• २० असोज २०८१, आइतबार

आठौँ देवदह महोत्सवको तयारी

blog

मेलाबारे जानकारी दिन देवदहमा आयोजित पत्रकार सम्मेलन । तस्बिर : कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, पुस ११ गते । रुपन्देहीको देवदहमा आठौँ देवदह महोत्सव हुने भएको छ । माघ २५ गतेदेखि आठौँ राष्ट्रिय देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०८० सुरु भई फाल्गुन ८ गतेसम्म चल्नेछ ।

देवदह–९ स्थित देवदह मण्डपमा महोत्सव सञ्चालन हुने आयोजक संस्था देवदह उद्योग वाणिज्य सङ्घले जनाएको छ । बुधबार देवदहमा पत्रकार सम्मेलन गर्दै देवदह उद्योग वाणिज्य सङ्घले महोत्सवको आयोजना र यसको तयारीबारे जानकारी गराएको हो । महोत्सव सञ्चालनको लागि ५० लाख लगानी हुनेछ ।

शान्तिका अग्रदूत महामानव सिद्धार्थ गौतम बुद्धको पवित्र मावली स्थल देवदह क्षेत्रका व्यवसायी र उद्योगीहरूको संरक्षण, संम्वद्र्धन र विकास गरी उद्योगी र व्यवसायीहरूमा एकता र मैत्रीपूर्ण भावनाको वातावरण सिर्जना गर्न महोत्सव आयोजना गरिएको सङ्घका अध्यक्ष हरि भण्डारीले बताउनुभयो ।

"राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ एवम् सबल बनाउन उद्योग तथा वाणिज्य क्षेत्रका व्यवसायीहरूको संस्थागत विकास गर्ने उद्देश्यले आठौँ देवदह महोत्सव आयोजना गरेका हौँ," अध्यक्ष भण्डारी भन्नुभयो। कृषि क्षेत्र, शैक्षिक, धार्मिक, पर्यटक र व्यापारिक क्षेत्रको रूपमा मात्र नभएर देवदहका ऐतिहासिक स्थलहरू भवानीपुर क्षेत्र, रोहिणी नदी, दह, कन्यामाई, वैरिमाई, पाकरी वृक्ष, खयरडाँडा तथा अन्य विभिन्न धार्मिक एवं पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्नपनि महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उहाँको अपेक्षा छ ।

विविध सांस्कृतिक कार्यक्रम सहित, डान्सिङ्ग आइडल, अन्तर विद्यालय लोकगीत-लोकनृत्य प्रतियोगिता, मम्मी डान्स आइडल, फ्रि स्टाईल थ्री मिनेट कम्पिटिसन, कृषि तथा विज्ञान प्रदर्शनी, बाल उद्यान, विशेष देवदह टुर प्याकेज (हात्ती सफारी, रथ यात्रा), योग शिविर, पर्यटकीय स्थलहरूको जानकारी दिन सूचना केन्द्र, विभिन्न जातजातिहरूको संस्कृति झल्किने गरी भेषभुषाको झाँकी प्रदर्शन तथा खाना महोत्सव हुनेछ ।

'कृषि, पर्यटन, उद्योग र व्यापार, देवदह नगरको समृद्धिको आधार' भन्ने मूल नारासहित सञ्चालन हुने महोत्सवमा एक सय ५० व्यावसायिक स्टल सहित कृषि र पर्यटनका अलग्गै स्टल रहनेछन्। महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न २३ वटा उपसमिति गठन गरिएको र एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने लक्ष्य लिइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

दश करोडको व्यापार लक्ष्य राखिएको महोत्सवबाट हुने आम्दानीको पाँच प्रतिशत रकम देवदहका पर्यटकीय पूर्वाधार निर्माणमा लगाइने आयोजकले जनाएको छ । हरेक दिन बिहान ९ बजेदेखि बेलुका ८ः३० सम्म अवलोकन गर्न सकिने मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई ८० रुपियाँ र विद्यार्थीलाई ६० रुपियाँ कायम गरिएको छ । ज्येष्ठ नागरिक र विशिष्ट शारीरिक क्षमता भएकाहरूलाई परिचय पत्रको आधारमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइने आयोजकले जनाएको छ ।   

महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने प्रवर्द्धक नेपाल उद्योग वाणिज्य महासङ्घ, लुम्बिनी प्रदेश तथा सहयोगी संस्थाको रूपमा देवदह व्यापार सङ्घ, उद्योग व्यापार सङ्घ देवदह, बुटवल उद्योग वाणिज्य सङ्घ र प्रगति सामुदायिक बन छन् । 

देवदह व्यापार सङ्घ, देवदह उद्योग वाणिज्य सङ्घ र उद्योग व्यापार सङ्घ देवदह गरी तीन व्यावसायिक संस्थाले हरेक वर्ष आलोपालो महोत्सव सञ्चालन गर्ने देवदहमा वि.स. २०७१ सालबाट महोत्सव सञ्चालन हुँदै आएको छ । २०७१ सालमा रुपन्देहीमा बुटवल र भैरहवापछि पहिलोपटक देवदहमा उद्योग व्यापार सङ्घ देवदहले देवदह-५ स्थित पानबारी मैदानमा महोत्सव सञ्चालन गरेको थियो । 

देवदह उद्योग वाणिज्य सङ्घसँग वि.स. २०७२ साल फागुन १८ देखि २९ सम्म पहिलो पटक दोस्रो देवदह महोत्सव र वि.स. २०७५ साल फागुन १६ देखि २७ गतेसम्म पाँचौँ देवदह महोत्सव आयोजना गरेको अनुभव छ ।