• १३ साउन २०८१, आइतबार

सुन्तलाको मूल्य निर्धारण

blog

फाइल तस्बिर

म्याग्दी, पुस ४ गते । म्याग्दीको बेनी नगरपालिका-४ बास्कुनामा सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको छ । मूल्यमा एकरूपता कायम गर्न, किसानको सहजता र सस्तोमा सुन्तला बेच्नुपर्ने समस्या हटाउनका लागि वडाका जनप्रतिनिधि तथा किसान समूहले मूल्य निर्धारण गरेका हुन् । 

बेनी–४ का वडा सदस्य सन्दीप खत्रीका अनुसार हाल सुन्तलाको मूल्य प्रतिकिलो न्यूनतम ८० कायम गरिएको छ । यसअघि गत मङ्सिरमा सुन्तला नपाक्दै बिक्री गर्न थालिएको थियो । “किसानले व्यापारीले जति भन्यो त्यति मूल्यमै सुन्तला बेच्ने गरेका थिए,” उहाँले भन्नुभयो । म्याग्दीका अन्य ठाउँका किसानले भने व्यापारीले भनेको मूल्यमै सुन्तला बिक्री गर्ने गरेका छन् । बास्कुनामा जिल्लामै पहिलो पटक सुन्तलाको न्यूनतम मूल्य निर्धारण गरिएको हो ।

गत वर्ष यहाँ सुन्तला प्रतिकिलो ६५ देखि ७५ मा बिक्री भएको थियो । व्यापारीले सुन्तला नटिप्दै अगाडी नै पैसा दिएर खरिद गरिसकेका किसान भीम थापाले बताउनुभयो । यहाँको सुन्तला पोखरा, चितवन, काठमाडौँलगायत ठाउँमा बिक्रीका लागि लग्ने गरिएको उहाँले बताउनुभयो । आगामी सातादेखि सुन्तला टिपेर बजार पठाउने तयारी गरिएको छ । बास्कुना, सुर्केमेला र थामडाँडाका चालीस परिवारले आठ हेक्टर जग्गामा सुन्तला खेती गरेका छन् । 

पछिल्लो एक वर्षमा एक हजार नयाँ बिरुवा थपिएका छन् । गत वर्ष तीन वटा गाउँबाट एक करोड मूल्य बराबरको सुन्तला बिक्री भएको खत्रीले बताउनुभयो । परम्परागत खाद्य बालीको विकल्पमा व्यावसायिक सुन्तला खेतीबाट जीवनस्तरमा परिवर्तन आएको छ । यहाँका बासिन्दाले धान, मकै र कोदो बाली रोप्न छाडेर सुन्तला रोप्न थालेका छन् । वार्षिक दश मुरी धान फल्ने खेतमा चार सय सुन्तलाका बिरुवा रोपेको बास्कुनाकी तिलकुमारी हुमेनले बताउनुभयो । 

गत वर्ष सात लाख मूल्य बराबरको सुन्तला बिक्री गरेको उहाँको भनाइ छ । “छोरा बिदेसिए, छोरीको बिहे भएपछि बाझिएको खेतमा झाडी फाँडेर सुन बेचेर सुन्तलाका बिरुवा रोपेँ”, उहाँले भन्नुभयो । बास्कुना गाउँभरि सुन्तला खेती गरिएको छ । कृषि ज्ञान केन्द्रले बास्कुनालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको बल्क कार्यक्रममा समेटेको छ । 

सुन्तला बगैँचा व्यवस्थापन गर्ने औजारका साथै झर्याङ, क्रेट, झरेका सुन्तलाको दाना व्यवस्थापन गर्ने पलास्टिकको थैलीलगायतका सामग्री सहयोग गरेको केन्द्रले जनाएको छ । प्रदेश सरकारमार्फत दुई वर्षअघि बास्कुना, सुर्केमेला र थामडाँडाका लागि बालमखोला सिँचाइ आयोजना निर्माण गरिएको छ । बेनी-थामडाँडा-बरंजा सडक स्तरोन्नति नहुँदा भने सुन्तला बिक्री गर्न बजार लैजान समस्या भएको स्थानीय भीम गुरुङले गुनासो गर्नुभयो । रासस