रामेछाप समाचारदाता
रामेछाप, असार १० गते । रामेछापमा निर्माण सम्पन्न नहुँदै पक्की पुल भाँचिएको छ । जिल्ला सदरमुकाम मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोशीमाथि निर्माणाधीन पुल भाँचिएको हो ।
यो पुल निर्माणका क्रममा गत वैशाख २६ गते एउटा स्ल्याब भाँचिएको थियो । सो भाँचिएको स्ल्याब निर्माण कम्पनीले पुनर्निर्माण गरिरहेको थियो तर आइतबार बिहान सोही भाँचिएको स्ल्याब पूर्ण रूपमा भत्किएर तल झरेको मन्थली नगरपालिका–६ का गोपाल माझीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिला भाँचिएको स्ल्याब फेरि निर्माण भइरहेको थियो । आज एक्कासि स्ल्याब भाँचिएर तल झरेको छ ।” पहिला भाँचिएको भनिएको स्ल्याब पूर्ण रूपमा खसेको मन्थली नगरपालिका पूर्वाधार विकास तथा अनुगमन शाखाका इन्जिनियर डिल्लीबहादुर अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले भत्किएको पुलको स्ल्याब पहिल्यै भाँचिएको थियो । पहिले भाँचिएको स्ल्याब आज पूर्ण रूपमा भाँचिएको छ । अब पुनर्निर्माण गर्नुपर्ने अवस्था बनेको छ ।”
यो पुल २०८२ भदौ अन्तिमसम्म म्याद भए पनि यही असारमा निर्माण सम्पन्न हुने चर्चा भएको थियो । कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको पुल भत्किएको हो । आव २०७८/७८ मा सडक विभागको पुल शाखाले ठेक्का लगाएको उक्त पुल ‘डिजाइन एन्ड बिल्ड’ प्रकृतिको हो । कुल २३० मिटर लामो पुल ११ मिटर चौडामा निर्माण भइरहेको थियो ।
सरकारले पुल निर्माणका लागि भ्याट र पिएस आइटमबाहेक २२ करोड ५५ लाख ४० हजारमा ठेक्का सम्झौता गरेको थियो । उक्त रकममध्ये करिब ६० प्रतिशतभन्दा बढी रकम निर्माण व्यवसायीले भुक्तानी लिइसकेको छ । यो पुल बनेपछि मन्थली–खुर्कोट सडक हुँदै छोटो दुरीमा मन्थली नगरपालिका–७, भटौलीसहित खाँडादेवी, दोरम्बा शैलुङ गाउँपालिकाका विभिन्न वडा पुग्न सहज हुने विश्वास लिइएको थियो ।