काठमाडौँ, पुस ४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गाईवस्तुमा लाग्ने ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि आफैँ भ्याक्सिन उत्पादनको तयारीमा थालेको छ । त्यसका लागि मन्त्रालयले अन्तर्राष्ट्रिय वैज्ञानिकहरूसँग छलफल थालिसकेको छ ।
कृषि मन्त्रालय अन्तर्गतका पशु सेवा विभागले भ्याक्सिन उत्पादनका लागि चाहिने मास्टर सिड (मुख्य बिउ) र प्रविधिका लागि भारतलगायत अन्य देशसँग पहल गरेको छ । भ्याक्सिन उत्पादनका लागि नेपालसँग सुविधासम्पन्न प्रयोगशाला छ तर त्यसका लागि चाहिने कच्चा पदार्थ (मास्टर सिड) र प्रविधि छैन । त्यसका लागि भारत र अफ्रिकी मुलुक केन्यालाई आग्रह गरिएको पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले बताउनुभयो । मास्टर सिड तथा प्रविधि सहयोगका लागि आग्रह गरेपछि केन्याका इन्टरनेसनल ल्याइभ स्टक रिसर्च इन्स्टिच्युट (आइएलआरआई) का तीन जना वैज्ञानिक नेपालमा आएर अध्ययन थालिसकेको उहाँले बताउनुभयो ।
मङ्गलबारदेखि त्यसमाथि छलफल सुरु भइसकेको छ । केन्याबाट आएका वैज्ञानिकले नेपालको प्रयोगशालालगायत अन्य पूर्वाधारको अवलोकन गरिसकेका छन् । त्यस क्षेत्रका विज्ञ तथा अधिकारीसँग पनि छलफल थालिएको छ, भोलि बुधबारसम्म केही न केही निष्कर्ष आउने उहाँले बताउनुभयो । मास्टर सिड दिनका लागि आइएलआरआई सकारात्मक देखिएको छ तर अझै छलफल जारी रहेको उहाँले बताउनुभयो ।
मास्टर सिडका लागि भारतलाई पनि आग्रह गरिएको थियो तर भारतले दिन नसकिने जवाफ पठाइसकेको छ । भारतले आफैँ भ्याक्सिन उत्पादन गर्न नसकेको अवस्थामा नेपाललाई सिड दिने कुरा नै हुँदैन । भारतबाट तत्कालै सिड आउँछ भन्ने आसमा कृषि मन्त्रालय छैन । आइएलआरआईले सिड दिन्छ कि आशा कृषि मन्त्रालयमा पलाएको छ । त्यस विषयमा दुई पक्षबिच गम्भीर ढङ्गले कुराकानी चलिरहेको मन्त्रालयका अधिकारी बताउँछन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु स्वास्थ्य महाशाखाका प्रमुख डा. सम्झनाकुमारी काफ्लेले ‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि के कसरी गर्ने त्यसका लागि मार्गचित्र तयार गर्ने कार्य भइरहेको बताउनुभयो । यो रोग अफ्रिकामा धेरै देखिएकाले त्यहाँबाट नै विज्ञहरू नेपाल आएर अध्ययन गरिरहेका छन्, उनीहरूसँगको छलफलका आधारमा मार्गचित्र तयार गर्ने उहाँले बताउनुभयो ।
‘लम्पी स्किन’ रोग नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्न मास्टर सिडको आवश्यकता पर्छ, त्यो कतैबाट ल्याएपछि मात्र उत्पादन गर्न सकिने बताउँदै उहाँले सिड ल्याउने प्रक्रिया पशु विभागले सुरु गरेको बताउनुभयो ।
“लम्पी स्किन रोग सिजनल हो, यो रोगको सिजन आउँदै छ, गर्मीमा बढ्छ, जाडोमा घट्छ किनकि भेक्टरहरू झिँगा, लामोखुट्टेले सार्ने हो, अहिले यिनीहरूको एक्टिभिटी कम छ,” कृषि मन्त्रालयका सचिव डा. रेवतीरमण पौडेलले भन्नुभयो । समयमा नै यसलाई कसरी नियन्त्रण गर्ने त्यसको तयारी थालिएको उहाँले बताउनुभयो । उहाँले नेपालमा भ्याक्सिन उत्पादन गर्न सातदेखि आठ महिनासम्म लाग्न सक्छ तर भ्याक्सिन उत्पादनभन्दा पहिला नेपालमा ‘लम्पी स्किन’ कसरी व्यवस्थापन र नियन्त्रण गर्ने भन्ने त्यसको तयारी लाग्नुपर्ने बताउनुभयो ।
‘लम्पी स्किन’ विरुद्धको भ्याक्सिन उत्पादन गर्ने कार्य नेपालमा रहेको हेस्टर बायोसाइन्स कम्पनीले गरिसकेको छ । परीक्षण उत्पादन पनि सुरु गरिसकेको छ । हेस्टरबाट नै भ्याक्सिन खरिद गर्ने हो कि पनि कुराकानी सुरु भएको विभागका महानिर्देशक दाहालले बताउनुभयो । गर्मी सुरु भएपछि पुनः ‘लम्पी स्किन’ रोग सुरु हुन्छ, त्यसअघि नै भ्याक्सिनको व्यवस्था गरिसक्नु पर्छ ।
“फागुनसम्म कम्तीमा ५० प्रतिशत पशुमा खोप लगाई सक्नु पर्छ अनि मात्र नियन्त्रण गर्न सकिन्छ,” उहाँले भन्नुभयो, “त्यसका लागि अन्य ठाउँबाट भ्याक्सिन ल्याउने प्रक्रिया सुरु भएको छ र यता हेस्टरसँग पनि कुराकानी चलिरहेको छ ।”
हेस्टरले नेपाललाई भ्याक्सिन उपलब्ध गरायो भने निकै सस्तो पर्ने उहाँले बताउनुभयो । विदेशबाट भ्याक्सिन मगाउँदा एक डोज भ्याक्सिनको दुई सयदेखि २५० रुपियाँसम्म पर्ने गरेको छ । हेस्टरले उत्पादन गरेर दियो भने एक डोजको २५ देखि ३० रुपियाँ मात्र पर्ने अनुमान विभागले गरेको छ ।
हेस्टरले तीन महिनादेखि छ महिनाभित्र सो भ्याक्सिन बजारमा ल्याउने गरि तयारी थालिएको छ । उसले उत्पादन गरेको भ्याक्सिन विदेश निर्यात हुने गरेको छ । नेपालमै खपत भयो भने झन सजिलो हुने भनी हेस्टर पनि उत्साहित भएर भ्याक्सिन उत्पादनमा लागेको छ ।