• १३ असोज २०८१, आइतबार

सबै उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पत्ति छानबिन हुनुपर्छ : महामन्त्री थापा

blog

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै काँग्रेस महामन्त्री गगनकुमार थापा । तस्बिर : गोरखापत्र

अमरराज नहर्की

तनहुँ, पुस २ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०४८ साल पछिका सबै उच्चपदस्थ नेता तथा कर्मचारीहरू सम्पत्ति छानबिन गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर १ ले सोमबार दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सो कुरा बताउनुभएको हो ।

सरकारले कानुन नै बनाएर सबैको छानबिन गर्नु पर्ने महामन्त्री थापाले बताउनुभयो । देशलाई भ्रष्ट्राचार हटाउन तथा सुशासन कायम गर्न सबैको छानबिन गर्नु पर्ने उहाँको भनाई थियो ।  दलहरूबिच चुनाव अघि नै गठबन्धन गर्दा कार्यकर्ताहरूको आस्थामा चोट पुगेको पाइएकोले यसलाई अन्त्य गर्नु पर्ने महामन्त्री थापाले बताउनुभयो ।

सबै पाटीहरूबिच सहमति गरेर निर्वाचन आयोग समक्ष कुनै पनि दलले गठबन्धन गर्न नपाउने कानुनको व्यवस्था गर्न लगाउन सक्ने उहाँले बताउनुभयो । सङ्घ, प्रदेश तथा स्थानीय तीन वटै तहको चुनावमा कुनै पनि दलले गठबन्धन गर्न नपाउने गरी कानुनी प्रावधान राख्नु उपयुक्त हुने उहाँको भनाई छ । चुनाव पछि सरकार निर्माणको लागि भने गठबन्धन  गरिनु उपयुक्त हुने महामन्त्री थापाले बताउनुभयो ।

कांग्रेसले उद्योगहरू बन्द गर्‍यो भन्ने आरोप गलत भएको महामन्त्री थापाले बताउनुभयो । भृकुटी कागज उद्योग, गोरखाकाली रबर उद्योग, जनकपुर चुरोट घाटामा गएर बन्द गर्नु पर्ने उल्लेख गर्दै उहाँले तत्कालीन समयमा एक अरबभन्दा बढी घाटा भएको रकम सरकारले व्यहोर्नु परेको तथ्य सम्झनु पर्ने बताउनुभयो । 

महामन्त्री थापाले भन्नुभयो, ‘‘२०४८ सालमा सरकारी मातहतका टाट पल्टिएका उद्योगहरू बन्द भएपनि नेपालकै इतिहासमा सबैभन्दा धेरै उद्योग २०४९ साल स्थापना भएको बताउनुभयो । कांग्रेसले उद्योग खोलकै कारण राजस्व सङ्कलनमा वृद्धि भएको महामन्त्री थापाले बताउनुभयो । काँग्रेसले  गर्दा नै देशको अतित्व बचेको महामन्त्री थापाले बताउनुभयो । महामन्त्री थापाले भन्नुभयो, ‘‘समाजमा द्वन्द्व भईरहन्छ, देश टुक्राउन खोज्नेहरू हुन्छन् । त्यसलाई जोगाउने काम कांग्रेसले नै गरेको छ ।’’