अर्जुन काफ्ले
स्याङ्जा, मङ्सिर २८ गते । जनमाबिमा कक्षा १२ मा अध्ययनरत सुस्मिता बिकले खानेपानीको समस्याले पठनपाठन प्रभावित भएको गुनासो गर्नुभएको छ । अर्जुन चौपारी गाउँपालिका ४ ले गरेको प्रथम चौमासिक सार्वजनिक सुनुवाइमा विद्यालयको पाेशाकमै सुनुवाइमा सहभागी बिकले विद्यालय हिँड्ने र फर्केपछि खानेपानीको जोहो गर्न भौँतारिँदा पढाइ प्रभावित भएको गुनासो गर्नुभयो ।
आफ्नो टोलमा दुई लाइन खानेपानी रहेको बताउँदै बिकले आफ्नो लाइनमा पानी नआउँदा आफू परिवारको ठुलो छोरीको भएकाले दिनदिनै खोज्नुपर्ने बाध्यता रहेको बताउनुभयो। विद्यालयमा ल्याब र कम्प्युटर प्रयोग गर्न समस्या रहेको बताउँदै बिकले विद्यार्थीको भविष्यका लागि शैक्षिक सुधार गरिदिन अध्यक्षलाई आग्रह गर्नुभयो ।
यस्तै, स्थानीय समाजसेवी डोलप्रसाद चापागाईंले निबुवा बोटबाट आउने गोरेटोबाटो निर्माणको माग गर्नुभएको छ । उहाँले विद्यार्थी हिँड्ने बाटो अप्ठ्यारो रहेको बताउँदै बाटो बनाउन माग गर्नुभएको हो ।
सुनुवाइमा एक दर्जन सहभागीले पालिकाको विकास निर्माण, खानेपानी समस्या, बीउबिजन उपलब्धता, बाँदर नियन्त्रणलगायतका जिज्ञासा राख्नुभएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले पालिकाका समस्या र आवश्यकतालाई दृष्टिगत गर्दै वडा र टोल तहसम्म विकास निर्माणको काम अगाडि बढेको बताउनुभयो ।
कालोपत्रेले नै नछोएको गाउँपालिकालाई हेलु अर्जुन चौपारी सडकलाई पालिकाको पहिचानलाई फेर्न सफल भएको बताउँदै अब सो क्रमलाई बढाउने बताउनुभयो । कृषि, शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका क्षेत्रलाई प्राथमिकतामा राखी काम थालनी गरेको बताउँदै युवा, दलित र महिलाका लागि सीपमूलक तालिम प्रदान गरी उद्यमी बनाउने बताउनुभयो।
यस्तै, कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत आशिष शर्माले पालिकाको चौमासिक प्रगति समीक्षा प्रस्तुत गर्नुभएको थियो ।