• २३ वैशाख २०८२, मङ्गलबार

यातायात आवागमनलाई सहज बनाउन कालोपत्रे

blog

पृथ्वी राजमार्गको पूर्वीखण्डको कालोपत्रे गरिँदै । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, मङ्सिर २८ गते ।
यातायात आवागमनलाई सहज बनाउन विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिनअन्तर्गत पूर्वी खण्डको कामलाई तीव्र पारिएको छ । स्तरोन्नतिअन्तर्गत कालोपत्रे गर्ने काम धमाधम भइरहेको छ ।

हालसम्म १२ किलोमिटर कालोपत्रे सम्पन्न भएको र एक साताभित्र थप तीन किलोमिटर १५ किलोमिटर कालोपत्रे पूरा हुने पूर्वी खण्डका आयोजना प्रमुख श्याम यादवले जानकारी दिनुभयो । हालै सुरु भएको आँबुखैरेनी गाउँपालिकाचोक, आँबुखैरेनी बजारदेखि मार्कीचोकसम्मको साढे चार किलोमिटर दूरीमा कालोपत्र कार्य अन्तिम चरणमा छ ।

गाउँपालिकाचोकबाट सुरु गरी गत असार महिनामा कालोपत्र गरिएको स्थान मार्कीचोकसम्म जोड्ने गरी कालोपत्र कार्य भइरहेको र काम अन्तिम चरणमा पुगेको  यादवले बताउनुभयो  । यसअघि आँबुखैरेनी गाउँपालिका–१ १७  सयबाट सुरु गरी मार्किचोकसम्म गरी तीन किलोमिटर दूरीमा कालोपत्र कार्य सम्पन्न गरिसकेको छ ।

जिल्लाको डुम्रेदेखि छिर्कनसम्मको करिब छ किलोमिटर दूरी एकतर्फी कालोपत्र कार्य सम्पन्न गरी यातायात सञ्चालन गर्न दिइएको छ । बन्दीपुर–१ नाहालादेखि व्यास–१२ छिर्कनसम्मको उक्त दूरीमा अस्फाल्ट प्रविधिको कालोपत्र कार्य सम्पन्न भएको उहाँले जानकारी दिनुभयो । यातायात आवागमनलाई सहजकताको दुई लेनलाई आलोपालो कालोपत्रे गरिने यादवले जानकारी दिनुभयो ।

चिनियाँ र नेपाली दुवै कामदारबाट काम भइरहेको यादवले बताउनुभयो । यस खण्डमा सडक विस्तारका क्रममा फराकिलो बनाउने, टेवा पर्खाल लगाउने, भित्तो खार्ने तथा खाल्टोहरू पुर्ने, पक्की पुल तथा कल्भर्ट निर्माणको काम भइरहेको छ । यादवले  भन्नुभयो, ‘‘हालसम्म ४३ प्रतिशत काम पूरा भएको छ, यात्रुलाई यात्रा गर्न सहज होस् भने कालोपत्रे गर्ने कामलाई तीव्र पारिएको छ ।’’ पूर्वी खण्डको कामका लागि वि.स. २०७७ माघ १७ गते सम्झौता भई वि.सं. २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी यस खण्डमा तीन ठूला र चार साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ भने यस खण्डको म्याद विसं २०८१ वैशाखसम्म छ ।

तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रे बजार क्षेत्रदेखि कास्कीको गगनगौँडासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ । पश्चिम खण्डको काम भने सुस्त छ । यस खण्डको हालसम्म १२ प्रतिशत काम पूरा भएको पश्चिम खण्डका प्रमुख राजेश पौडेलले जानकारी दिनुभयो ।