• २३ वैशाख २०८२, मङ्गलबार

दुर्घटना घटाउन 'रिफ्लेक्टीभ स्टिकर'

blog

ट्राफिक प्रहरीले ट्याक्टरमा रिफ्लेक्टीभ स्टीकर टाँस्दै । तस्बिर : मीना कंडेल

मीना कंडेल

कावासोती, मङ्सिर २९ गते । नवलपुर ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न 'रिफ्लेक्टीभ स्टीकर' टास्ने अभियान सञ्चालन गरेको छ । चिसो मौषम सुरु भएसँगै बढ्दो हुस्सु र रातिको बेला भिजीबिलीटी कम भएकाले सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले रिफ्लेक्टीभ स्टीकर टाँस्ने अभियान सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपुरले विभिन्न स्थानमा ब्याक लाइट नहुने सवारीसाधनको पछाडिको भागमा टल्किने 'रिफ्लेक्टिभ स्टिकर' टाँसेका हुन् । टाढैबाट टल्किने स्टीकर देख्न सकिन्छ जसले दुर्घटनामा कमी ल्याउन सकिन्छ भन्दै यो अभियान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख नरहरि रेग्मीले बताउनुभयो ।

सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पहिलो चरणमा ट््याक्टर र अटो रिक्सा लगायतका सवारीसाधनमा स्टीकर टाँस गरेको ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख अच्यूतराज आचार्यले बताउनुभयो । नियमित काम र अभियानसँगै कार्यालयले साइकल, ठेलागाडि, ट्रिपर, लामो तथा छोटो दुरीका सवारी साधनमा समेत रिफ्लेक्टीभ स्टीकर टाँस गर्ने योजनाका साथ लागि परेको उहाँले बताउनुभयो । 

यस्तै, कार्यालयले चालकहरुलाई आफू बचांै र अरुलाई बचाउँ भन्ने अभियान अन्तर्गत मोटरसाइकल चालकहरुलाई समेत सवारी चलाउँदा ध्यानदिनु पर्ने कुराहरु, सवारी दुर्घटनाबाट बच्ने उपाय, ट्राफिक नियमसम्बन्धी फिल्डमै प्रशिक्षण दिँदै आएका छन् । जाडोको समयमा हुस्सु कुहिरो लागेको बेला सवारी साधन चलाउँदा अपनाउनु पर्ने सजकताका साथै बढी दुर्घटना हुने क्षेत्रमा डिभाइडर राखेर आवगमनलाई सहज बनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीले नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि विभिन्न अभियानहरु चलाएको छ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सम्बन्धी जानकारी गराउने उद्देश्यले सवारी चालकहरुलाई सम्मान गर्दैै सवारी साधन चलाउँदा अनिवार्य रुपमा सिट बेल्टको प्रयोग, हेल्मेटको अनिवार्य प्रयोग, मादक पदार्थ तथा नसाजन्य चिज बस्तुहरु सेवन गरी सवारी साधन नचलाउन, तीब्र गतिमा सवारी साधन नचलाउन भन्दै सवारी चालकलाई एक मिनेट सचेतनामूलक सन्देश दिइरहेको छ ।

बढी दुर्घटना हुने स्थानको पहिचान गरी न्यूनीकरणका उपाय, ट्राफिक लाइट सचेतना र लेन अनुशासन तथा डिभाइडर राख्ने कामलाई पनि निरन्तरता दिँदै आएको छ । रातिको समयमा स्टीकर नहुँदा यातायातका साधनहरु ठोक्किन गई दुर्घटना हुने भएकोले प्रहरीले सबै सवारी साधनमा स्टीकर टाँस्न समेत आग्रह गरेको छ ।