• १३ असोज २०८१, आइतबार

पाथीभरामा १८५ तोला सुन

blog

पाथीभरामा भक्तजनले चढाएको सुन । तस्बिर : चन्द्र पन्दाक ।

चन्द्र पन्दाक

ताप्लेजुङ, पुस २० गते । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा १८५ तोला बढी सुन सङ्कलन भएको छ । पाथीभरा क्षेत्र विकास समितिकाअनुसार हालसम्म उक्त परिमाणमा सुन सङ्कलन भएको हो ।

पाथीभरा दर्शनमा आएका भक्तजनले सो सुन चढाएका हुन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार हालसम्म कुल एक सय ८५ तोला ३८ लाल सुन पाथीभरामा सङ्कलन भएको छ । सङ्कलित सुनमध्ये ८६ तोला ९३ लाल सुद्ध अर्थात् रिफाइन गरिएको रहेको छ भने बाँकी ९८ तोला ४१ लाल रिफाइन नगरिएको सुन रहेको हाङ्बाङले जानकारी दिनुभयो ।

यस्तै हालसम्म रिफाइन नभएको चाँदी ९२ किलोग्राम ६५० ग्राम रहेको समितिका सदस्य एवम् सुनचाँदी व्यवस्थापन उपसमिति संयोजक शम्भुप्रसाद गौतमले जानकारी दिनुभयो। समितिले रिफाइन नभएको सुन र चाँदी शुक्रबारदेखि रिफाइन गर्न सुरु गरेको जनाएको छ । समितिकाअनुसार रिफाइनको काम केही दिन लाग्ने र रिफाइन गरिसकेपछि मात्र शुद्ध सुन र चाँदीको परिमाण आउने छ ।

यता सुन र चाँदी रिफाइन अर्थात् शुद्ध गरिसकेपछि लिलाम बिक्रीको प्रक्रिया सुरु गर्ने योजना रहेको समितिका कार्यकारी निर्देशक हाङ्बाङले जानकारी दिनुभयो । सुन र चाँदी लिलाम बिक्री गरेर प्राप्त हुने रकमलाई समितिको आम्दानीमा बाँधिने उहाँले बताउनुभयो । पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष अध्यक्ष रक्की थेबेका अनुसार भक्तजनले पाथीभरामा नगदका साथै सुन, चाँदी र अन्य धातुहरूको गरगहना तथा सामग्री चढाउँदै आएका छन् । 


पाथीभरामा भक्तजनले चढाएको चाँदीका सामग्री । तस्बिर : चन्द्र पन्दाक ।