन २०८१, आइतबार

थारु समुदाय उत्थान विशेष कार्यक्रम सञ्चालन

blog

फाइल तस्बिर

कञ्चनपुर, पुस २५ गते । थारु समुदायलाई लक्ष्य गरी कृषि ज्ञान केन्द्रले अनुदानका विशेष कार्यक्रम सञ्चालन गरेको छ । ‘थारु समुदाय उत्थान विशेष कार्यक्रम’ अन्तर्गत उक्त केन्द्रले बसन्ते मकैखेती प्रवर्द्धन र बसन्ते तरकारीखेती सम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो । 

केन्द्रका निमित्त प्रमुख गोविन्द सिजापतिका अनुसार सुदूरपश्चिम प्रदेश कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन नियमावली २०७९ अनुसार सो कार्यक्रम सञ्चालन गरिने छ । यसका लागि २० लाख बजेट छुट्याइएको छ । राना थारु समुदायका विपन्न वर्गका लागि सय प्रतिशत र अन्यका हकमा ५० प्रतिशत अनुदान रकम उपलब्ध गराइने छ ।

थारु समुदाय विपन्न वर्ग भएको प्रमाणपत्रसँगै अनुसूची-५ अनुसारको प्रस्तावसहितको निवेदन, खेती गरिने जग्गाको कागजपत्र, समूह र सहकारीको निर्णयको प्रतिलिपि पेस गर्नुपर्ने कार्यालय प्रमुख सिजापतिले बताउनुभयो । थारु समुदायलाई आर्थिकरुपले सबल बनाउनका लागि अनुदानका कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो । 

सो कार्यक्रमअन्तर्गत बसन्ते मकै र तरकारीको बीउ, मलखाद, कृषि औजार, यन्त्र, सिँचाइ र अन्य प्रविधिलगायत पनि अनुदान रकम खर्च गरिनेछ । प्राविधिक कर्मचारीले स्थलगत अनुगमन गरेपछि पेस गरिएको प्रतिवेदनका आधारमा अनुदान रकम उपलब्ध गराइने बताइएको छ । रासस