• १३ साउन २०८१, आइतबार

कागती खेतीबाट सन्तुष्ट कृषक गिरी

blog

फर्ममा रहेको कागतीको बोटमा फलेको कागती देखाउँदै कृषक गिरी । तस्बिर : जानु पाण्डे

जानु पाण्डे

कपिलवस्तु, पुस ४ गते । कपिलवस्तुको बाणगंगा नगरपालिका –७ का कृषक जयलाल गिरी कागती खेतीबाट सन्तुष्ट रहेको र त्यसबाट मनग्य आम्दानी भइरहेको बताउनुभएको छ । 

सामुदायिक वन उपभोक्ता महासङ्घ कपिलवस्तुका जिल्ला अध्यक्ष रहनुभएका गिरीले दशकदेखि कागती खेतीसहित कृषिमा होमिनुभएको थियो । वडाको जनज्योति मावि मोतीपुरको नाममा रहेको ३ बिघा जग्गा लिजमा लिएर उहाँले कपिलवस्तु बाख्रापालन तथा कृषि फर्म दर्ता गरी व्यावसायिक कृषि गर्नुभएको छ । 

फर्ममा हालसम्म १ करोडभन्दा बढी रकम लगानी गर्नुभएको छ । चार वटा सिंचाइँको बोरिङ र सुरक्षा तथा निगरानीका लागि सीसीटीभी समेत जडान गरिएको छ । 

कागती खेतीसँगै बाख्रापालन, भैंसीपालन, माछापालन गर्दै आउनुभएको छ । उहाँले १ सय ५० माउ बाख्रा र ५५ माउ भैँसी र ४ कट्ठा जग्गामा माछापालन गर्दै आउनुभएको छ । कृषक गिरीले लगाउनुभएको ११५ सुनकागती बोटले सबैभन्दा बढी आम्दानी दिएको बताउनुभयो । कागतीले मनग्य आम्दानी भएपछि दुईसय बिरुवा थप्ने योजना गर्नुभएको छ ।

उहाँको उत्पादन स्थानीय र सहकारीमार्फत बिक्री हुँदैआएको छ । युवा स्वरोजगार कोषबाट फर्म सञ्चालनका लागि दुई लाख रुपियाँ अनुदान प्राप्त भएको थियो । कृषितर्फ लगानी गरेपछि रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता अन्त्य भएको गिरीले बताउनुभयो । 

उहाँले मासिक डेढलाख रुपियाँ बचत गर्दै आउनुभएको छ । लिजमा लिएको जग्गा विद्युत् स्टेशनले अधिग्रहण गर्ने भएपछि निर्माण भएको संरचनामा क्षति हुने सम्भावना देखिएको गिरीले बताउनुभयो ।