सुधा देव
भारदह(सप्तरी), कात्तिक २७ गते । सप्तरी क्रिकेट सङ्घको समन्वय तथा सबल नेपालद्वारा राजविराजमा आयोजित जिल्लास्तरिय महिला इन्टर हब टी–२० क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ ।
राजविराज स्थित पविमावि खेल मैदानमा बिहीबार भएको फाइनलमा मोरङले सिराहालाई सात विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको सिराहाले १४.४ ओभरमा सबै विकेटको क्षतिमा ४६ रन बनाएको थियो ।
सिराहाका लागि अनुराधा चौधरी २६ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बलिङमा मोरङका श्रृजना राजवंशीले तीन विकेट लिनुभयो ।
निरू राजवंशी दुई तथा विकेट सुबेक्क्षा लिम्बू, बन्दना राजवंशी र पुर्णिमा राजवंशीले एक एक विकेट लिनुभयो । ४८ रनको लक्ष्य पछ्याएको मोरङले आठ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
मोरङका लागि प्रिन्सा रानामगरले नटआउट १५, खुशी राजवंशीले ११ रन टिका साहले १० रन बनाउनुभयो । बलिङमा सिराहाकी सरस्वती चौधरीले दुई तथा मीना महतोले एक विकेट लिनुभयो । मोरङकी श्रृजना राजवंशी प्लेयर अफ दी म्याच बन्नुभयो ।