रजनी योगी
सुर्खेत, असार १० गते । सुर्खेतमा निर्माणाधीन दलित सङ्ग्रहालय सङ्घीय सरकारको उपेक्षामा परेको छ । अर्थ मन्त्रालयबाट बजेट निकासी नहुँदा योजनाको रकम भुक्तानी हुन सकेको छैन ।
पूर्वी सुर्खेतमा निर्माण भइरहेको दलित सङ्ग्रहालयको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको भए पनि भुक्तानी नभएको हो । सङ्घीय सरकारले चालु आर्थिक वर्षमा बजेट विनियोजन नगरेपछि भवन निर्माणको काम सकिन लाग्दासम्म पनि भुक्तानी नभएको भेरीगङ्गा नगरपालिकाले जनाएको छ । पटक पटक बजेट माग गरिए पनि बजेट प्राप्त भएको छैन । यसअघिका वर्षमा पनि न्यून बजेट विनियोजन हुने गरेकोमा यो वर्ष बजेट नै विनियोजन भएको छैन ।
दलित समुदायको संस्कृति तथा पहिचान जोगाउन सङ्ग्रहालय निर्माण थालिएको थियो । पहिचान संरक्षणसँगै ग्रामीण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरकारले दलित सङ्ग्रहालय निर्माण थालेको हो । अहिले बजेट नहुँदा भवन निर्माणको काम अघि बढाउन नसकिएको नगरपालिकाले जनाएको छ । भवन निर्माणको काम भने अन्तिम चरणमा पुगेको नगरपालिकाका इन्जिनियर सिद्धान्त पाण्डेले बताउनुभयो । निर्माण कम्पनीले भुक्तानीका लागि फाइल पेस गरेको लामो समय भइसक्दासमेत भुक्तानी दिन सकिएको छैन । हालसम्म भवन निर्माणको ९० प्रतिशत काम सकिएको छ ।
चालु आवमा सरकारले बजेट विनियोजन नगरेको तथा यसअघि गरेको कामको समेत भुक्तानी दिन नसक्दा काम अघि बढाउन नसकिएको पाण्डेले बताउनुभयो । भवन निर्माणको बाँकी काम अघि बढाउन तथा भुक्तानीका लागि बजेट माग गरिएको उहाँको भनाइ छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बजेट मागको फाइल पटक पटक पेस गरिएको उहाँले जानकारी दिनुभयो । निर्माण कम्पनीले हालसम्म साढे दुई करोड बराबरको काम गरिसकेको छ । अहिलेसम्म करिब एक करोड मात्र भुक्तानी पाएको छ ।
पूर्वी सुर्खेतको भेरीगङ्गा नगरपालिका–८ मा सङ्ग्रहालयको भवन निर्माणको काम थालिएको हो । दलित समुदायको कला, संस्कृति, परम्परागत रीतिरिवाज झल्काउने उद्देश्यले सङ्ग्रहालय निर्माणको काम थालिएको भेरीगङ्गा नगरपालिकाले जनाएको छ ।