• २० असोज २०८१, आइतबार

पाथीभरामा भक्तजनले चढाए १५ महिनामा ९८ तोला सुन

blog

फाइल तस्बिर

ताप्लेजुङ, पुस २ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा पछिल्लो पटक ९८ तोलाभन्दा बढी सुन सङ्कलन भएको छ । पछिल्लो १५ महिनाको अवधिमा भक्तजनले चढाएको ९८ तोला ४१ लाल सुन सङ्कलन गरी तौल गरिएको तौल मूल्याङ्कन तथा ‘रिफाइन’ उपसमितिका अध्यक्ष शम्भुप्रसाद गौतमले बताउनुभयो । 

उहाँका अनुसार उक्त सुन ‘रिफाइन’ गरिएको छैन । यस्तै सोही अवधिमा नै ९२ किलो छ सय ५० ग्राम चाँदी सङ्कलन भएको छ । चाँदीसमेत रिफाइन गरिएको छैन । गत वर्षको भदौ ७ देखि गएको मङ्सिर १६ गतेसम्म मन्दिरमा सङ्कलित उक्त रिफाइन नगरी तौल भएको सुन, चाँदी रिफाइन गर्ने तयारी गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।

यसअघि दुई वर्षको अवधिमा सङ्कलित सुन चाँदीको विवरण यकिन भएको थियो । उक्त विवरणअनुसार २०७७ साल भदौ १८ देखि २०७९ भदौ ६ गतेसम्मको रिफाइन गरिएको सुन ८६ तोला ९३ लाल रहेको छ । दुवै पटक तौल गरिएको सुन बिक्री गरिएको छैन । यसपटक सङ्कलित सुन रिफाइनपछि लिलाम बिक्री हुने पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो । 

यस्तै पाथीभरामा सङ्कलन भएको भेटी रकमसमेत गणना भइरहेको छ । मन्दिरबाट जम्मा गरेर क्षेत्र विकास समितिको भण्डारमा राखिएका नोट मिलाउने काम भइरहेको कार्यकारी निर्देशक हाङ्बाङले बताउनुभयो । अपुग कर्मचारी थप गरेर लामो समयदेखि थुप्रिएका नोट मिलाउने र गणना गर्ने कार्य भइरहेको उहाँको भनाइ छ । रासस