• २० असोज २०८१, आइतबार

पर्यटकको पर्खाइमा गुप्तेश्वर गुफा (फोटो फिचर)

blog

गुप्तेश्वर गुफामा पुगेका स्थानीय पर्यटक । तस्बिरः अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, पुस ७ गते । मकवानपुरको कैलाश गाउँपालिकामा रहेको गुप्तेश्वर गुफा ओझेलमा परेको छ । भौगोलिक विकटतासँगै प्रचार प्रसारको अभावमा प्राकृतिक गुफा ओझेलमा परेको हो । 

कैलाशको वडा नम्बर १ र २ को सिमानामा रहेको गुप्तेश्वर गुफाको धार्मिक र ऐतिहासिक महत्त्व रहेको स्थानीयवासीको भनाइ छ । 

ऐतिहासिक स्थल र सम्भावना बोकेका ठाउँको पर्यटकीय पूर्वाधारको विकास गरेर प्रचारप्रसार गर्न पालिका लागिरहेको कैलाश गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभयो । 

अन्दाजी दुई सय मिटर लामो रहेको गुफा भित्र अमृत धाराबाट जल झरेर शिव लिङ्गमा अर्पण भएको देख्न सकिन्छ । घुमाउरो सुरुङमा हातखुट्टा टेकेर निहुरिएर मात्र प्रवेश गर्न सकिन्छ । गुफाको भित्री भागमा दुईवटा कोठा जस्तै आकारको छ । 

गुफाभित्र हीरा जस्तो चम्कने ढुङ्गा छ भने हात्तीको सुँड, कलात्मक मादल, चिल, शिवलिङ्ग, खेतका गह्रा, फूलका आकृतिहरू देख्न सकिन्छ । घट्टे खोलाको किनारमा अवस्थित उक्त गुफा कैलाश डाँडा र वैकुण्ठ (विष्णु कुण्ड) को फेदीमा अवस्थित छ । 

महादेव गुप्तवासका लागि लुक्दै जाने क्रममा खोलाखर्क र वैकुण्ठको बिच सिमानामा पर्ने फूलढुङ्गास्थित उक्त गुफामा लुक्न पुगेको किंवदन्ती रहेको छ । महादेव लुकेको गुफा भएकाले गुप्तेश्वर नामकरण गरिएको स्थानीयवासीको भनाइ छ । 

गुफाभित्र तपस्या स्थल, शिवलिङ्ग, केही मन्दिर र मूर्ति जस्ता आकृति भेटिन्छन् । शिवलिङ्गमा सुरुङको माथिबाट पानी खस्ने गर्दछ । यसलाई अमृत जल भनेर नामकरण गरिएको छ । 

सुरुङको माथिल्लो भागमा मादल जस्तै बज्ने खण्ड खण्डका आकृतिका रहेका छन् । सेतो पदार्थले बनेको उक्त खण्डका आकृतिलाई हातले छुँदा मादल जस्तै आवाज निस्कने गर्दछ ।