• १३ असोज २०८१, आइतबार

मुकन्डो कलालाई जगेर्ना गर्दै तामाङ

blog

काठमाडौँ, पुस ३ गते । देवीदेवताको नृत्यदेखि पर्यटन बजारको प्रवर्धनका लागि मुकुन्डो कलाको धेरै महत्व छ । त्यसैले यसको संरक्षणका लागि मुकुन्डो कलाकार (मास्क आर्टिस) सोम तामाङ अग्रसर हुनुहुन्छ । 

लोप हुने अवस्थामा पुगिसकेको मुकुन्डो कलालाई नयाँ प्रविधिको साथमा उहाँले बालबालिकादेखि युवापुस्तालाई तालिम दिँदै आउनुभएको छ । 

परम्परागत मुकुन्डो बनाउनेदेखि तामाङले विभिन्न कार्यक्रमहरूमा प्रयोग हुने मायाको चिनोका रूपमा दिन सकिने, साथीभाईलाई जन्मदिनको उपहारमा दिने गरी सामानको निर्माण गरेर लोप हुँदै गएको कलालाई जीवन्त राख्ने प्रयास गरिरहनुभएको छ ।

उहाँले युवा पुस्तालाई मुकुन्डो कलाको बारेमा जानकारी दिनुका साथै विभिन्न देशबाट आउने पर्यटकलाई पनि यो कला सिकाउँदै आउनुभएको छ । 

रातो बङ्गला विद्यालयका विद्यार्थीलाई पाठ्यक्रम अनुसार नै मुकुन्डो कला सिकाउँदै आएको उहाँले बताउनुभयो । यो कलाको संरक्षणका लागि एउटा विद्यालयले काम सुरु गरे जस्तै अरू पनि विद्यालयले पाठ्यक्रममा समावेश गरेको खण्डमा यो कलाप्रति युवाको आकर्षण बढ्दै जाने उहाँको धारणा छ । 

यस्तै भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ र मध्यपुर माक्स मेकिङको सहकार्यमा बर्सेनि तालिम सञ्चालन गरेको जानकारी उहाँले दिनुभयो । कलाकार तामाङ जस्तै अन्य युवालाई पनि यस पेसामा आकर्षित गर्न सम्बन्धित निकायको ध्यान दिन सकेमा नेपाली परम्पराको जगेर्ना हुनुका साथै स्वेदशभित्रै रोजगारीको पनि सिर्जना हुन सक्ने उहाँको धारणा छ ।

उहाँले विभिन्न देवीदेवताको नाचमा प्रयोग हुने मुकुन्डो मर्मत गर्न सक्ने र नयाँ बनाउने गरेको पनि बताउनुभयो । भारतबाट तालिम प्राप्त उहाँले मुकुन्डोलाई कसरी आधुनिकता दिने भन्ने विषयमा अध्ययन गरिरहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “आधुनिकताको नाममा परम्परागत तरिका भने बिर्सनुहुन्न भन्ने लागेर कालोमाटो, नेपाली कागज, मैदाको माड, कपास मिसाएर मास्क (मुकुन्डो) को निर्माण गर्ने गरेको छु । त्यसलाई आधुनिकतामा उतार्न भने फ्रेमिङ गरेर उपहार र घर सजाउनका लागि निर्माण गरेको जानकारी दिनुभयो । तामाङले नाचमा प्रयोग हुने मुकुन्डोलगायत विभिन्न प्रकारका मुकुन्डो, माटोका मूर्ति एवं क्युरियोका सामानसमेत बनाउनुभयो । 

यो पेसाले एकातिर संस्कृतिको संरक्षण र अर्काेतिर कम लागतमा राम्रो आम्दानी पनि हुने भएकाले यो क्षेत्रमा सरकारले आवश्यक नीति निर्माण गर्न जरुरी छ ।