काठमाडौँ, पुस १५ गते । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो ।
जितको लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा ८७ रन बनाएको थियो । कोशीको लागि अप्सरी बेगमले ३१ रन बनाउनुभयो । रुविना क्षेत्रीले २२ र लखिता राजवंशीले १४ रन बनाउनुभयो । बलिङमा एपीएफकी रेखा रावल, सोनु खड्का, सुमन विष्ट र सीता रानामगरले एक एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको एपीएफले निर्धारित २० ओभरमा दुई विकेटको क्षतिमा एक सय ३९ रन बनाएको थियो । एपीएफको जितमा इन्दु बर्माले अविजित ५६ रन बनाउनुभयो ।
सीता रानामगरले ४५, रोमा थापाले अविजित १८ र ज्योति पाण्डेले १२ रन बनाउनुभयो । बलिङमा कोशीका रुविना क्षेत्रीले एक विकेट लिनुभयो । अब कोशीले एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर सोमबार खेल्नेछ ।
यस्तै कीर्तिपुरमै भएको अर्को खेलमा बागमती प्रदेशलाई नौ विकेटले हराउँदै साविक विजेता सुदूरपश्चिम प्रदेश दोस्रो क्वालिफायरमा पुगेको छ । फाइनलमा स्थान बनाउन सुदूरपश्चिमले कोशी प्रदेशसँग खेल्नेछ ।
जितको लागि एक सय रनको लक्ष्य पछ्याएको सुदूरपश्चिकले १४.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले १९ ओभरमा सबै विकेटको क्षतिमा ९९ रन बनाएको थियो । दोस्रो क्वालिफायर सोमबार र फाइनल खेल बुधबार हुनेछ ।