• १३ साउन २०८१, आइतबार

मदानेमा कृषि प्रदर्शनी मेला

blog

मदानेमा कृषि प्रदर्शनी मेलाको अवलोकन गर्दै सर्वसाधारण । तस्बिर : रमेश विश्वकर्मा

रमेश विश्वकर्मा

गुल्मी, पुस १७ गते। गुल्मीको मदाने गाउँपालिकामा कृषि प्रदर्शनी मेला सम्पन्न भएको छ। आर्थिक वर्ष २०८०/०८१ स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको वडा नम्बर–६ पुर्कोटदहस्थित कृषि हाट बजारमा कृषि तथा पशुपन्क्षी प्रदर्शन गरिएको प्रमुख प्रशासकीय अधिकृत शालिकराम पन्थीले जानकारी दिनुभयो।

प्रदर्शनी मेलामा ३६० जना कृषकले आफ्नो उत्पादनलाई दर्ता गराएर प्रदर्शनमा राखेका छन्।  आगामी दिनमा यस्तै कार्यक्रम वडा तहमा पनि आयोजना गर्न जरुरी रहेको कृषि सञ्जालका अध्यक्ष फर्सुराम भुसालले बताउनुभयो। कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नवराज भण्डारीले यहाँ उत्पादित साग तथा मुलाहरू निकै स्वादिलो रहेको भन्दै उत्पादित कृषिजन्य वस्तुलाई लेबलिङ प्याकेजिङ्ग गरेर बजार व्यवस्थापन गर्नुपर्ने बताउनुभयो। 

कृषकलाई उत्पादनमा प्रोत्साहन गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, रैथाने बाली वस्तुको प्रवर्द्धन गर्नुका साथै कृषकलाई प्रविधिको बारेमा जानकारी गराउने प्रमुख उद्देश्यसहित कृषकका अनुभव आदानप्रदान र स्थानीय उत्पादित बाली वस्तुको प्रवर्द्धन तथा प्रचारप्रसारका लागि यो मेलाको आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सरिता खड्काले बताउनुभयो।

गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुँवरले उत्पादित बाली तथा वस्तुलाई प्रदर्शन गर्ने कृषकलाई धन्यवाद दिँदै यस्ता कार्यक्रमले कृषि उत्पादनमा विशेष टेवा पुर्‍याउने बताउनुभयो।

त्यस्तै, विभिन्न १५ विधाका कृषि तथा पशुपन्क्षी प्रदर्शन गरिएको थियो। खाद्यान्न बाली, तरकारी बाली समूह, नगदे बाली, सुन्तला बाली, फलफूल, माउबाख्रा, बोका खसी, लोकल कुखुरा, हाँस, टर्की, कालिज, खरायो, गाई, भैँसी, राँगा, मौरीलगायतका बाली वस्तुको मूल्याङ्कनको आधारमा पहिलो, दोस्रो र तेस्रो छनौट गरेर ५५ जना कृषकलाई सम्मान गरिएको कृषि शाखा प्रमुख हुमबहादुर थापाले जानकारी दिनुभयो।

जसमा प्रथम हुनुभएका १९ जनालाई जनही दुई हजार पाँच सय रुपियाँ, दोस्रो हुने १७ जनालाई जनही दुई हजार रुपियाँ र तेस्रो हुने १९ जनालाई जनही एक हजार पाँच सय रुपियाँसहित सम्मान गरिएको उहाँले बताउनुभयो।