• ९ मंसिर २०८१, आइतबार

राष्ट्रिय सभा निर्वाचन प्रक्रिया

blog

नेपालको संविधानको भाग ८ धारा ८३ मा सङ्घीय व्यवस्थापिकासम्बन्धी व्यवस्था छ । जस अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदनसहितको सङ्घीय व्यवस्थापिका हुने र जसलाई सङ्घीय संसद् भनिन्छ । गत वर्ष सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन, २०७९ बाट प्रतिनिधि सभा गठन भई सो सभाले आफ्नो कार्य गरिरहेको छ । प्रतिनिधि सभाको अवधि संविधानबमोजिम अगावै विघटन भएकोमा बाहेक पाँच वर्षको हुने छ भने राष्ट्रिय सभा एक स्थायी सदन हुने संवैधानिक व्यवस्था छ । राष्ट्रिय सभालाई माथिल्लो सदन पनि भनिन्छ । 

राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि प्रदेश सभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख मतदाता रहेको निर्वाचक मण्डल रहन्छ । निर्वाचक मण्डल भन्नाले निर्वाचित जनप्रतिनिधि नै मतदाता भएर कुनै प्रतिनिधिको निर्वाचन गर्न मतदाताको रूपमा तोकिएको समूहलाई बुझिन्छ । निर्वाचक मण्डलमार्फत हुने निर्वाचनमा उम्मेदवारलाई सबै बालिग मतदाताले प्रत्यक्ष रूपमा आफैँ मतदान गर्न पाउँदैनन् । आफूले मत दिएर निर्वाचक मण्डलमा पठाएको व्यक्तिले दिएको मत नै आफ्नो मत हो भन्ने मतदाताले सम्झिनु पर्ने हुन्छ । नेपालको सन्दर्भमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन र राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचक मण्डल रहने व्यवस्था छ । 

सङ्घीय कानुनबमोजिम प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मत भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन जना महिला, एक जना दलित र एक जना अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक हित आठ जना गरी राष्ट्रिय सभामा ५६ जना सदस्य निर्वाचित हुने व्यवस्था संविधानको संविधानको धारा ८६ (क) मा रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ अनुसार अल्पसङ्ख्यक समुदाय भन्नाले निर्वाचन हुनुभन्दा तत्काल अगाडि भएको राष्ट्रिय जनगणनाको आधारमा संविधानको धारा ३०६ को उपधारा (१) को खण्ड (क) को अधीनमा रही नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमका जातीय, भाषिक र धार्मिक समूह पर्छन् । 

राष्ट्रिय जनगणना २०७८ को नतिजाबमोजिम आगामी माघ ११ गते हुन राष्ट्रिय सभा सदस्यको निर्वाचनको मतदाताका लागि नयाँ मतभार कायम भएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयको सिफारिससमेत आधारमा राष्ट्रिय सभा सदस्य पदका लागि मतदाता रहेका प्रदेश सभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुने गरी निर्वाचन आयोगबाट निर्णय गरिएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा कुल मतभार ५७ हजार ५५९ छ । प्रदेश सभा सदस्यको कुल मतभार २९ हजार ९७ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको कुल मतभार २८ हजार ४६२ हुने छ । यसअघि राष्ट्रिय सभा सदस्य निर्वाचनमा उक्त मतभार प्रदेश सभा सदस्यका लागि ४८ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १८ रहेको थियो ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले दुई हजार ४७ जना मतदाताको नामावली स्वीकृत गरेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्य, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । यो व्यवस्थाबमोजिम प्रदेश सभा सदस्य ५४९ जना छन् । यसै गरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४९८ जना मतदाता रहेका छन् । स्वीकृत नामावलीमा प्रदेश सभा सदस्यतर्फको कुल मतदाता ५५० मध्ये निधन भएका प्रदेश सभा सदस्य एक जनाको नाम हटाइ ५४९ जना कायम गरिएको छ ।

यसै गरी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखतर्फको कुल मतदाता एक हजार ५०६ जनामध्ये निधन भएका गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, नगरपालिका उपप्रमुख एक र निलम्बनमा परेका गाउँपालिकाका अध्यक्ष एक, नगरपालिकाका प्रमुख चार गरी जना आठ जनाको नाम हटाइ कुल एक हजार ४९८ जनाको नामावली स्वीकृत गरिएको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र १४ मतदान केन्द्र तोकेको छ । आयोगले कोशी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर, मोरङ, मधेश प्रदेशका लागि महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुरधाम, धनुषा, बागमती प्रदेशका लागि भुटनदेवी मावि, प्राविधिक शिक्षालय, हेटाैँडा, गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, कास्की, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्रको भवन, घोराही, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीलाई मतदान स्थल तोकेको छ । तोकिएका मतदानस्थलमा प्रदेश सभाका सदस्यका लागि मतदान गर्न तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखले मतदान गर्नका लागि बेग्लाबेग्लै मतदान केन्द्र रहने छन् ।

