बागलुङ, पुस ११ गते । राष्ट्रपति रामचन्द्र पौडेल आज बुधवार बिहान बागलुङ आउँदै हुनुहुन्छ । निजी क्षेत्रको छाता सङ्गठन बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा बुधवारदेखि सुरु हुन लागेको सातौँ बागलुङ महोत्सवको उद्घाटन गर्न राष्ट्रपति पौडेल बागलुङ बजार आउन लाग्नुभएको हो ।
राष्ट्रपति पौडेलले बिहान १० बजेसम्ममा बागलुङ आइपुग्ने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । उहाँका अनुसार आज बिहान राष्ट्रपति पौडेलले बागलुङको प्रसिद्ध ऐतिहासिक शक्ति पीठ बागलुङ कालिका मन्दिर र बागलुङ नगरपालिका– ४ कुँडुलेला रहेको शालिग्राम सङ्ग्रहालयको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम तय भएको छ ।
मन्दिर दर्शन पश्चात् दिउसो १ बजे धौलागिरि बहुमुखी क्याम्पसको मैदानमा राष्ट्रपति पौडेलबाट महोत्सवको उद्घाटन गरिने कार्यक्रम तय भएको उहाँले बताउनुभयो ।
महोत्सवको उद्घाटनका अवसरमा विभिन्न जातजातिका झाँकी, स्थानीय कला–संस्कृति, कृषि प्रदर्शनी गरिने भएको छ । महोत्सवमा व्यावसायिक प्रयोजनका लागि एक सय सय ६९ वटा स्टल तयार पारिएको छ । महोत्सवमा बागलुङका स्थानीय उत्पादनको बिक्री–वितरणका लागि स्टलको व्यवस्था गरिएको छ ।
महिला तथा पुरुष भलिबल प्रतियोगिता लगायतका खेलको सम्पूर्ण तयारी भएको आयोजकले जनाएका छन् । महोत्सवमा तारा खोलाको स्थानीय उत्पादन आलु, अल्लोको कपडा लगायतका उत्पादन, सिगाना र बिहुँको सुन्तला प्रदर्शनी तथा बिक्रीको समेत व्यवस्थापन हुने बताइएको छ । महोत्सवले बागलुङको पर्यटन क्षेत्रमा टेवा पुर्याउनुका साथै आर्थिक कारोबारलाई चलायमान गराउने आशा गरिएको छ ।