• २७ पुस २०८१, शनिबार

टिकट वितरणमा पूर्ण रूपमा न्याय हुन्छ : सभापति देउवा

blog

कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै सभापति देउवा । तस्बिर–अमरराज नहर्की

अमरराज नहर्की

तनहुँ, पुस ९ गते । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले टिकट वितरणमा पूर्ण रूपमा न्याय गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँले निर्माण गरेको बिपी स्मृति भवनको आज उद्घाटन तथा कांग्रेसको जिल्ला अधिवेशनको  उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । 

सभापति देउवाले भन्नुभयो, “पार्टीभित्र पूर्णरुपमा न्याय हुन्छ, हिजो नपाएकाहरूले आज पाउँछ, आज नपाउनेले भोलि टिकट पाउँछ ।” बैमनश्यता त्यागेर पार्टीभित्र एकता हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।

एकतालाई बलियो बनाउन पनि आगामी दिनमा टिकट वितरणमा न्याय गरिने उहाँको भनाइ छ । नेपालको संविधानले समावेशी समानुपातिक व्यवस्था गरेकाले कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने उल्लेख गर्दै सभापति देउवाले पार्टीबिचमा सहमति आवश्यक रहेको बताउनुभयो । 

देउवाले भन्नुभयो, “सहमति गरेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउनु पर्छ । नेपालको संविधान समावेशी, समानुपातिक व्यवस्था गरिएकाले सहमति गर्नु पर्ने बाध्यता छ ।” 

समानुपातिक संवैधानिक व्यवस्थाले गर्दा बहुमत ल्याउन नसके पनि कांग्रेस ठुलो पार्टी बन्ने र मेलमिलापको माध्यमबाट अघि बढ्नु पर्ने बताउनुभयो । देउवाले भन्नुभयो, “सबैको प्रतिनिधित्व हुनेगरी आदिवासी, मधेसी, दलित, महिलाको सहभागिताको व्यवस्थाले गर्दा बहुमत ल्याउन कठिन हुन्छ, सरकार बनाउन मिल्नुको विकल्प छैन ।”

देश हाल महत्त्वपूर्ण मोडमा उभिएको र सहमति गरेर शान्ति प्रक्रियामा देश आएकाले छिटपुट घटनालाई सहमतिकै माध्यमबाट समाधान गरिने सभापति देउवाले बताउनुभयो ।