काठमाडौं, पुस १८ गते । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतका विदेशमन्त्री डा. एस जयशङ्कर दुई दिने भ्रमणका लागि बिहीबार काठमाडौँ आउँदै हुनुहुन्छ ।
नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा भाग लिन भारतीय विदेशमन्त्री जयशङ्कर नेपाल भ्रमणमा आउनलाग्नु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिनुभयो । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् ।
भ्रमणका क्रममा विदेशमन्त्री जयशङ्करले यहाँको उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गर्नुहुनेछ । नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबिच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको हो । रासस