सुजल श्रेष्ठ
प्युठान, पुस ४ गते । मल्लरानी गाउँपालिकाको गाउँपालिकाभित्रको मल्लरानी क्षेत्रको पर्यटन प्रवर्द्धनमा करोडौँ लगानी गरिरहेको छ । जिल्ला सदरमुकाम खलङ्गाको शिरमा रहेको मल्लरानीमा करिब चार करोड लगानी गर्न लागिएको छ ।
गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानी पर्यटन मार्ग अन्तर्गत पक्की सडक निर्माणका लागि तीन करोड रुपियाँ लगानी भएको बताउनुभयो । त्यसैगरी, मल्लरानी पर्यटन विकास अन्तर्गत पार्क निर्माणमा एक करोड लगानीमा पार्क निर्माण भइरहेको जानकारी दिनुभयो । “पालिकाभित्रका पर्यटकीय स्थलहरूको डिपिआर बनेका छन्,” उहाँले भन्नुभयो, “प्रदेश सकारसँग सहकार्य गरेर ती क्षेत्रको विकास गर्ने योजनामा पालिका छ ।”
मल्लरानी गाउँपालिका जस्तै यहाँका नौ वटै स्थानीय तहले आफ्नो पालिकाभित्र रहेको पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणका लागि करोडौँ रुपियाँ लगानी गरिरहेका छन् । प्युठान नगरपालिका–६ मा रहेको झुलेनि जिल्लाको नयाँ पर्यटकीय गन्तव्य बनेको छ । विभिन्न भौतिक संरचना निर्माण गरेर यस क्षेत्रलाई आकर्षक र पर्यटकीय गन्तव्य बनाइएको छ ।
प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल स्वर्गद्वारी प्युठानको प्रमुख पर्यटकीय स्थल हो । तर अहिले स्वर्गद्वारी मात्र नभएर जिल्लाका विभिन्न स्थानमा पर्यटकीय क्षेत्र निर्माण भएका छन् । स्वर्गद्वारी नजिकै रमणीय भू–बनोटमा विभिन्न संरचना निर्माणको काम भएको स्थानीय भरत राउतले बताउनुभयो । “स्थानीय तह बनेपछि केही लगानी भएको छ,” उहाँले भन्नुभयो, “स्थानीय सरकार र प्रदेश सरकारको लगानीमा केही संरचना निर्माण भएका छन् ।”
जिल्ला बाहरिबाट स्वर्गद्वारी आउने पर्यटकलाई स्थानीय तहले बनाएका नयाँ गन्तव्यहरूमा पुर्याउन योजना समेत बनाउनुपर्ने मल्लरानी टुरिजम इन्भेस्टमेन्ट प्रा.लि.का अध्यक्ष इमानसिंह भारती बताउनुहुन्छ । “धार्मिक तथा पर्यटकीय क्षेत्रको रूपमा देश विदेशमा परिचित स्वर्गद्वारी आउने पर्यटक भने ती नयाँ गन्तव्यमा पुग्न सकिरहेका छैनन्,” उहाँले भन्नुभयो, “स्थानीय तहले अब स्वर्गद्वारी आउने पर्यटकलाई ती क्षेत्रसँग जोड्ने योजना बनाउनुपर्छ ।”