निर्वाचन कार्यक्रमबमोजिम मिति २०८० पुस २० गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशित हुने छ । प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम समावेश हुन छुटेको भए नाम समावेश गर्न, नाम समावेश भएको व्यक्तिको नाम, थर, उमेर, पद आदि विवरण सच्याउनु पर्ने भए सच्याउन र मतदाताको विरोधमा उजुरी दिनुपर्ने भए सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिन सकिने छ । त्यसपछि पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

निर्वाचक मण्डलबाट निर्वाचित ५६ जना नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा एक जना महिलासहित तीन जना गरी कुल ५९ जना राष्ट्रिय सभामा सदस्य हुने छन् । राष्ट्रिय सभाका सदस्यको पदावधि छ वर्षको हुने छ । राष्ट्रिय सभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने छ । राष्ट्रिय सभाको रिक्त हुन आउने स्थानको पूर्ति त्यस्तो स्थान रिक्त गर्ने सदस्यको निर्वाचन वा मनोनयन जुन तरिकाले भएको थियो सोही तरिकाले हुन्छ । नेपालको संविधान, २०७२ प्रारम्भ भएपछि पहिलो पटक राष्ट्रिय सभा सदस्यको पदावधि कायम गर्दा गोला प्रथाद्वारा एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्षको हुने गरी पदावधि कायम गरिएको थियो । 

राष्ट्रिय सभाको सदस्यको पदावधि छ वर्षको हुने भए पनि एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने हुँदा राष्ट्रिय सभा सदस्यका लागि प्रत्येक दुई वर्षमा निर्वाचन हुन्छ । राष्ट्रिय सभामा निर्वाचित कुनै सदस्यको पदावधि छ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले निजको पद रिक्त भएमा रिक्त भएको पैँतीस दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले त्यस्तो रिक्त सदस्यको पद बाँकी अवधिका लागि उपनिर्वाचनद्वारा पूर्ति गर्ने व्यवस्था छ । यस्तो उपनिर्वाचन गर्नुपर्ने अवस्थामा जुन समूह र तरिकाबाट निर्वाचित भएको सदस्यको पद रिक्त भएको हो सोही समूह र तरिकाबाट मतदाताले दिने एक मतका आधारमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार निर्वाचित हुने व्यवस्था छ । 

माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि निर्वाचन आयोगले दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गरेको छ । दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न र चिह्नको व्रmम पनि निर्धारण गरिएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी र नेपाल समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि आयोगमा दल दर्ता गराएका छन् । फागुन २० गते राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि सकिँदै छ । फागुन २० गते पदावधि सकिनेमा नेकपा एमालेका आठ, नेपाली कांग्रेसका चार माओवादी केन्द्रका तीन, नेकपा एकीकृत समाजवादीका दुई, जनता समाजवादी पार्टीका एक र राष्ट्रपतिद्वारा मनोनित दुई जना छन् ।

यसअघिको राष्ट्रिय सभा सदस्य निर्वाचन 

नेपालको संविधान र राष्ट्रिय सभा सदस्य निर्वाचन अध्यादेश, २०७४ को प्रावधानबमोजिम विसं २०७४ माघ २४ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन सम्पन्न भएको थियो । यो निर्वाचन पहिलो हुने निर्वाचन प्रणाली र एकल सङ्व्रmमणीय मत निर्वाचन प्रणाली अनुसार भएको थियो । यस निर्वाचन प्रयोजनका लागि २१ राजनीतिक दलले आयोगमा दल दर्ता गराएका थिए भने सात वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । राष्ट्रिय सभा सदस्यका लागि कुल ७६ जना उम्मेदवार रहेका थिए । निर्वाचनमा भाग लिएका दलमध्ये पाँच वटा दलको राष्ट्रिय सभामा प्रतिनिधित्व रहेको थियो । यो गणतन्त्र स्थापनापछिको पहिलो राष्ट्रिय सभा सदस्य निर्वाचन थियो । 

  

Author

डा. जानकीकुमारी तुलाधर