• १० पुस २०८१, बुधबार

संसदमा कानुन बनाउनेतिर कसैलाई चिन्तै छैन : नेता मिश्र

blog

काठमाडौँ,  मङ्सिर २५ गते । नेपाली कांग्रेसका नेता एवम् राष्ट्रिय सभा सदस्य नारायणदत्त मिश्रले सरकारले आवश्यकताअनुसार बिजनेस दिन नसकेको र संसदमा पनि कानुन बनाउनेतिर कसैलाई चिन्ता नभएका कारण सङ्घीय संसद्ले अपेक्षाअनुसार कानुन बनाउन नसकेको बताउनुभएको छ । रासससँग कुरा गर्दै उहाँले वर्तमान सदनले पहिलो अधिवेशनमा अपेक्षाअनुसार कानुन बनाउन नसकेको स्वीकार गर्नुभयो । 

नेता मिश्रले भन्नुभयो, “जे कामका लागि सदनमा गएका हौँ, त्यसको चिन्ता भन्दा पनि आफ्नो उन्नति कसरी हुन्छ भन्नेमा चिन्ता देखिन्छ । आफू कसरी हुने र आफ्नो वरिपरि पार्टी होस् भन्ने चाहेको देखियो । देशको वरिपरि घुमेर काम गर्नुपर्ने पद हो तर सबै आफ्नै वरिपरि होस् भन्ने चाहन्छौँ । यही कारणले प्रभावकारी रूपमा काम गर्न नसकिको हो ।”

साथै उहाँले सदनमा कानुन बनाउने प्रक्रिया पनि लामो भएका कारण कानुन बन्न समय लाग्ने गरेको अनुभव सुनाउनुभयो । “विधेयक पारित गर्ने प्रक्रिया पनि लामा छन् । यसलाई सजिलो किसिमले बनाउन सकिन्छ । धेरै पटक पास फेल भएको भन्नुपर्ने कुराहरू एक दुई चोटि भनेर पनि हुने बनाउँदा ठीक हुन्छ । पहिले बेलायत वा कहाँबाट यो संसदीय प्रक्रियाको सुरुवात भएको हो । त्यही कुरा हामीले उतारेर ल्याएका हौँ । यसलाई छोटो ढङ्गले बनाउन सकिन्छ”, सांसद मिश्रले भन्नुभयो ।

विसं २०१० भदौ १ गते डोटीमा जन्मनुभएका मिश्रले विधेयक बनाउने सम्बन्धमा संसद्ले नै विधेयक तयार गरेर पेस गर्दा राम्रो हुने र सरकारको सल्लाहसम्म लिने व्यवस्था गरे उचित हुने सुझाव दिनुभयो । सरकारले नै विधेयक तयार गर्दा त्यसमा सरकारका कतिपय स्वार्थ रहने उहाँको भनाइ छ । विसं २०२८ मा नेविसङ्घबाट कांग्रेसको राजनीतिमा प्रवेश गर्नुभएका नेता मिश्र प्रजातन्त्र बहालीका लागि भएका आन्दोलनमा लागेका कारण पटक–पटक जेलसमेत पर्नुभएको थियो ।

सदनमा सांसदहरुले उठाउने जनजीविका सवालमा उचित सुनुवाइ नहुने गरेको गुनासो गर्दै सांसद मिश्रले कुनै सांसदले के विषय र कसको सन्दर्भमा बोलेको छ, सम्बन्धित निकायलाई जिम्मेवार बनाउन उठेका विषयका सन्दर्भमा पत्र पठाएर जवाफ माग्नुपर्ने बताउनुभयो । “कम्तीमा हप्तामा एक दिन वा महिनामा एक दिन फलानो सांसदले उठाएको विषयमा सम्बन्धित निकायबाट कस्तो जवाफ वा सुझाव आयो भनेर सदनमा छलफल गरेमा सदनको गरिमा बढ्ने मैले देखेको थिएँ । तर त्यो कुरा भइराखेको छैन्”, उहाँले भन्नुभयो । 

आफ्नो राजनीति कर्मथलो कैलालीका सबै गाउँमा पैदलै हिँडेर पार्टी सङ्गठन निर्माण गर्नुभएका उहाँले पार्टीमा पद भने खासै लिनुभएन । भ्रष्टाचार र अनियमितता निर्मूल गर्ने सन्दर्भमा दलहरूबिच एकरूपता हुन नसक्दा प्रभावकारी नियन्त्रण हुन नसकेको बताउँदै उहाँले सांसदहरूमा पनि स्वाभाविक रूपमा आफूले पाउने तलब भत्ता बाहेकका सुविधामा अधिकांशको स्वार्थ रहेको आफूले देखेको टिप्पणी गर्नुभयो । 

सांसद मिश्रले भन्नुभयो, “आफूलाई गाह्रो भएको अवस्थामा र आलोचना गर्न पाएको स्थानमा आलोचना गर्ने तर आफूलाई केही लाभ हुने अवस्थामा आफूलाई पनि भए हुन्थ्यो भन्ने स्वार्थबाट अधिकांश ओतप्रोत भएका देखिन्छन् ।” उहाँले कैलालीमा कांग्रेसका तर्फबाट टिकट पाई प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धासमेत गर्नुभएको थियो ।

सांसदहरू नीति निर्माणभन्दा विकास निर्माणमा केन्द्रित भएका हुन् भन्ने जिज्ञासामा उहाँले सांसद जसबाट चुनिएर आएका हुन्छन् र जसका प्रतिनिधि हुन्छन् तीनै जनताले कानुन बनायो कि बनाएन भनेर सोध्ने नगरेको उल्लेख गर्नुभयो । त्यसको सट्टा जनताले आफ्नो गाउँ टोलमा बाटो, विद्यालय, स्वास्थ्य चौकी बनेन, मैले भनेको कुरा भएन, आफ्ना छोराछोरीले जागिर पाएन भनेर सोध्ने गरेकाले पनि सांसद कानुन निर्माणमा केन्द्रित हुन नसकेको विश्लेषण गर्नुभयो । 

“यी प्रश्न मात्र जनताले गर्छन्, सांसदहरू जनताका प्रश्नका पक्षमा नलागे भने भोलि पनि जनताका बिचमा जानुपर्छ । त्यसकारण विकास निर्माणमा पनि जोडिनु बाध्यता हुन्छ”, उहाँले भन्नुभयो । 

कैलालीको दुई पटक जिल्ला विकास समितिको सभापति हुनुभएका नेता मिश्र विसं २०४८ देखि भएका कांग्रेसका सबै महाधिवेशनमा महासमिति सदस्य निर्वाचित हुँदै आउनुभएको छ । सदनलाई प्रभावकारी बनाउन सांसदबाट मन्त्री बनाउने प्रावधान बन्द गर्नुपर्ने उहाँको सुझाव छ । “सांसदलाई सांसदको काम मात्र दियो भने सदन प्रभावकारी हुन्छ । सांसदबाट अरू लाभका पदमा जाने हो भने सांसदले सदनमा प्रभावकारी भूमिका खेल्न सक्दैन्”, उहाँले भन्नुभयो । रासस