नेपाली कांग्रेसको शिक्षण शिविर २०३८ सालमा सूर्यभक्त अधिकारीको प्राङ्गण गैँडाकोट, नवलपरासीमा भएको थियो । शिविरमा कांग्रेसका नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पनि उपस्थिति थियो । शिविरमा पुँजीवादी प्रजातान्त्रिक र साम्यवादी माक्र्सवादी व्यवस्था र तिनका सिद्धान्तमा अन्तर्निहित त्रुटि औँल्याउँदै समाजवादीहरूले समाज निर्माणका लागि अवलम्बन गर्नुपर्ने सिद्धान्तका सम्बन्धमा व्याख्या विश्लेषणसहित पङ्क्तिकारद्वारा प्रस्तुत विचारको सारांश प्रस्तुत गरिएको थियो ।
प्रजातान्त्रिक व्यवस्था व्यक्तिवादका अवसरका कारण पुँजीवाद र पुँजीपति बुर्जुवा वर्गको विकासको माध्यम बन्नाले पुँजीवादी प्रजातान्त्रिक व्यवस्थाका रूपमा रूपान्तरण भएको छ । माक्र्सवाद वैज्ञानिक सिद्धान्तमा आधारित छ । यो मानव विज्ञान र मनोविज्ञान विपरीत छ । यसले मानव क्रिया र मानवमा अन्तर्निहित आध्यात्मिक सत्तालाई नकार्छ । यो सिद्धान्त वैज्ञानिक हो । यसमा कुनै शङ्का छैन तर यो सिद्धान्त उपयोगिता र अनुपयोगिता निरपेक्ष छ । मानव अथवा मानव प्रकृति सङ्ग्रहमा निरपेक्ष छैन । मन पनि निरपेक्ष हुन सक्ने कुरा भएन । अर्काे कुरा समाजवाद समाजसँग सम्बन्धित छ । यो प्रत्येक व्यक्तिबिचको आर्थिक, राजनीतिक र सामाजिक सम्बन्धसापेक्ष सन्तुलित र गतिशील बन्न सके मात्र कार्यान्वयन हुन सक्छ ।
अतः द्वन्द्वको निरपेक्ष सिद्धान्तमा आधारित साम्यवाद र साम्यवादी व्यवस्थालाई वैज्ञानिक समाजवादको संज्ञा दिइन्छ । यो जडसूत्रवादी भएकाले सिद्धान्त वैज्ञानिक हुन्छ तर समाजवादी होइन भन्ने असन्तुलित समाजको विकास र गतिशीलताका कारण यसको असफलताले प्रमाणित गरेको छ । यी दुवै सिद्धान्त र व्यवस्था मानवोचित समाज सिर्जना गर्न असफल भएकाले प्रजातान्त्रिक समाजवाद र युरोकम्युनिस्टको नामले नयाँ विचारहरूको पनि जन्म भएको छ । यी सिद्धान्त र सिद्धान्त निर्देशित व्यवस्था कार्यान्वयनद्वारा सिद्ध यस ऐतिहासिक सन्दर्भ र मानव विज्ञान, मनोविज्ञान उपयोगिता निरपेक्ष विज्ञान होइन । सापेक्ष सन्तुलित र गतिशील समाज निर्माण गर्न सक्ने सिद्धान्त र व्यवस्था सन्तुलन र सन्तुलनको सिद्धान्तमा आधारित हुन सक्छ ।
कांग्रेसले जन्मकालदेखि नै सिद्धान्त र उद्देश्यका रूपमा अगाडि सारेको प्रजातान्त्रिक समाजवाद स्वतन्त्र र समाजवाद सिद्धान्त उद्देश्य भएकाले समाजवादी हो । यसको कार्यान्वयन सन्तुलनको सिद्धान्तमा आधारित व्यवस्थाबाट सम्भव छ । अतः कांग्रेस जन्मकालदेखि नै सिद्धान्त र उद्देश्यका रूपमा अगाडि सारेको यस बाटोबाट नै दृढताका साथ अगाडि बढ्नु पर्छ ।
