• २० वैशाख २०८१, बिहिबार

धनुषाको संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी

blog

धनुषाधामस्थित संरक्षित वनमा चिसो छल्न आएका हिमाली चराचुरुङ्गी । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केवर, पुस २० गते । धनुषाको धनुषाधामस्थित संरक्षित वन क्षेत्रमा हिमाली चराचुरुङ्गी आउनेक्रम सुरु भएको छ । चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको संरक्षित वन क्षेत्रमा जाडो छल्न हिमाली क्षेत्रका चरा आउन थालेका हुन् । 

मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष एवम् चराचुरुङ्गी संरक्षणका क्षेत्रमा कार्य गर्दै आउनुभएका देवनारायण मण्डलले पुस महिना लागेसँगै हिमाली चराचुरुङ्गीको आउने क्रम सुरु भएको बताउनुभयो । चराचुरुङ्गीको आउने क्रम माघ दोस्रो/तेस्रो सातासम्म रहने उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाँचदेखि आठ प्रजातिका चराचुरुङ्गी आएको बताउँदै उहाँले भन्नुभयो, ‘वन क्षेत्रमा चराचुरुङ्गीको आहारा, सुरक्षित वासस्थान, आठ बिघा क्षेत्रफलमा फैलिएको ताल र अरू थुप्रै सानाठुला सिमसार क्षेत्र भएकाले सुरक्षित ठाउँ खोज्दै चराचुरुङ्गी यहाँ बस्न आउने गरेका छन् ।

चिसो याममा बर्सेनि हिमाली चराचुरुङ्गी आउने गरेका छन् । यहाँ आउने चराचुरुङ्गीमध्ये जलाशयमा बस्ने चरा बढी आउने गरेको उहाँको भनाइ छ । कालो गरुड, सेतो गरुड, ग्रिन स्याँक, खोया हाँसलगायतका चरा आएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार धनुषाधामस्थित संरक्षित वन क्षेत्रका साथै कमला नदी र जनकपुरधाममा समेत हिमाली चरा आउने गरेको छ । जनकपुरधाममा थुप्रै जलाशय भएकाले तथा कमला नदीमा चौबिस घण्टा पानी बगिरहने र जङ्गल क्षेत्रसमेत भएका हिमाली चराचुरुङ्गी यहाँ आउने गरेका हुन् । 

चराचुरुङ्गी संरक्षण तथा उद्धार कार्य गर्दै आएका गणेश साहले हिमाली चराहरू अहिले आउने क्रममै रहेको बताउँदै उहाँले हिमाली क्षेत्रमा चिसो बढेपछि तराई झर्ने चराचुरुङ्गीको सङ्ख्या अझै बढ्ने बताउनुभयो । ‘यता आउने चराहरू फागुन महिनामा फर्कन्छ । त्यसअवधिमा बच्चा जन्माउने, हुर्काउने र फर्किने बेला बच्चालाई सँगै लैजाने गरेको उहाँले जानकारी दिनुभयो । 

नेपालमा पाइने ८८८ प्रजातिका चरामध्ये चराचुरुङ्गीका लागि सुरक्षित वासस्थान मानिएको यस वन क्षेत्रमा २८२ प्रजातिका चरा रहेको गणना गरिएको साहले बताउनुभयो।