• १३ असोज २०८१, आइतबार

अन्तर्राष्ट्रिय उडान नियमित गर्न माग गर्दै धर्ना

blog

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शन । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, मङ्सिर २९ गते । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण र नियमित सञ्चालनको माग गर्दै भइरहेको धर्ना तथा विरोध प्रदर्शनप्रति रुपन्देहीमा रहेका निजी क्षेत्रका सङ्घ संस्था, राजनीतिक दल तथा सामाजिक संस्थाले ऐक्यबद्धता जनाएका छन् । 

सिद्धार्थ सञ्जाल, रुपन्देहीको आयोजनामा अहिले विमानस्थलअघि निरन्तर धर्ना र विरोध प्रदर्शन भइरहेको छ । धर्नास्थलमा यस क्षेत्रमा क्रियाशील राजनीतिक दल, सङ्घ संस्था र स्थानीय बासिन्दा स्वतःस्फूर्तरुपमा पुगेर ऐक्यबद्धता जनाएका छन् । ‘सबैको साथ र सहयोगले हाम्रो विरोधको कार्यक्रम सफल भएको छ’ आन्दोलनको नेतृत्व गरेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले भन्नुभयो, ‘विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न सरकारलाई दबाब पुगेको विश्वास छ ।’

सञ्जालमा आबद्ध तीन दर्जन सङ्घ संस्थाले गरेको आन्दोलनमा एकपछि अर्को गरी सङ्घ संस्थाहरुले ऐक्यबद्धता जनाइरहेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सञ्जाललाई पत्र काटेर पुस २ गते काठमाडौंमा छलफका लागि बोलाएको छ । 

सञ्जालका पदाधिकारी उक्त छलफलमा सहभागी हुने जनाएका छन् । सरकारले पटक–पटक झुक्याएको र ज्ञापनपत्रमार्फत जानकारी गराउँदा समेत विमानस्थल पूर्ण क्षमतामा चलाउन पहलकदमी नगरेको गुनासो उहाँहरुको छ । 

धर्ना कार्यक्रममा पुगेर नेकपा (एमाले), माओवादी, जसपा, लोसपा, काँग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, एकीकृत समाजवादी पार्टी, राप्रपालगायतका दलले आफूहरुको पूर्ण साथ र सहयोग रहेको बताएका छन् । यसले आन्दोलनलाई थप प्रभावकारी बनाएको छ । 

यस्तै, रुपन्देही उद्योग सङ्घले उडान नियमित हुनुपर्ने माग राख्दै सिद्धार्थ सञ्जालको नेतृत्वमा भैरहवामा भैरहेको दबाबमूलक कार्यक्रममा साथ दिएको छ ।

रुपन्देही उद्योग सङ्घको टीम सहभागी भ आन्दोलनप्रति ऐक्यबद्धता जनाएको हो । धर्ना कार्यक्रममा सङ्घका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद पराजुलीले सरकारको अर्बौं लगानी भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान हुनुपर्छ भनेर निजी क्षेत्रले माग राख्नुपरेको बताउनुभयो । 

उहाँले सबै कुरा प्राप्त गर्न आन्दोलन गर्नुपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘गौतमबुद्ध विमानस्थल नेपालकै र लुम्बिनी प्रदेशको गौरव हो । यस्तो महत्वपूर्ण आयोजनालाई अन्योलमा राखिनुहँदैन, महाकालीको नागरिकलाई पनि यही विमानस्थलबाट जान आउन सहज हुन्छ ।’ उहाँले राज्यले आफैं भनेको कुरा लागू नगर्ने परिपाटीले सबैलाई समस्या परेको बताउनुभयो ।

संघका पूर्वअध्यक्ष बाबुराम बोहोराले सरकार सञ्चालन गर्ने निकायमा बस्ने व्यक्तिको कमजोरी र लाचारीपनका कारण विमानस्थल सञ्चालन हुन नसकेको बताउनुभयो । उहाँले सबै कुरा राज्य सञ्चालन गर्ने व्यक्तिको हातमा रहेको बताउनुभयो । पूर्वअध्यक्ष बोहोराले विमानस्थल सञ्चालनका लागि भिसा सेन्टर, श्रम स्वीकृतिलगायतका संरचना बनाउन आग्रह गर्नुभयो ।

उहाँले सिद्धार्थ सञ्जाल, रुपन्देहीले नेतृत्व गरेको आन्दोलनमा सम्पूर्ण नागरिक सडकमा उत्रिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो आन्दोलन लामो हुनेवाला छ । आवश्यक परे उद्योगीसँगै उद्योगमा कार्यरत मजदूरको पनि आन्दोलनमा सहभागिता हुन्छ ।’ 

उद्योग संघको धर्ना कार्यक्रममा महासचिव हीरामणि भट्टराई, कोषाध्यक्ष युवराज आचार्य, महिला सचिव मन्जु भुसाल, सहकोषाध्यक्ष विशाल बेल्वासे, सचिवालय सदस्य राजु घिमिरे, कार्यसमिति सदस्यहरु माधव नेपाल, मीना थापा, कृष्णप्रसाद पोखरेल, दिलु शाही सहभागी हुनुभएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य हेमा बेल्वासेले सन्जालको आन्दोलनमा रुपन्देही उद्योग सङ्घले दिएको ऐक्यबद्धतालाई धन्यवाद दिँदै आफूहरुले निरन्तर साथ दिएको बताउनुभयो । उहाँले प्रदेशका गृहमन्त्री सन्तोष पाण्डेसहित आफूहरु सन्जालको साथमा रहेको र मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि ऐक्यबद्धता जनाउनुभएको बताउँदै अब यो सबैको सामूहिक आन्दोलन भएको बताउनुभयो ।