गैँडाकोटको त्यो शिविरमा यी विचार प्रस्तुत गर्दै कांग्रेस यो बाटोबाट नै अगाडि बढ्नुपर्ने अनुरोधपछि म सभास्थलभन्दा बाहिर साथीहरूसँग कुरा गरिहेको थिएँ । कृष्णप्रसाद भट्टराई त्यस समयमा कांग्रेसको सभापति हुनुहुन्थ्यो । उहाँ मञ्चबाट त्यहाँ आई पिठिउँमा हात राख्दै भन्नुभएको थियो, “ढुण्डीराजजी तपाईंका समयसापेक्ष वैज्ञानिक दृष्टिकोणले पार्टीलाई गन्तव्यतर्फ बढ्न प्रकाश दिएको छ । यसका लागि तपाईंलाई धन्यवाद छ ।” समापन भाषणमा पनि यस सम्बन्धमा लामो चर्चा उहाँले गर्नुभएको थियो । ती शब्द आज पनि प्रेरणाका शक्तिका रूपमा मेरो कानमा गुञ्जिरहेका छन् ।
कांग्रेस समाजवादी बाटोबाट नै अगाडि बढ्नु पर्छ भन्ने आमधारणा हो । समाजवाद सम्बन्धका अवधारणा पङ्क्तिकारले कांग्रेसको महाधिवेशन, महासमिति, कार्यसमिति, लेखरचना, अन्तर्वार्ता, गोष्ठी, सभा, प्रशिक्षण र पुस्तकको माध्यमले प्रस्तुत गर्दै आएको सबैलाई विदितै छ । आज पनि कांग्रेसका नेता र कार्यकर्तासँग मेरो भनाइ छ, ‘इतिहासले नेपाली कांग्रेसलाई मानवताको रक्षा र मुलुकप्रतिको जिम्मेवारी सुम्पिएको छ । पार्टीमा जनताप्रति चासो नभएकाहरूको बाहुल्य, अपरिपक्व र स्वार्थी सिद्धान्त हाबी भएकाले मुलुक र जनताप्रतिको त्यो दायित्व पूरा गर्नबाट कांग्रेस चुकेको छ । आज नेपाली कांग्रेसबाट हुने गरेका काम अपरिपक्व र स्वार्थमा आधारित हुन पुगेका छन् । मलाई पार्टी सञ्चालन गर्ने/गराउनेप्रति कुनै कुनै आग्रह/पूर्वाग्रह छैन । निष्ठावान् कार्यकर्ताले रगतपसिना बगाएर बनेको पार्टी जिम्मेवारीबाट पन्छिएको भान हुँदा धेरै दुःख लागेको मात्रै हो । जति आरोपप्रत्यारोप गरे पनि आमजनताको आशा र भरोसाको केन्द्र कांग्रेस हो, अझै बन्नु पर्छ । मेरो चिन्ता पार्टी कमजोर हुनुमा छ ।
अतः नेपाली कांग्रेस, कांग्रेस रहन सकेको छैन । कांग्रेस भनेको ‘मानवीय हितको सिद्धान्त र उद्देश्यलाई अगाडि बढाउने ध्येयले बनेको पार्टी हो । आवश्यक मूल्य र मान्यतामा आधारित त्याग, तपस्या, सङ्घर्ष र समर्पण यसका प्रतीक हुन् । प्रजातन्त्र स्थापनाका लागि ज्यानको आहुति दिने सहिद, नेता तथा कार्यकर्ता र यिनले निर्माण गरेको इतिहास तथा यो इतिहासलाई अक्षुण्ण राख्ने र अगाडि बढाउने नेता र कार्यकर्ताको सङ्गठन हो कांग्रेस ।’ के आजको नेपाली कांग्रेसको कार्यशैली माथि उल्लिखित मूल्य र मान्यतामा आधारित छन् त ? यो प्रश्न आमरूपमा उठेको छ । आजको कांग्रेसलाई हिजोको कांग्रेसमा रूपान्तरण गर्न सकिँदैन र ? हो, भोलिको कांग्रेस पनि बनाउन सकिन्छ, आमजनताको मनमस्तिष्कमा बस्ने खालको । भोलिको गतिशील कांग्रेस सिद्ध गर्न बिपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र कृष्णप्रसाद भट्टराई जस्ता देश र जनताप्रति समर्पित महान् देशभक्तका कर्म र विचारलाई अनुसरण गर्न सक्नु पर्छ ।
