• २७ पुस २०८१, शनिबार

सहिदहरूको विवरण सच्याउने मन्त्री परिषद्को निर्णय

blog

मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकमा सहभागीहरु । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौँ, पुस २४ गते । नेपाल सरकार मन्त्री परिषदबाट विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरुको विवरण सच्याइने भएको छ । मंगलबार बसेको मन्त्री परिषद्को बैठकले विभिन्न मितिमा सहिद घोषणा भई विवरण फरक परेका सहिदहरूको विवरण सच्याउने, नेपाल राजपत्रमा प्रकाशन हुन छूट सहिदहरूको नाम प्रकाशन गर्ने र थप सहिद घोषणा गर्ने निर्णय गरेको हो । 

यस्तै बैठकले राष्ट्रिय विकास परिषदमा नेपाल सरकारबाट मनोनयन हुने विभिन्न जिल्ला समन्वय समिति, स्थानीय तह, विभिन्न निकायका पदाधिकारी र व्यक्तिहरू मध्येबाट २५ जना सदस्यहरू मनोनयन गर्ने निर्णय पनि गरेको छ । 


बैठकले नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले पेस गरेको राजीनामा स्वीकृत गर्ने र रिक्त अध्यक्ष पदमा नियुक्तिको लागि सिफारिस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा समिति गठन गर्ने तथा रिक्त पदमा दूरसञ्चार नियमावलीको नियम ३ ‘क’ बमोजिम प्राधिकरणका सदस्य नवराज अधिकारीलाई अर्को व्यवस्था नभएसम्मका लागि कार्यवाहक अध्यक्ष तोक्ने निर्णय गरेको छ । 

यस्तै बैठकले डेडिकेटेड र ट्रङ्क लाइनको महसुल सम्बन्धमा उठेका विषयहरूको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा उद्योग र ऊर्जा मन्त्रालयका सहसचिव रहेको समिति गठन गर्ने निर्णय गरेको छ । हाललाई उद्योगीहरूको काटिएको विद्युत लाइन खोल्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।