• ४ जेठ २०८१, शुक्रबार

हत्यारा सार्वजनिक नगरेसम्म शव नउठाउने अडान

blog

भक्तपुर, मङ्सिर २८ गते । चौध महिना अगाडि २०८९ असोज १९ गते बुधबार विजयादशमीका दिन ४३ वर्षीया मायादेवी शाक्यलाई विवाह भएको १४ महिनामै जीवनको अन्त्य होला भन्ने के थाहा थियो र ? सूर्यविनायक नगरपालिका-५ सृजनानगर बस्दैआउनु भएकी एकल महिला शाक्य र सोही वडाको कटुञ्जे बस्ने एकल पुरुष ६१ वर्षीय दानकाजी शाक्यबिच बुढेसकालको सहारा बन्ने सङ्कल्पसहित गतवर्ष विजयादशमीका दिन विवाह भएको थियो । 

बुढेसकालको सहारा बन्ने अपेक्षा गर्नुभएकी मायादेवीको शव पाँच दिनदेखि काठमाडौँ मेडिकल कलेजको भक्तपुर दुबाकोटस्थित शवगृहमा राखिएको छ भने उहाँको पति दानकाजी विगत चार दिनदेखि जगातीस्थित प्रहरी वृत्तको हिरासतमा छन् । मृतक शाक्यको बाबु भक्तबहादुर र आमा यतिखेर छोरीको शवसमेत बुझ्न नपाउँदा पीडित भएका छन् भने पति शाक्यलाई यतिखेर पत्नी हत्याको अभियोग लागेको छ । 

गत आइतबार राति खाना खाएरसँंगै सुत्नुभएकी मायादेवी बिहान ओछ्यानमै मृत्यु भएको अवस्थामा हुनुहुन्थ्यो । सँगै सुतेकी श्रीमतीको राति कति बजे र कसरी मृत्यु भयो आफूलाई थाहा नभएको र बिहान उठ्दा मात्र मृत्यु भइरहेको अवस्थामा आफूले पाएको दानकाजीको जिकिर छ । सोमबार बिहान ५ बजे दानकाजीले आफूलाई घट्नाबारे जानकारी गराएपनि खाना खाएर सँगै सुतेकी छोरीको मृत्यु स्वाभाविक नभई हत्या भएको भक्तबहादुर बताउनुहुन्छ । 

सँगै सुतेकी श्रीमतीको मृत्यु भएको थाहै नपाउने भन्ने हुँदैन, यति मात्र होइन शरीरमा नीलडाम देखिएको र मुखमा घाउ भएकाले पनि घटना भवितव्य नभई हत्या नै भएको भक्तबहादुर बताउनुहुन्छ । मृतकको बहिनीज्वाई कृष्ण गोसाईंले शव परीक्षण रिपोर्टअनुसार बेलुकाको खाना नै नपचेको अवस्थामा उहाँको मृत्यु भएको देखाइएकाले राति १० देखि ११ बजे भित्रै हत्या भएको आशङ्का भएको बताउनुहुन्छ । 

उहाँ भन्नुहुन्छ, “हामीले पोष्टमार्टम गर्ने चिकित्सकसँग पनि भेटेर कुरा गर्‍यौ, रिपोर्ट पनि हेर्‍यौ, चिकित्सकले नै स्वाभाविक मृत्यु नभएको र शङ्कास्पद रहेको भन्नुभएको छ, हामी न्याय चाहन्छौँ प्रहरीले निष्पक्ष छानबिन गरेर हत्यारा सार्वजनिक नगरेसम्म शव उठाउँदैनौ ।” मृतकको दाहिने हातको कुममा, दुवै छातीमा, गलामा, खुट्टामा पिठ्युँमा नीलडाम रहेको, छाला लछारिएको, मुखभित्र घाउ रहेको, रगत जमेको पाइएको र शव परीक्षण गर्ने चिकित्सकले निसास्सिएर मृत्यु भएको हो, मृत्यु स्वाभाविक होइन, शङ्कास्पद छ भनेको अवस्थामा शव बुझ्न नसकिने उहाँ बताउनुहुन्छ । 

भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक वसन्त पाठक घट्ना शङ्कास्पद रहेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “घट्ना शङ्कास्पद भएकाले मृतकको पतिलाई हामीले चार दिनदेखि नियन्त्रणमा लिएर म्याद थप गरी हिरासतमा राखेर थप अनुसन्धान गरिरहेका छौँ ।” मृतकको माइतीपक्षले भने घट्नाको वास्तविकता बाहिर ल्याएर हत्यामा संलग्नलाई कारबाही अगाडि नबढाएसम्म शव नबुझ्ने बताएका छन् । रासस