ढकमक्क फुलेका छौ स्मृतिको बाटिकाभरि
कविता काव्यका छर्दै बास्ना मीठा थरीथरै
छटा प्रकृतिका भित्र उधिन्छौ चेतको जिमी
स्रष्टा सन्ततिका माझ झन्झन् लाग्छौ नयाँ तिमी
अन्नपूर्ण हिमालैमा झुलुक्क घाम झुल्किँदा
तलको अर्चले गाउँ धन्य भो तिमी जन्मिँदा
सेतीका छालमा कैले माछापुच्छ«े हिमालमा
खुल्यो हो ज्याति आँखाको हेर्दै बैदाम तालमा
पढौँ पढिरहौँ लाग्ने सामथ्र्य पङ्क्ति पङ्क्तिमा
सन्देश दर्बिला मिल्छन् कतै चुर्लम्म भक्तिमा
नीति दर्शन घोलेर अनेकौँ उपमा भरी
वर्षिन्छ काव्यको धारा झर्ना झैँ गरी छर्छरी
ज्ञानविज्ञानका वार्ता सत्यका कलिका कतै
ऋतुका चव्रmमा घुम्छन् दृश्य नौला जताततै
तपस्वी तरुनो वृक्ष बनाई गुरुगौरव
ज्ञानरस्मि फिँजाएर देखायौ कविपौरख
कुँदी अक्षरका दाना मिलाई शब्द चाडमा
कसिला अर्थका भारी भिराएपछि आडमा
टल्कायौ वाक्यविन्यास पढ्दैमा लठ्ठिने गरी
नसादार भए काव्य लामा छोटा सबैथरी
सेतीवगरको काँस फुलेझैँ ढकमक्क भै
पैmलाई चेतनादीप चम्कियौ झलमल्ल भै
कलाकौशल टल्काई शब्दार्थ पद वाक्यमा
ज्ञानगङ्गा बगाएर बन्यौ अमर धर्तीमा ।