• १३ असोज २०८१, आइतबार

रानीतालमा पर्यटक तान्दै मोटरबोट

blog

चौबिसे गाउँपालिका–६ स्थित रहेको रानीतालको मोटरबोटमा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : कविराज घिमिरे

कबिराज घिमिरे

हिले, पुस ५ गते । धनकुटाको राजारानी बजारनजिक रहेको रानी तालमा मोटरबोटको मज्जा लिनेदेखि घुम्न आउने मानिसको सङ्ख्या बढ्दै गएको छ । खाली समयको सदुपयोग गर्न मात्र नभएर विशेष दिनमा समेत रमाइलो गर्न पर्यटक तालमा आउन थालेका छन् । 

मोटरबोट पहिले राखेको भए पनि मागको आधारमा अहिले २२ लाख लगानी बढाएको सुकपाल चेम्जोङले बताउनुभयो । पहिले मोटरबोट सञ्चालन गरिए पनि बिचमा सञ्चालन नहुँदा पर्यटक घटेको उहाँको भनाइ छ । पुनः मोटरबोट सञ्चालनमा ल्याएपछि पर्यटक बढ्न थालेको उहाँको भनाइ छ । 

 

छोटो समय लिएर घुम्न आउने आन्तरिक पर्यटकका लागि धनकुटाको रानीताल आकर्षणको केन्द्र बन्दैगएको छ । तालको रमणीय वातावरण तथा तालमा सञ्चालित मोटरबोटका कारण यहाँ आन्तरिक पर्यटक आकर्षित बनेका हुन् । 

मोटरबोट चढ्दा प्रतिव्यक्ति २ सय ५० रुपियाँ शुल्क लिने गरिएको छ । पूर्वकै पर्यटकीय क्षेत्र भेडेटार हुँदै पुगिने राजारानीमा रानी तालले छुट्टै आकर्षण थपेको छ । कोरोनाका कारण थलिएको पर्यटन व्यवसाय मोटरबोट सञ्चालनपछि उकास्न सहज भएको रानीताल संरक्षण समितिका कोषाध्यक्ष काजीमान लिम्बूले बताउनुभयो । 

राजारानीमा शनिबारको दिन बढी पर्यटक आउनेगरेका छन् । चौबिसे गाउँपालिकाले ताल किनार व्यवस्थित बनाउने काम गरिरहेको जनाएको छ । प्रदेश र सङ्घीय सरकारको सहयोगमा गाउँपालिकाले बजेट विनियोजन गरेर ताललाई आकर्षक बनाउने काम गरिरहेको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले बताउनुभयो । 


बाह्रै महिना चिसो मौसम भइरहने राजारानी सानो उपत्यका पनि हो । राजा र रानी छुट्टाछुट्टै ताल रहेको राजा–रानीमा रानीतालमा मात्र पानी छ, राजा ताल सुकिसकेको छ । रानी तालमा पर्यटक आकर्षित गर्न संरचना निर्माणका साथै बोटिङको पनि व्यवस्था छ ।