मेलमिलाप दिवसका अवसरमा यही पुस १६ गते कांग्रेसद्वारा आयोजित समारोहमा उपस्थित प्रधानमन्त्रीलगायत वक्ताको धारणाले पनि बिपीको मेलमिलाप सिद्धान्त उत्तिकै सान्दर्भिक रहेको स्पष्ट हुन्छ । यहाँ उठाउन खोजिएको मेलमिलापको सिद्धान्त मात्र होइन, बिपीको राष्ट्रवादी, जनतावादी र प्रजातन्त्रवादी सिद्धान्तको सबैबाट मुक्तकण्ठले भएको प्रशंसालाई कांग्रेसले पुँजीकृत गर्नुपर्ने होइन र ? पटक पटक स्थापित व्यवस्थाको अनुभव र अध्ययनद्वारा परिमार्जित र विकसित, परीक्षण र प्रयोगमा वैज्ञानिक समाजको सिर्जना गर्न सक्ने वैज्ञानिक सिद्धान्त र त्यो बाटो हिँड्न सक्ने मुलुक र जनताको चासो नै आफ्नो चासो भएका बिपीका विचार सबैका लागि पे्ररणाका स्रोत बनिरहेका छन् । त्यसैले मुलुक र जनताको उज्ज्वल भविष्यको स्वप्नबाट सदा जागृत, मानवीय न्यायको भावना र कर्मद्वारा अभिप्रेरित, आत्मद्वारा सञ्चालित नेता र कार्यकर्ताको नेपाली कांग्रेस निर्माण गर्न आवश्यक छ ।
मेरो विचार भनौँ वा चाहना र भावना अरू केही होइन । कसैप्रतिको दोष र विरोध होइन । मेरो चाहना र भावना हो, नेपाली कांग्रेसले अवलम्बन गरेको सिद्धान्त वैज्ञानिक छ, समय सापेक्ष छ, अझ नेपाल जस्ता मुलुकका लागि व्यावहारिक छ तर त्यसका लागि पुनव्र्याख्या र विश्लेषणको खाँचो छ । तदनुरूपका नीति, कार्यव्रmम र कार्यान्वयनको आवश्यकता छ । साम्यवादको असफलता र वैज्ञानिक विकासले गरेका विश्व सन्दर्भका भूमण्डलीकरण, उदार बजारमुखी अर्थतन्त्र र निजीकरण जस्ता विषय यसले आत्मसात् गर्न सक्छ ।
मुलुकको उत्थान विकास र समाजवादी समाजको सिर्जना गर्न सक्छ । अझ कांग्रेस समाजवादी सिद्धान्त र त्यसले निर्देशित गरेको बाटोबाट अर्काे बाटोमा लाग्न हुँदैन । यही बाटोबाट अगाडि बढ्नु पर्छ अन्यथा मुलुक र जनताको अहित हुन्छ भन्ने हो । वास्तवमा यी विचार, चाहना र भावना मेरा नभएर कांग्रेसको इतिहास र सिद्धान्तमा आधारित कांग्रेसका चाहना र भावना हुन् । कांग्रेस यो बाटो हिँडन् नसक्दा कमजोर भएको हो । यसले मुलुकको उन्नति र विकास मात्र रोकिएको छैन गरिबी पनि बढिरहेको छ । हिंसा, हत्या, आतङ्क, भ्रष्टाचार, अन्याय र अत्याचार बढेको छ । त्यसैले कांग्रेसका आस्थावान् र निष्ठावान् कार्यकता र कांग्रेसको छहारीमा बस्न रुचाउने जनता अन्योलको अवस्थामा पुगेका छन् । मुलुकको भविष्य अनिश्चित र अन्योल हुन पुगेको छ । पार्टीले नयाँ कार्यदिशासहित यसको सम्बोधन गर्न ढिला गर्नु हुँदैन ।
विश्वव्यापी चलेको पुँजीवादी र साम्यवादी अर्थ–राजनीति एकअर्कामा विकल्प हुन सक्छन् । समाजवादी अर्थ व्यवस्थालाई नेपालका राजनीतिक तथा दलका नेताले या बुझ्न सकेनन् या बुझेर पनि त्यो बाटो हिँड्न सकेनन् । अझै पनि केही बिग्रिएको छैन, बिपीको मेलमिलापलाई ठुलो पुँजी मान्न तयार हुनेहरूले त्यो बाटोमा हिँड्न किन सक्दैनन् ? कांग्रेसले यसको उत्तर खोजेर अघि बढ्नु पर्छ ।