काठमाडौँ, मङ्सिर २५ गते । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई थप प्रभावकारी बनाएर क्षेत्रीय विकासका लागि अगाडि बढाउनुपर्नेमा यस क्षेत्रका उच्च नेतृत्वले जोड दिनुभएको छ ।
३९ औँ बडापत्र दिवसको अवसरमा सार्कका सदस्य मुलुकका राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरूले शुभकामना वक्तव्यमार्फत सार्कको औचित्य यस क्षेत्रको विकासका लागि महत्वपूर्ण रहेको औँल्याउनुभएको हो ।
सार्कको नेपालस्थित सचिवालयका अनुसार यस क्षेत्रका नेतृत्व वर्गले सदस्य मुलुकका जनता र सरकारको थप प्रगतिको कामना गर्दै दृढ सङ्कल्पसहित अगाडि बढ्ने प्रतिबद्धता राष्ट्र तथा सरकार प्रमुखले जनाउनुभएको हो।
सार्क बडापत्र दिवसका सन्दर्भमा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा काठमाडौँमा विशेष समारोहका साथ मनाइँदै छ । दिवसको अवसरमा सार्क अध्यक्ष मुलुकका हैसियतले नेपाल तथा बङ्गलादेश, भारत, पाकिस्तान, भुटानलगायतका मुलुकका उच्च नेतृत्वले शुभकामना व्यक्त गर्नुभएको छ । सार्कको बडापत्रका उद्देश्य पूर्ण रूपमा प्राप्त गर्नका लागि सार्कलाई बलियो बनाउनुपर्नेमा उहाँहरूले जोड दिनुभएको छ ।
अध्यक्ष राष्ट्रको सरकार प्रमुखका रूपमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्क बडापत्र दिवसको अवसरमा शुभकामना दिँदै सन् १९८० को दशकमा आर्थिक, सामाजिक, सांस्कृतिक, वैज्ञानिक र प्राविधिक विषयमा क्षेत्रीय एकता तथा विकासको नयाँ बाटो बन्नु दक्षिण एसियाली क्षेत्र एवं यहाँका जनताका लागि महत्वपूर्ण रहेको स्मरण गर्नुभएको छ ।
सार्कले यस क्षेत्रका जनतामा साझा समृद्धिको आशा जगाएको प्रधानमन्त्री प्रचण्डले औँल्याउनुभएको छ। सार्क बडापत्रको आदर्श र सम्भावित विकास तथा साझेदारी सबै देशको बलियो प्रतिबद्धताका साथै प्रभावकारी कार्य एकतासँग मेल खाएको प्रस्ट्याउँदै प्रधानमन्त्री प्रचण्डले स्थापनाकालमा गरिएका प्रतिबद्धता पूरा गर्न मात्र बाँकी रहेकामा वक्तव्यमार्फत जोड दिनुभएको छ ।
उहाँले भन्नुभएको छ, “गरिबी, कुपोषण जस्ता विद्यमान पुरानो चुनौतीलाई हेर्दा निकटतम सहकार्यको खाँचो छ। जलवायु परिवर्तन, साइबर सुरक्षा र प्राकृतिक प्रकोप जस्ता उदीयमान चुनौतीमा अझ बढी सहकार्य जरुरी छ ।”
सार्क मुलुकले समझदारी, विश्वास, एकताको मूल्य मान्यतालाई सुदृढ गर्नु जरुरी रहेको भन्दै सार्क बडापत्रमा उल्लेख भए अनुसार सहयोग, संयुक्त प्रयासमा सामन्जस्यपूर्ण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल सार्कको संस्थापक सदस्य र अध्यक्षको हैसियतमा सार्क प्रक्रियालाई प्रभावकारी तथा परिणाममुखी रूपमा बलियो बनाउन एवं यसलाई थप जीवन्त बनाउन आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
संस्थापक राष्ट्र बङ्गलादेशका प्रधानमन्त्री सेख हसिनाले यसै अवसरमा शुभकामना दिँदै बङ्गलादेशका पिता बङ्बन्धु सेख मुजिबुर रहमानले क्षेत्रीय शक्ति र विकासका लागि देख्नुभएको सपना साकार पार्न यस क्षेत्रका जनताको सामाजिक, आर्थिक विकासलाई केन्द्रमा राखेर सहकार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिनुभएको छ ।
त्यस्तै भारतका प्रधानमन्त्री नरेन्द्रदामोदर मोदीले पनि शुभकामना दिँदै सार्कको आधारभूत उद्देश्य दक्षिण एसियाका जनताको हितका लागि सँगै मिलेर काम गर्नु रहेको बताउनुभएको छ । उहाँले त्यो कार्य शान्ति र सुरक्षाको वातावरणमा मात्र सम्भव रहेको प्रस्ट पार्नुभएको छ । उहाँले भारतले सार्कको उद्देश्यप्रति प्रतिबद्धता व्यक्त गर्दै सहकार्य र सकारात्मक पहुँचका आधारमा भावी साझेदारी गर्न सक्ने औँल्याउनुभएको छ । पाकिस्तानका प्रधानमन्त्री अनवर उल हक काकरले राष्ट्रिय र क्षेत्रीय विकासका लागि क्षेत्रीय सहयोगको शक्ति र सम्भावनासहित नतिजामुखी क्षेत्रीयतामा पाकिस्तान दृढ विश्वास राख्ने मुलुक रहेको स्पष्ट पार्नुभएको छ । उहाँले त्यो खालको क्षेत्रीयता बडापत्रमा उल्लेख भए अनुसारको समानता र पारस्परिक सम्मान तथा सार्वभौमसत्ताको मूल सिद्धान्तको पालना गरेर मात्र हासिल गर्न सकिनेमा जोड दिँदै यस प्रक्रियामा देखिएका अवरोध हटाउँदै सहजताका लागि पहल गर्ने प्रस्ट्याउनुभएको छ ।
श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्गेले सार्कका लागि केही वर्षयताको समय चुनौतीपूर्ण रहे पनि त्यसलाई सन्तोषजनक बनाउन यसको साझा उद्देश्यमार्फत यहाँका जनताका लागि समृद्धि हासिल गर्नुपर्नेमा जोड दिनुभएको छ ।
माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले क्षेत्रीय सहयोग, दक्षिण एसियामा शान्ति, स्थिरता र समृद्धि प्रवर्धन गर्दै आगामी दिनमा बडापत्रका सिद्धान्तप्रति पुनः प्रतिबद्धता व्यक्त गर्दै आपसी विकास निर्माणमा सहयोग सुदृढ पार्ने कार्यमा अघि बढ्न शुभकामना सन्देशमार्फत सुझाव दिनुभएको छ ।
सार्कका महासचिव मोहम्मद गोलाम सरवारले दिवसका अवसरमा बधाई दिँदै सार्क राष्ट्रका जनता र सरकारको शान्ति, प्रगति र समृद्धिको कामना गर्नुभएको छ ।
सार्क सदस्यका रूपमा भुटान सरकारले पनि एकतापूर्वक सार्कको लक्ष्य पूरा गर्न बडापत्रका सिद्धान्त महत्वपूर्ण रहेको जनाएको छ । क्षेत्रीय एकता र समृद्धिको लक्ष्यसहित विभिन्न क्षेत्रगत विषयमा सहकार्य गर्न बङ्गलादेशमा सन् १९८५ डिसेम्बर ८ मा सार्कको स्थापना भएको थियो ।